जुम्ला । सीप सिकौँ, आत्मनिर्भर बनौँ, रोजगारी सिर्जना गरौँ भन्ने मूल नारा सहित जुम्लाको चन्दननाथ नगरपालिका–९ मा तीन महिने सिलाइ कटाई सम्बन्धी सिपमूलक तालिम सुरु गरिएको छ । स्थानीय महिलालाई आत्मनिर्भर बनाउँदै रोजगारीतर्फ उन्मुख गराउने उद्देश्यले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो ।

तालिमकाे उद्घाटन कार्यक्रममा बोल्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीले सीप विकासले मात्रै दीगो रोजगारी सिर्जना हुने बताए । उनका अनुसार, आजको प्रतिस्पर्धी बजारमा सीप बिना आत्मनिर्भर हुन गाह्रो रहेकाे बताए ।
उनले भने, यस किसिमका तालिमले स्थानीय स्तरमै स्वरोजगारको अवसर सिर्जना गर्न सहयोग पुग्ने छ । उनका अनुसार तालिम तीन महिना सम्म नियमित रूपमा सञ्चालन हुने उनकाे भनाइ छ ।
तालिममा सिलाइ–कटाईका आधारभूत सीप देखि आधुनिक डिजाइन, नाप लिने तरिका, कपडा काट्ने विधि, मेसिन प्रयोग, पोसाक निर्माण तथा साना व्यवसाय सञ्चालन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिनेछ । तालिम पछि सहभागीहरूले घरमै बसेर व्यवसाय सुरु गर्न सक्ने विश्वास आयोजकले व्यक्त गरेको कार्यालय प्रमुख याेगीले जानकारी दिए ।
कार्यक्रममा चन्दननाथ नगरपालिका–९ का स्थानीय जनप्रतिनिधि, समाजसेवीहरूकाे उल्लेख्य उपस्थिति रहेको थियो । स्थानीय जनप्रतिनिधिहरूले महिलालाई लक्षित यस्ता सिपमूलक कार्यक्रमले आर्थिक सशक्तीकरणमा ठूलो टेवा पुर्याउने बताएका छन् ।
विदेश रोजगारीको विकल्पका रूपमा स्थानीय सीप विकास अत्यन्त आवश्यक रहेकाे छ । तालिममा सहभागी महिलाहरूले पनि अवसर प्रति खुसी व्यक्त गर्दै सिकेको सीपलाई व्यवहारमा उतारेर आम्दानीको स्रोत बनाउने प्रतिबद्धता जनाएका छन् ।





