वैदिक इतिहास र आधुनिक वैज्ञानिक इतिहासबीचको मूल विवाद तथ्य भन्दा बढी कालगणना सँग सम्बन्धित देखिन्छ । वैदिक सभ्यताले मुख्यतः चन्द्र वर्षमा आधारित समयगणना प्रयोग गरेकाले घटनाहरूको निश्चित मिति अभिलेख हुन सकेन । यसको विपरीत, आधुनिक विज्ञानले सौर्य वर्ष लाई आधार बनाएर समय मापन गरेकाले इतिहास मिति सहित क्रमबद्ध रूपमा लेखिन थाल्यो ।

यही मितिको अभावका कारण वैदिक इतिहासका धेरै तथ्यहरूलाई “काल्पनिक” भनियो । तर प्रश्न उठ्छ के मिति नहुनु तथ्य असत्य हुनु हो ?
वैदिक काल र कालगणनाको समस्या :
वैदिक कालदेखि नै आर्य समाजमा चन्द्र वर्षको पात्रो प्रचलनमा रह्यो । समय गणना तिथि, नक्षत्र, ग्रहगत स्थितिका आधारमा गरिन्थ्यो । यस पद्धतिले धार्मिक, सांस्कृतिक र दार्शनिक अर्थमा समयलाई बुझायो, तर ऐतिहासिक घटनाको निश्चित मिति निर्धारण गर्न कठिन बनायो ।
जब सम्म सौर्य वर्षमा आधारित पात्रो प्रचलनमा आएन, तबसम्म इतिहास “कहिले” घट्यो भन्ने प्रश्न अनुत्तरित रह्यो । यही कारण वैदिक सभ्यताका गतिविधिहरू मिति नखुलेका तथ्यका रूपमा रहन पुगे र आधुनिक दृष्टिमा ती कम भरपर्दा ठानिए ।
वैदिक इतिहास : हिमवत्खण्डको अवधारणा :
वैदिक इतिहासमा उल्लेखित हिमवत्खण्ड कुनै काल्पनिक भूभाग होइन, बरु हिमाल, पर्वत र उच्च पहाडी क्षेत्रले ढाकिएको भू–भाग हो । वैदिक दृष्टिमा पृथ्वीको प्रारम्भिक अवस्था जलमय थियो। समयक्रममा जलको सतह घट्दै जाँदा अग्ला पर्वत र हिमालहरू प्रकट भए ।
पहिलो पटक जलमय अन्धकारबाट पर्वत–हिमालमा प्रकाशको स्पर्श भएको काललाई उषा काल भनियो । यही उषा कालबाट देवताहरूको उदय भएको वैदिक मान्यता छ । जलमाथि उठेका, प्रकाशयुक्त बनेका हिमाल, पर्वत र पहाडहरू देवताहरूको निवासस्थल बने, जसका कारण यी भू–भागहरू देवभूमि कहलाए ।
जलको सतह घट्दै जाँदा देखा परेका हिमालहरूमा निरन्तर हिमपात हुन गयो । यही हिमाच्छादित भू–भाग र त्यसको आसपासको क्षेत्रलाई हिमवत्खण्ड भनिएको हो । वैदिक मान्यताअनुसार, यही हिमवत्खण्डमा देवताहरूको शासन रह्यो, जहाँ देवताका राजा इन्द्रले हजारौँ ऋषि–मुनिहरूलाई मन्त्री बनाएर पूर्वदेखि पश्चिमसम्म राज्य सञ्चालन गरे ।
यसै देवभूमिबाट मानव सभ्यताको विकास भएको वैदिक धारणा छ । त्यसैले आर्य समाज न त पश्चिमबाट आएको हो, न त अन्य कुनै भूभागबाट; मानव सभ्यताको मूल उद्गम हिमाल नै हो भन्ने निष्कर्ष वैदिक इतिहासले दिन्छ।
उषा, सन्ध्या र वैदिक समयदर्शन :
आज पनि हामी सूर्य उदयअघिको समयलाई उषा काल मान्छौँ र यस समयलाई शुभ ठान्छौँ । यसको जरा वैदिक मान्यतामै छ । ऋग्वेदले उषालाई देवीका रूपमा वर्णन गरेको छ ।
