जुम्ला । जुम्ला बजार स्थित जिल्ला प्रहरी कार्यालय अगाडि रहेको रोहन सुनचाँदी पसलमा तोडफोड तथा चोरी भएको छ । चन्दननाथ नगरपालिका–४ अन्तर्गत जिल्ला खेलकुद विकास समितिको टहरामा सञ्चालन हुँदै आएको उक्त पसलमा २०८२ साल मंसिर ६ गते राति अज्ञात समूहले तोडफोड गरी बहुमूल्य गहना चोरी गरेका हुन् ।
पसल सञ्चालक काले सुनारका अनुसार राति करिब २ बजेतिर बाहिर निस्कने क्रममा पसलको सटर र काउन्टर तोडिएको अवस्था देखिएको थियो । असामान्य अवस्था देखेपछि उनले तुरुन्तै आफन्तलाई फोन गरी घटनाबारे जानकारी गराएका थिए भने प्रहरीलाई समेत खबर गरेका थिए । त्यसपछि पसलभित्र चेकजाँच गर्दा काउन्टरमा राखिएका सुनका टुकी, मुन्द्रा तथा चाँदीका सिक्री, लकेट, मुन्द्रा, वाला, टप लगायतका गहना चोरी भएको खुलेको सञ्चालकले बताए ।
चोरीबाट करिब २ देखि ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । पसल सञ्चालक सुनारका अनुसार बिहानै जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन पेश गरिएको भए पनि समाचार तयार पार्दा सम्म घटनास्थलमा प्रहरी टोली नपुगेको गुनासो उनले गरेका छन ।
जिल्ला प्रहरी कार्यालय नजिकै रहेको व्यस्त बजार क्षेत्रमा यसरी खुलेआम तोडफोड र चोरीको घटना हुनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको स्थानीय व्यवसायीहरूको भनाइ छ । बजार क्षेत्रमा सटर फुटाउने, पसल लुट्ने जस्ता घटना दोहोरिन थालेपछि व्यवसायीहरू त्रसित बनेका छन ।
स्थानीयले घटनाको छिटो अनुसन्धान गरी दोषीलाई सार्वजनिक गर्न, चोरी भएका गहना बरामद गर्न र बजार क्षेत्रमा रात्री गस्ती तथा सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्। प्रहरी प्रशासनले घटनालाई गम्भीरतापूर्वक लिएर तत्काल अनुसन्धान अगाडि बढाउनुपर्ने स्थानीयको जोड छ।






