म निदाउँछु
तर निद्रामा कुनै सपना छैन,
न त रातको गर्भमा सास लिने
कुनै कल्पना ।
केवल मौन छ,
अन्धकारको गहिरो भोकजस्तो मौन,
जहाँ चेतनाको हड्डीहरू पनि
कुहिएको अनुभूति हुन्छ ।

यो निद्रा होइन,
यो संसारको अन्तिम सम्झौता हो
जहाँ सोचहरू रगत बगाउँदैन,
जहाँ स्मृतिहरूले आँसु झार्दैन ।
म सपनारहित निद्राको
नायक बनेको छु,
जहाँ मरेका फूलहरू पनि रोएन
जहाँ मृत्यु र मुक्ति
एउटै सासमा विलीन छ ।
त्यो अर्को रूप
न मानिसको हो,
न देवताको,
तर मौनको स्वरूप हो,
जहाँ चेतनाको सीमाना
अन्तरिक्षको कपालमा हराउँछ ।
म अनुभव गर्छु
शरीर अब पदार्थ होइन,
तर एक तरंग हो,
जो अन्धकारको ढोकाबाट
पार हुँदै प्रकाशको शोक मनाइरहेको छ ।
यो यात्रा होइन,
यो पुनर्जन्मको अस्वीकार हो,
जहाँ म न आत्मा हु,
न दण्ड भोग्ने प्राणी,
केवल एउटा कम्पन
ब्रह्माण्डको नसामा चलिरहेको ।
त्यो कम्पनमा,
एक दिनको स्मृति झिल्किन्छ
रातको अनुहार,
आँखामा झुकेको एकान्त,
र एउटा नाम
जुन मैले बिर्सन खोजेको थिएँ,
तर जसले मलाई बिर्सन दिएन ।
त्यो नाम,
त्यो पीडा,
त्यो सुन्न नसकिने गीत
सबै मभित्र बाँचिरहेको छ,
जसरी आगो खरानीमा
लुकेको हुन्छ ।
म बुझ्छु
निद्रा वास्तवमा मृत्यु होइन,
यो केवल आत्माको मौन पुनर्लेखन हो,
जहाँ शब्दहरू पुनः
अर्थ बन्ने तयारीमा छ ।
म त्यही तयारीको साक्षी हुँ
अन्धकारको गर्भमा पलाउँदै गरेको
प्रकाशको अणु ।
र म त्यहीँ छु
शून्यको गर्भमा,
जहाँ समयको नाभी काटिएको छ
र अस्तित्व आफ्नो अर्थ खोज्दै
अन्धा भएर हिँडिरहेको छ ।
पृथ्वी अब कुनै ग्रह होइन,
केवल एक निदाएको देह हो,
जसको छालामा मान्छेले
इतिहासको घाउहरू कोरेको छ ।
हावा अब स्वास होइन,
भ्रमको निस्सासिएको स्वर हो,
जसले मेरो कानमा फुसफुसाउँछ
“तिमी अब चेतना होइन,
स्मृतिको एउटा भग्न मूर्त्ति हौ ।”
म त्यो मूर्त्तिलाई हेर्छु
आँखा बिना,
अनुहार बिना,
नाम बिना।
तर त्यही अनाम शून्यमा
म आफूलाई भेट्छु
न जीवनको परिभाषामा,
न मृत्युलाई अस्वीकार गर्ने इच्छामा ।
किनकि यहाँ,
सबै कुरा मौनमा विलीन हुन्छ
र मौन पनि अन्ततः
आफ्नो अर्थ गुमाउँछ ।
त्यो क्षण
जहाँ केही बाँकी छैन,
त्यहीँबाट सुरु हुन्छ
नयाँ अर्थको सम्भावना ।
र म फेरि निदाउँछु
सपना होइन,
तर अस्तित्वको अर्को रूप बन्न ।





