जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय प्रगति हासिल गरेको छ। गाउँपालिकाले विभिन्न शीर्षकबाट गरी कुल ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको गाउँपालिकाको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले आफ्ना पाँच वटै वडाबाट स्थानीय राजस्व संकलन गर्दै आएको छ । गत आर्थिक वर्षमा वडागत रूपमा हेर्दा वडा – १ बाट ८२ हजार, वडा – २ बाट १ लाख, वडा नं ३ बाट १ लाख ५३ हजार, वडा नं ४ बाट २ लाख ६८ हजार र वडा नं ५ बाट २ लाख ५८ हजार ५ सय ३१ रुपैयाँ राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत मायाँ लक्ष्मी बुढाले जानकारी दिइन् ।
वडास्तरमै राजस्व संकलनमा सक्रियता देखिनु गाउँपालिकाको वित्तीय व्यवस्थापनमा सुधारको संकेतका रूपमा लिइएको छ।
त्यसैगरी गाउँपालिकाले मालपोत कार्यालयमार्फत रजिष्ट्रेशन शुल्कबाट ३ लाख १३ हजार रुपैयाँ राजस्व आर्जन गरेको छ। पर्यटन प्रवर्द्धनका लागि आयोजित प्याराग्लाइडिङ महोत्सवबाट मात्रै ८ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जसले स्थानीय अर्थतन्त्रमा नयाँ उर्जा थपेको बताइन् ।
यसबाहेक, डोजर सञ्चालनबाट ५ लाख ५९ हजार रुपैयाँ, एम्बुलेन्स सेवाबाट ८१ हजार रुपैयाँ, र पशु शाखाबाट ७ लाख ८४ हजार रुपैयाँ राजस्व उठाइएको छ। यी सबै स्रोतहरू मिलाएर गाउँपालिकाले गत वर्ष ३३ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको बुढाकाे भनाइ छ ।
राजस्व संकलनका सन्दर्भमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुढाका अनुसार, राजस्व बढाउन वडास्तरमा निगरानी, सेवा शुल्कको नियमितता र नयाँ आम्दानीका स्रोतहरू पहिचानमा जोड दिइएको छ । स्थानीय सेवा सहज बनाउँदै राजस्वका नवीन क्षेत्रहरू विकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताइन् ।
उक्त प्रतिवेदन अनुसार, चालु आर्थिक वर्षको कात्तिक १४ गतेसम्म मात्रै गाउँपालिकाले ९ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ, जुन अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा उल्लेखनीय वृद्धि हो ।
स्थानीय स्रोतबाट राजस्व संकलनमा आएको वृद्धि गाउँपालिकाको आर्थिक स्वावलम्बनतर्फको ठूलो कदमका रूपमा हेरिएको छ। गुठिचौरले आन्तरिक स्रोत सशक्त बनाउँदै स्थानीय पूर्वाधार, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा लगानी गर्ने तयारी गरेको जनाएको छ।
राजस्व वृद्धिसँगै गाउँपालिकाले आगामी वर्षहरूमा पर्यटन, उद्योग र सेवा क्षेत्रबाट अझ बढी आम्दानी बढाउने योजना अघि सारेको छ। गाउँपालिकाको यो उपलब्धि स्थानीय तहमा पारदर्शिता र आर्थिक अनुशासनको उदाहरणका रूपमा स्थापित हुँदै गएको अध्यक्ष दान बहादुर बुढाकाे भनाइ छ ।





