जुम्ला । जुम्लाका स्याउ बिमा पिडितको सवाल फेरि एकपटक बलियो रूपमा उठेको छ । जुम्ला जिल्लामा निर्जीवन बीमा सेवा दिँदै आएको शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको निर्णय विरुद्ध तातोपानी गाउँपालिकाका स्याउ किसानहरू संगठित भएर मैदानमा उत्रिएका छन् ।

गत आर्थिक वर्ष २०८०/०८१ मा शिखर ईन्स्योरेन्स जुम्ला शाखाले जिल्लाका विभिन्न पालिकामा स्याउ बिमा गरेको थियो । तर चैत १५ देखि वैशाख मसान्त २०८१ भित्र जुम्ला जिल्लामा परेको भीषण खडेरीका कारण स्याउका फुल फुलेकै अवस्थामा कोपिला सुक्ने र झर्ने अवस्था आएकाे थियाे ।
उक्त प्राकृतिक प्रकोप बाट तातोपानी गाउँपालिका पनि अछुतो रहन सकेन, जुन सबैले देखे भोगेकै यथार्थ हो ।
तातोपानी गाउँपालिका भित्र मात्र ६ सय ११ जना किसानका ९७ हजार २ सय २० स्याउका बोट बिमा गरिएका थिए ।
खडेरी जन्य क्षतिको दाबी बमोजिम उचित मूल्याङ्कन गरी राहत दिनुपर्नेमा, शिखर ईन्स्योरेन्सले तातोपानीका किसान लाई अन्य स्थानीय तहभन्दा फरक र विभेदपूर्ण व्यवहार गरेको आरोप किसानहरूको छ।
कम्पनीले क्षति मूल्याङ्कन नगरी होचुवाको भरमा प्रति बोट मात्र २४ रुपैयाँ दिने निर्णय गरे पछि असन्तोष चुलिएको हो ।
यसै विषयमा वकालत गर्न गठित तातोपानी गाउँपालिका स्याउ बिमा पिडित पहल समितिले पटक पटक जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत बीमा कम्पनीलाई ज्ञापनपत्र बुझाउँदै आएको थियो ।
तर मागको सुनुवाइ नभए पछि आज पौष २ गते पहल समिति, स्थानीय जनप्रतिनिधि र सरोकारवालाको टोलीले प्रमुख जिल्ला अधिकारीसँग पुनः ध्यानाकर्षण गराउँदै विस्तृत छलफल तथा बहस गरेको छ ।
छलफल पछि प्रमुख जिल्ला अधिकारीको आदेशमा जिल्ला प्रशासन कार्यालय जुम्लाले शिखर ईन्स्योरेन्सको केन्द्रीय कार्यालय काठमाडौंलाई पत्राचार गर्दै ५ दिन भित्र केन्द्रीय स्तरबाट क्षति मूल्याङ्कन गर्ने जिम्मेवार व्यक्तिलाई जुम्ला उपस्थित हुन निर्देशन दिएको छ ।
पत्रमा तातोपानीका बिमित किसान र बिरुवा संख्या, २०८०/०८१ को क्षति मूल्याङ्कनको आधार, एउटै भुगोलमा चन्दननाथ नगरपालिका लाई प्रति बिरुवा ६ सय ३८ रुपैयाँ र तातोपानीलाई २४ रुपैयाँ मात्र किन, तथा डाँगीवाडा स्थित मौसम मापन केन्द्रको डिजिटल डेटा पेश गर्न स्पष्ट रूपमा माग गरिएको छ ।
तातोपानी गाउँपालिका -४ का अध्यक्ष अमरबहादुर रोकायाका अनुसार, यदि अब पनि कम्पनीले अटेरी गर्यो भने सिंगो तातोपानी गाउँकार्यपालिका ६११ जना किसानको अभिभावक बनेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।





