जुम्ला । देविदत्त गण जुम्लाले सञ्चालन गर्दै आएको सि.सं. ५१ जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम अन्तर्गत अध्ययन भ्रमण तथा अवलोकन कार्यक्रम तातोपानी गाउँपालिका–५, लाम्रास्थित श्री दुर्गा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

विहिबार विहान तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई नेतृत्वको टोलीले तालिम स्थलको निरीक्षण गरेको थियो । २०८२ असार ९ गते देखि संचालनमा रहेको तालिममा १५ जना छात्र र १५ जना छात्रा गरी ३० जना क्याडेट सहभागी रहेका थिए ।
अध्ययन भ्रमणको क्रममा क्याडेटहरूले ड्रिल, एरोबिक्स, तेक्वान्दो, पीटी तथा खुकुरी ड्रिल लगायतका आकर्षक प्रस्तुति दिएका छन् । तालिमरत युवाहरूको शारीरिक दक्षता, अनुशासन र तालिम प्रतिको समर्पणले अवलोकनकर्ताहरू प्रभावित भएका भएका छन् ।
यस्तै देविदत्त गणले क्याडेटहरूमाझ नेपाली सेनाको संरचना, इतिहास, जिम्मेवारी तथा विभिन्न सैनिक कलाबारे जानकारी प्रदान गर्ने उद्देश्यले विभिन्न स्टलहरूको समेत प्रदर्शनी गरेको थियो ।
सैनिक सामग्री देखि तालिममा प्रयोग हुने उपकरण सम्मको अवलोकनले क्याडेटहरूलाई थप प्रेरणा मिलेको आयोजकको भनाइ छ। कार्यक्रममा श्री नं. २४ वाहिनी अड्डाका सहायक वाहिनीपति, तातोपानी गाउँपालिकाका अध्यक्ष, देविदत्त गणका गणपति, वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षकहरूको समेत उपस्थिति थियो ।
ज्ञान, अनुशासन र नेतृत्व विकासमा महत्वपूर्ण मानिने NCC तालिमले जुम्लाका विद्यार्थीमा राष्ट्रसेवा तथा नागरिक दायित्व प्रति सकारात्मक प्रभाव पारिरहेको देविदत्त गण जुम्लाले जनाएको छ ।





