जुम्ला । शिक्षा, विज्ञान र सिर्जनशीलताको संगम बनेको जेआर कर्णाली बोर्डिङ स्कुलले दोस्रो पटक भव्य विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ । नवीन सोच र प्रविधिमैत्री प्रतिभा उजागर गर्ने उद्देश्यले गरिएको यस प्रदर्शनीमा करिब दुई हजार भन्दा बढी दर्शकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे ।

विद्यालयका विद्यार्थी देखि अभिभावक, शिक्षक तथा विभिन्न विद्यालयका विद्यार्थी समेतले प्रदर्शनीमा सक्रिय सहभागिता जनाएका थिए । प्याब्सन जुम्लाका अध्यक्ष टासी दोन्डुप लामाले विद्यार्थीहरूको सिर्जनशीलता र जिज्ञासालाई देशको भविष्य सँग जोडेर प्रशंसा गरे । जुम्लाका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म प्रतिस्पर्धा गर्न सक्ने क्षमताको उदाहरण यही प्रदर्शनीले दिएको बताए ।
उनले भने, विज्ञान एक विषय मात्र होइन, सोच, प्रयोग र समस्या समाधानको क्षमता हो, जुन तपाईंहरूले उत्कृष्ट रूपमा प्रस्तुत गर्नुभयो । प्रदर्शनीमा विद्यार्थीहरूले परम्परागत ज्ञान, आधुनिक प्रविधि र जीवन उपयोगी विज्ञान सम्बन्धी विविध मोडेल तथा उपकरणहरू प्रदर्शन गरेका थिए ।
उनीहरूले बनाएका मोडेल केवल प्रदर्शनका लागि मात्र थिएनन्, वास्तविक जीवनका समस्या र सम्भावनालाई देखाउने प्रत्यक्ष अभ्यासका उदाहरण समेत बने । विशेषतः विद्यार्थीहरूले आफ्नै स्रोत, सिप र जिज्ञासा बाट निर्माण गरेका केही आकर्षक परियोजनाले सबैको ध्यान खिचेकाे छ ।
जस्तै स्वनिर्मित ड्रोन, भूकम्प पहिचान गर्नत्रिआयामिक दृश्य प्रस्तुत गर्ने होलोग्राम, पानी तथा प्रकाश परावर्तन सिद्धान्त प्रयोग गरिएको पेरिस्कोप, शहरी विकासको भविष्य देखाउने स्मार्ट सिटी मोडेल लगायतका सामग्री प्रदर्शनीका मुख्य आकर्षण बनेका थिए ।
स्थानीय विद्यालयहरूसँग सहकार्य गर्दै आयोजना गरिएको यस प्रदर्शनीमा जनता माध्यमिक विद्यालय महतगाउँ, कर्णाली मावि अनामनगर, रत्नचुडेश्वर मावि बाेहाेरागाउँ, बिलिभर्स स्कूल लगायतका विद्यालयहरूले समेत आफ्नो उपस्थिती जनाएका थिए ।
विद्यार्थीहरू बीच आपसी सिकाइ, उत्साह र स्वस्थ प्रतिस्पर्धाले प्रदर्शनीलाई अझ जीवन्त बनाएकाे जे आर कर्णाली बाेडिङ् स्कुलका प्रधानाध्यापक अमरनाथ याेगीले जानकारी लिए ।
सहभागी विद्यार्थीहरूले विज्ञान प्रतिको रुचि, जिज्ञासा र सिर्जनात्मक क्षमता अभिव्यक्त गर्दै प्रस्तुत गरेका मोडेलहरूको प्रशंसा अभिभावक र शिक्षकहरूले विशेष रूपमा गरेकाे उनकाे भनाइ छ ।
प्रदर्शनी अवलोकनका क्रममा अभिभावकहरूले विद्यालयले विद्यार्थीहरूको क्षमता निखार्न यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिरहेकोमा खुसी व्यक्त गरे । विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर सिकाइलाई व्यवहारिक बनाउने विद्यालयको प्रयासलाई सहभागी सबैले सराहना गरेकाे प्रधानाध्यापक याेगीले बताए ।
बालबालिकाको हस्तनिर्मित मोडेल, अनुसन्धान र प्रस्तुतिले वबिद्यालय लाई उत्साहमय मात्र बनाएन, उनीहरूमा भविष्यमा वैज्ञानिक सोच विकास गर्न प्रेरणा पनि जुराएको अवलोकनकर्ता शिक्षकहरूले बताए । विज्ञान प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा अभिव्यक्त गर्न, नयाँ प्रयोग सिक्न र समुहगत कार्यप्रति प्रेरित गर्ने अवसर दिएको विद्यालयले जनाएको छ ।
जेआर कर्णाली बोर्डिङ स्कुलले आगामी वर्षहरूमा अझ व्यापक, प्रतिस्पर्धात्मक र प्रविधि मैत्री प्रदर्शनी सञ्चालन गर्ने योजना बनाइरहेको विद्यालय प्रशासनले जनाएको छ । जुम्लाका छात्रछात्राले विज्ञान र प्रविधिमा कदर योग्य रुचि देखाइ रहेकाले यस्ता कार्यक्रमहरू प्रदेश स्तरको नवप्रवर्तन र भविष्यका वैज्ञानिक उत्पादनको आधार बन्न सक्ने विश्लेषकहरूको भनाइ छ ।





