आफैँले घोषणा गरेको सहयोग नपुग्दा पीडित परिवारको करुण सवाल सरकारका मान्छेहरू आखिर के हेर्दै छन ?सरकारले चल्तीका सामाजिक सञ्जालहरूको पहुँचमा प्रतिबन्ध लगाए पछि त्यसको विरोधमा ‘जेन जी’ पुस्ताले देशव्यापी आन्दोलनको आह्वान गरे ।

सामाजिक सञ्जालमै फैलिएको सो आह्वानले काठमाडौं देखि कर्णालीसम्म देशका मुख्य शहरहरू जागिरहेका थिए । त्यही प्रभावले सुर्खेत पनि आन्दोलनको केन्द्र बनेको थियो ।
भदौ २४ गते सुर्खेतमा युवा ऊर्जा, परिवर्तनको चाहना र भ्रष्टाचार विरुद्धको क्रोध एकैसाथ बगिरहेको थियो । शान्ति, सुशासन, रोजगारी र समान अवसरयुक्त देशको सपना बोकेका धेरै युवाहरू सडकमा उत्रिएका थिए । त्यही भीडमा थिए ,जुम्लाका सन्तोष बोहरा ।
भौगोलिक विभेद, पिछडिएको क्षेत्रको पीडा र राजनीतिक उदासीनता बोकेर हुर्किएका बोहरा देश बदल्ने लक्ष्य सहित आन्दोलन तिर आकर्षित थिए । तर समानता र न्याय खोज्दै प्रदर्शनमा उत्रिएका उनी माथि त्यही दिन गोली प्रहार भयो गोली जसले उनको जीवनका सबै रंग हरायो र दुवै आँखाको उज्यालो चिर्दै उनलाई अन्धकारमा धकेल्यो ।
माथिल्लो राजधानी देखि उपचार सम्म : आश्वासन धेरै, व्यवहार शून्य :
गोली लागेपछि स्थानीय स्तरमा उपचार सम्भव देखिएन । त्यसपछि उनलाई तत्काल काठमाडौं पुर्याइयो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरियो । कान्तिपुर टेलिभिजन देखि सामाजिक सञ्जाल सम्म बोहराको अवस्थाको विषय बनेपछि जेन्जी प्रधानमन्त्री सुशिला कार्की स्वयं अस्पताल पुगिन ।
उनले उपचार अवस्थाबारे जानकारी लिएर परिवारलाई सान्त्वना दिइन , “उपचार खर्च पुरै सरकारले बेहोर्छ।” अर्कोतिर मन्त्रिपरिषद्को बैठकले पनि घाइतेहरूको उपचारको जिम्मेवारी सरकारले लिने निर्णय गरेको बताइयो ।
तर यथार्थ ?
औपचारिक भाषण, क्यामेरा अगाडिका वाचा र अस्पतालका गल्ली बीच भयानक अन्तर देखियो । २० हजारकै सरकारी सहयोग उपचार होइन, उपहास जस्तै सन्तोष बोहराका बुबाका शब्दहरूले नै राज्यको चरित्र झल्किन्छ । “सहयोग गर्छु भनेको थियो ।
तर आएको त २० हजार मात्रै । त्यो पनि प्रधानमन्त्री भेट्न आएको बेला । मैले त निकै पीरले भनेँ यो पैसाले के हुन्छ ? बरु १० हजार म आफूले थपेर दिन्छु । २० हजार रुपैयाँ जसले न उपचारका महँगा परीक्षण धान्छ, न औषधि, न अस्पतालमा रहने व्यवस्थाको न्यूनतम खर्च । त्यसपछि न कोही मन्त्री भेट्न पुगे, न कुनै अधिकारी । उल्टै बोहरा परिवार स्वयं हात फैलाउँदै सहयोग खोज्न बाध्य छन् ।
अस्पतालको निरन्तर संघर्ष : निश्चल प्रेम र पीडाको भारी बोहराको श्रीमती निर्मला खड्का रातदिन अस्पतालमै बस्छिन । श्रीमानको हेरचाहमा कतिपनी कमि हुन दिएकी छैनन ।
उनका बुबा छोराले बाँच्न पाएकोमा भगवानलाई धन्यवाद त दिन्छन तर छोराको जिउँदो सहिद जस्तै अवस्था हेर्दा शब्द नै हराउँछन । बुढेसकालमा साहरा बन्ला भनेको उसको साहरा बन्नुपर्ने भयो ।
बोहरालाई उपचार गरिरहेका चिकित्सकले अहोरात्र प्रयास गरिरहेका छन । यही न्यूनतम उज्यालोले परिवारलाई आशामा बाँधेको छ । उनले असली भगवान कहि छ भने त्यो डाक्टरमा हुनेरहेछ । हामिले त्यस्तै महसुस गरिरहेका छौ भन्छन तर राज्य ? उनीहरूले आफैँ घोषणा गरेका निर्णय पनि कार्यान्वयन गर्न इच्छुक देखिँदैन ।
परिवारको माग : सद्भाव होइन न्याय
बोहराका बुबाले राज्यलाई तीन वटा अत्यन्तै व्यावहारिक माग गरेका छन ।
: ४ वर्षीया नातिनीको उच्चस्तर सम्मको शिक्षामा लाग्ने खर्च सरकारले व्यहोर्नु पर्छ ।
: बुहारीलाई रोजगारी दिनुपर्छ, किनकि परिवारमा अब एक्लो भार बोक्न सक्षम छैन ।
: अब दृष्टि गुमाएर अपाङ्ग भएका सन्तोष बोहराको दीर्घकालीन गाँस बास र उपचारको व्यवस्थापन राज्यले नै गर्नुपर्छ ।
यी माग दया होइन राज्य द्वारा नागरिकलाई दिएको क्षतिलाई सुधार्ने कर्तव्य हो । एक युवाले देशका लागि आवाज उठाउँदै दुवै आँखा गुमाउँदा राज्यले घाइतेको मलम पट्टी समेत नलगाउनू घोर उदासीनता हो ।
अन्तिम प्रश्न : जनताको छोरासँग राज्य किन टाढा हुन्छ ? जेन जी आन्दोलनमै दृष्टि गुमाएका युवालाई उपचारका लागि आफन्तले नै धाउनु पर्ने अवस्था कति विडम्बना हो ? सरकार आफैँले घोषणा गरेको सहयोग नै नदिने हो भने के हेर्दै छन् सरकारका मान्छेहरू ? गरिबका छोराछोरी सधैँ दोस्रो दर्जाका नागरिक नै रहने हो ? सत्ता जति पटक बदलियो, गरिबको पीडा किन कहिल्यै बदलिंदैन ?
सन्तोष बोहरा आज जिउँदा छन तर जीवन अब पहिले जस्तो छैन । देशले आवाज उठाउने प्रत्येक युवा चुप लागून भन्ने हो कि ? कि नागरिकको आँखाको उज्यालो गुमेपछि मात्र राज्यले आफ्नो अन्धोपन समझिन्छ ? यो प्रश्न केवल बोहरा परिवारको होइन एक युगको आक्रोश हो ।






