जुम्ला । उपभोक्ताको स्वास्थ्य र अधिकार सुरक्षित गर्ने उद्देश्यले सोमबार तातोपानी गाउँपालिकाका वडा नम्बर २ र ३ भित्रका पसलहरूमा संयुक्त बजार अनुगमन गरिएको छ । म्याद गुज्रेका तथा गुणस्तरहीन सामानको बिक्री नियन्त्रण गर्न गरिएको अनुगमनले स्थानीय बजारमा चेतना र सतर्कता दुबै बढाएको छ ।

उद्योग तथा उपभोक्ता हक हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा, जिल्ला प्रशासन कार्यालय जुम्लाको संयोजकत्व तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाको सहयोगमा अनुगमन सम्पन्न गरिएको हो ।
अनुगमन टोलीले एकैसाथ होटल, खुद्रा पसल र मदिरा पसल (भट्टी)हरूमा अनुगमन गरेकाे थियाे । उद्योग तथा उपभोक्ता हक हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीका अनुसार तातोपानी क्षेत्रका झण्डै १५ वटा खुद्रा पसल, होटल तथा मदिरा पसलको सूक्ष्म अनुगमन गरिएको बताए ।
उनले ठूला व्यापारी बाट गाउँ गाउँमा रहेका साना व्यापारीलाई म्याद गुज्रेका सामान सप्लाइ हुने गुनासो बढ्दै गए पछि निगरानी कडा पारिएको जानकारी दिए ।
प्रमुख याेगीले भने, उपभोक्ताले प्रयोग गर्ने खाद्य सामग्री प्रत्यक्ष रूपमा स्वास्थ्य सँग जोडिएको विषय हो । ठूला व्यापारी बाट आपूर्ति हुने सामानमै समस्या देखिन थालेकाले स्रोत देखि खुद्रा पसल सम्म निगरानी आवश्यक भएको उनकाे भनाइ छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीन बहादुर रावलले अनुगमनका क्रममा म्याद, लेबल, भण्डारण अवस्था, मूल्यसूची तथा स्वच्छताका विषयमा विशेष ध्यान दिइएको बताए ।
उनका अनुसार, कतिपय पसलहरूलाई सचेत गराउँदै सुधारका लागि निर्देशन दिइएको छ भने आवश्यक परे कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको बताए ।
केहि स्थानीय उपभोक्ताले बजार अनुगमनलाई स्वागत गर्दै नियमित अनुगमनको माग गरेका छन् । उनीहरूका अनुसार यस्ता अभियानले बजारलाई व्यवस्थित बनाउन र उपभोक्तालाई ठगीबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सम्बन्धित निकायले आगामी दिनमा पनि नियमित तथा आकस्मिक अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।





