जुम्ला । कर्णाली प्राविधिक शिक्षालय जुम्लाले आगामी सत्रका लागि निःशुल्क र रोजगारमुखी तालिम सञ्चालन गर्ने भएको छ। शिक्षालयले २०८२ सालको स्वीकृत वार्षिक बजेट कार्यक्रम अनुसार विद्युत इन्स्टलेसन, प्लम्बिङ र च्याउ खेती सम्बन्धी निःशुल्क प्राविधिक तालिम सञ्चालन गर्न तयारी गरेको हो ।

शिक्षालयका प्रमुख टेकेन्द्र बहादुर थापाका अनुसार रोजगारमुखी सीप विकासका लागि यी तालिमहरू सञ्चालन गर्न लागिएको बताए ।
उनका अनुसार, जसबाट स्थानीय युवाहरूलाई उद्यमशीलता र रोजगारीका अवसर सृजना हुने बताए । उनले भने, तालिममा सहभागी हुन नेपाली नागरिक हुनुका साथै न्यूनतम शैक्षिक योग्यता साधारण लेखपढ आवश्यक रहेको उल्लेख छ । आवेदन दिने उमेर सीमा १८ वर्ष पूरा भएको हुनुपर्ने छ ।
तालिम विवरण अनुसार विद्युत इन्स्टलेसन (तह १), प्लम्बिङ (तह १) र च्याउ खेती (तह ९) गरी तीन विषयमा तालिम सञ्चालन गरिनेछ। हरेक तालिम ३९० घण्टे (झण्डै ३ महिनाको) हुनेछ र प्रत्येक तालिममा २० जना गरी कुल ६० जना सहभागी हुने शिक्षालय प्रमुख थापाकाे भनाइ छ ।
तालिम अवधिभर सहभागीहरूलाई प्रतिदिन खाजाखर्चका रूपमा ५० रुपैयाँ भत्ता प्रदान गरिनेछ। तालिम सम्पन्न भएपछि राष्ट्रिय सीप परीक्षण समिति बाट परीक्षा लिइने र सफल भएकालाई प्रमाणपत्र प्रदान गरिने भएको छ ।
यसले तालिम लिने युवाहरूलाई देश तथा विदेशमा रोजगारीका अवसरमा सहज पहुँच दिलाउने शिक्षालयको विश्वास छ । महिला, दलित, आदिवासी, जनजाति तथा विपन्न वर्गका युवाहरूलाई सहभागीमा प्राथमिकता दिइने शिक्षालयले जनाएको छ।
आवेदन फाराम बुझाउने अन्तिम मिति सूचना प्रकाशित मितिले १५ दिनभित्र तोकिएको छ। समयसीमा भित्र फाराम बुझाउन आग्रह गरिएको छ।
आवेदन दिन इच्छुकहरूले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो सहित फाराम बुझाउनुपर्ने छ। फाराम कर्णाली प्राविधिक शिक्षालयको आधिकारिक फेसबुक पेजबाट डाउनलोड गरेर पनि बुझाउन सकिने छ ।
शिक्षालयका प्रमुख थापाका अनुसार, यो तालिम ग्रामीण युवाहरूलाई सीपयुक्त र आत्मनिर्भर बनाउने लक्ष्यसहित सञ्चालन गर्न लागिएको बताए । तालिम सम्बन्धी थप जानकारीका लागि इच्छुकले फोन नम्बर ०८३–५२०००३ मा सम्पर्क गर्न सक्ने शिक्षालयले जनाएको छ।