त्यसैगरी, दिनको अन्त्य र रातको आगमनअघिको समयलाई सन्ध्या काल भनिन्छ। वैदिक कथनअनुसार सन्ध्या शनि ग्रहकी आमा हुन, र शनि दैत्य स्वरूपका मानिन्छन्। त्यसैले सन्ध्या काललाई अशुभ समयको रूपमा हेरिने परम्परा विकसित भयो ।
वैज्ञानिक इतिहास र सौर्य वर्ष :
वैज्ञानिक इतिहास सौर्य वर्षको पात्रोमा आधारित छ। जब सौर्य पात्रोको प्रयोग सुरु भयो, इतिहासमा मिति उल्लेख हुन थाल्यो । यही कारण वैज्ञानिक इतिहासलाई विश्वले प्रमाणित र भरपर्दो मानेको हो ।
वैज्ञानिक खोजअनुसार पृथ्वीको उत्पत्ति करिब ४ अर्ब वर्षअघि भएको हो । प्रारम्भिक अवस्था अत्यन्त उष्ण भएकाले जीवन सम्भव थिएन । करिब ५७.५ करोड वर्षपछि पृथ्वीमा जीवको उत्पत्ति भयो, जसलाई जीव कल्प भनियो ।
वैज्ञानिक उषा कालहरूको वर्गीकरण :
वैज्ञानिक इतिहासले जीव विकासको समयलाई विभिन्न कालमा विभाजन गरेको छ । जीव कल्प (५७.५ करोड वर्षअघि) जीवनको प्रारम्भ नव उषा काल (३५ करोड वर्षअघि) स्तनधारी जीवको विकास मध्य उषा काल (करिब ६ करोड वर्षअघि) बाँदर जातिको विकास लघु उषा काल (करिब १५ लाख वर्षअघि) मानव जातिको उत्पत्ति अति उषा काल (करिब २० लाख वर्षदेखि हालसम्म) मानवको क्रमिक विकास वैज्ञानिक इतिहासले बाँदरबाट मानव विकास भएको मान्यता राख्छ, जसको आधार चार्ल्स डार्विनको विकासवाद हो । तर वैदिक इतिहासले बाँदरको उत्पत्तिलाई मानव सभ्यताको मूल मानेको छैन; बरु उषा स्वयं देवी भएको र देवताबाट सभ्यताको विकास भएको बताउँछ ।
पाषाण काल र वैदिक देवयुग :
वैज्ञानिक इतिहासले करिब ५० हजारदेखि १५ हजार वर्षअघिको समयलाई पाषाण काल मानेको छ, जहाँ ढुङ्गा र माटोका हतियार प्रयोग हुन्थे । यस कालमा जावा मानव, परकिङ मानव, ह्यान्डलवर्ग मानव आदिको उल्लेख पाइन्छ ।
तर वैदिक इतिहासमा यही समयलाई देव राज्यको काल मानिएको छ । अर्थात् एउटै काललाई विज्ञानले भौतिक विकासको चरण भनेको छ भने वेदले दार्शनिक आध्यात्मिक रूपमा व्याख्या गरेको देखिन्छ ।
धातु युग र वेद :
वैज्ञानिक इतिहासअनुसार
ताम्र युग : इ.पू. ३५००–२०००
पितल युग : इ.पू. २०००–१२००
लोहा युग : इ.पू. १२०० पछि
यी सबै धातुको उल्लेख वेदमा पाइन्छ। यसले वैदिक ज्ञान धातु युगभन्दा पछाडि होइन, बरु समकालीन वा अझ प्राचीन हुनसक्ने संकेत दिन्छ ।
निष्कर्ष :
वैदिक इतिहास र वैज्ञानिक इतिहासबीच मूलतः विवरणको अन्तर होइन, व्याख्या र कालगणनाको अन्तर छ। वैज्ञानिक इतिहाससँग मिति छ वैदिक इतिहास सँग दर्शन, प्रतीक र व्यापक दृष्टि छ ।
चन्द्र वर्ष र सौर्य वर्षको भिन्नताका कारण वैदिक इतिहास मिति विहीन रह्यो र त्यसलाई काल्पनिक ठानियो । तर तथ्य, अवधारणा र संकेतहरूको दृष्टिले हेर्दा वैदिक इतिहास र वैज्ञानिक इतिहास एकअर्काका विरोधी होइनन पूरक हुन ।





