जुम्ला । जुम्लाको हिमा गाउँपालिकाका बस्तीमा अब पानीको अभावको गुनासो सुनिँदैन । गाउँपालिकाले अघि सारेको ‘एक घर–एक धारा’ अभियानले करिब ८० प्रतिशत घरधुरीमा खानेपानी धाराको पहुँच पुगे पछि स्थानीय खुसी भएका छन् ।

आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ कार्यक्रममा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले हाल सम्म २ हजार ३ सय २ घरधुरीमा धारा जडान भइसकेको र बाँकी घरधुरी पनि चाँडै जोडिने बताए ।
उनका अनुसार, सबै घरलाई सुरक्षित र दिगो खानेपानी उपलब्ध गराउनु हाम्रो प्राथमिकता रहेकाे जानकारी दिए ।
खानेपानी पूर्वाधार विस्तारमा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाले महत्वपूर्ण सहयोग गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।
उनका अनुसार यो अभियानले हिमाका गाउँदे खि दुर्गम टोल सम्म स्वच्छ पानी पुर्याउन मद्दत गरिरहेको अध्यक्ष शाहीकाे भनाइ छ । उनले भने, स्वास्थ्य क्षेत्रमा पनि पालिकाले उल्लेख्य काम गरेको छ।
गत वर्ष सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ९ सय ७१ जनाले सेवा लिएका छन्। साथै सामाजिक सुरक्षाभत्ता अब बैंकिङ प्रणालीमार्फत वितरण हुँदै आएको छ। छोरीको सुरक्षा जीवनभरि योजनाअनुसार ५६ छोरीका नाममा बैंक खाता खोलिएको छ। ज्येष्ठ नागरिकलाई बैंकमार्फत वितरण हुने वृद्धभत्ताबाट ४ सय ८८ जनाले सेवा पाएकाे अध्यक्ष शाहीले बताए ।
आन्तरिक राजस्व संकलनतर्फ हिमा गाउँपालिकाले गत आर्थिक वर्षमा २६ लाख ४३ हजार संकलन गरेको छ। विकासका विभिन्न क्षेत्र समेटिने गरी १ सय ९ वटा योजना सम्पन्न गरिएको अध्यक्ष शाहीले कार्यक्रममा जानकारी दिए ।
सुरक्षित खानेपानी, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र विकास योजनामा देखिएको सक्रियताले हिमा गाउँपालिका कर्णालीका सफल स्थानीय तहहरू मध्ये एकको रूपमा उदाउँदै गएको छ।





