प्रजातन्त्र दिवस केवल उत्सव होइन, यो इतिहास सँग आँखामा आँखा जुधाउने दिन हो । यो त्यो समयको स्मरण हो जब नेपाल निरंकुश राणा शासनको कठोर पञ्जामा थिचिएको थियो । त्यो समय जनताको आवाज अपराध थियो, चेतना विद्रोह मानिन्थ्यो र अधिकारको माग मृत्यु आमन्त्रण बराबर थियो ।

त्यो समयको जीवनस्तर सम्झिनु मात्र पनि आजको पुस्ताका लागि स्तब्ध पार्ने यथार्थ हो । देशका अधिकांश नागरिक अशिक्षित थिए । शिक्षाको पहुँच सीमित र वर्गीय नियन्त्रणमा थियो । साधारण जनता राज्यको निर्णय प्रक्रिया बाट पूर्णत बाहिर थिए ।
नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता यी सबै शब्दहरू नै अपरिचित थिए । गाउँहरू अन्धकारमा डुबेका थिए स्वास्थ्य सेवा न्यून, यातायात अविकसित, आर्थिक अवसर लगभग शून्य थियो । श्रम गर्ने जनता गरिबीमा थिचिन्थे, तर राज्य सत्ता मुट्ठीभर शासकहरूको विलासितामा केन्द्रित थियो ।
त्यो दमनकारी युगमा अन्याय विरुद्ध आवाज उठाउने हरू लाई जेलनेल, यातना र मृत्युदण्ड दिइन्थ्यो । यिनै परिस्थितिमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ जस्ता अमर शहीदहरूले जीवन अर्पण गरे। उनीहरूको बलिदान केवल शासन परिवर्तनका लागि थिएन त्यो भयमुक्त समाजनिर्माण गर्न , सम्मानित नागरिकता र समान अवसरको भविष्यका लागि थियो ।
वि.सं. २००७ सालको जनआन्दोलनले जहानियाँ शासनको अन्त्य गर्दै नयाँ युगको सुरुआत गर्यो । त्यसपछि पनि नेपालले अनेक राजनीतिक उतारचढाव पार गर्यो ।व्यवस्था परिवर्तन, आन्दोलन, संघर्ष र पुनर्संरचनाका चरणहरू पार गर्दै अन्ततः आजको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । नेपालको संविधान २०७२ ले मौलिक अधिकार, समावेशिता र सामाजिक न्यायलाई संवैधानिक ग्यारेन्टी दिएको छ ।
तर आज प्रश्न अझ तीव्र छ ! के त्यो बलिदानको मूल्य व्यवहारमा रूपान्तरण भएको छ ?
हामी सँग संविधान छ, चुनाव छ, बहुदलीय प्रतिस्पर्धा छ । तर के आम नागरिकको जीवनस्तरमा अपेक्षित परिवर्तन आएको छ ? बेरोजगारी अझै उच्च छ ।
शिक्षित युवाशक्ति भविष्यको खोजीमा विदेशी भूमिमा पसिना बगाइरहेको छ । अशिक्षित युवा शक्ति पनि घरधन्दा पूरा गर्न खाडी मुलुकमा जीवन ब्यतित गरिरहेका छन । कृषि उत्पादन घट्दो छ, उद्योग सुस्त छन्, आयात बढ्दो छ । आर्थिक असमानता विस्तारिँदै छ ।
यदि प्रजातन्त्रको प्रतिफल जनताको भान्सामा, रोजगारीमा, शिक्षा र स्वास्थ्यमा देखिँदैन भने त्यो केवल संरचनागत उपलब्धि मात्र रहन्छ जीवन्त अनुभूति बन्दैन ।
लोकतन्त्रको सार केवल मतदान होइन परिणाम हो । जनताले परिवर्तनको आशा गरेका थिए न्यायपूर्ण समाज, पारदर्शी शासन, अवसरको समान पहुँच ।
तर जब राजनीति सिद्धान्त भन्दा समीकरणमा, सेवा भन्दा सत्तामा, र नीति भन्दा स्वार्थमा सीमित हुन्छ तब जनविश्वास कमजोर बन्छ । अस्थिर सरकार, नीति निरन्तरताको अभाव र संस्थागत कमजोरीले विकास प्रक्रियालाई निरन्तर अवरुद्ध बनाइरहेको छ ।
भूराजनीतिक रूपमा नेपाल संवेदनशील अवस्थामा छ । स्वाधीनता केवल नारामा सीमित रहनु हुँदैन त्यो आर्थिक आत्मनिर्भरता, उत्पादनमुखी अर्थतन्त्र र दीर्घकालीन राष्ट्रिय रणनीतिमा देखिनुपर्छ । आयातमा निर्भर उपभोगवादी प्रवृत्तिले राष्ट्रलाई दीर्घकालीन रूपमा कमजोर बनाउँछ ।
जलस्रोत, कृषि, पर्यटन र उद्योगका सम्भावनालाई वैज्ञानिक ढंगले परिचालन नगरी समृद्धिको भाषण मात्रले देश अगाडि बढ्दैन । लोकतन्त्रको मेरुदण्ड सुशासन हो ।
जब संस्था भन्दा व्यक्ति शक्तिशाली देखिन थाल्छ, जब पारदर्शिता कमजोर हुन्छ, जब जवाफदेहिता औपचारिकतामा सीमित हुन्छ त्यस क्षण लोकतन्त्रको आत्मा संकटमा पर्छ । लोकतन्त्रको रक्षा बाह्य खतरा भन्दा बढी आन्तरिक क्षयबाट गर्नुपर्छ ।
आज प्रजातन्त्र दिवसमा हामीले कठोर प्रश्न सोध्नैपर्छ के हामीले शहीदहरूको सपनालाई न्याय दिएका छौँ ?
के आजको शासन नागरिक केन्द्रित छ कि सत्ता केन्द्रित ?
के संविधानको मर्म व्यवहारमा जीवित छ ?
यदि उत्तर पूर्ण रूपमा सकारात्मक छैन भने उत्सव मात्र पर्याप्त छैन । आत्मसमीक्षा, सुधार र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक छ । प्रजातन्त्रको उज्यालो स्वतः बल्दैन, त्यसलाई नागरिक चेतना, नैतिक नेतृत्व र संस्थागत सुदृढताले निरन्तर जोगाउनुपर्छ ।
शहीदहरूको बलिदान इतिहासको गौरव मात्र होइन वर्तमानको दायित्व पनि हो । यदि हामीले उनीहरूको सपनालाई व्यवहारमा रूपान्तरण गर्न सकेनौँ भने त्यो इतिहास प्रति अन्याय हुनेछ ।
प्रजातन्त्र दिवस नयाँ संकल्पको दिन बनोस नारा होइन, परिणामका लागि , सत्ता होइन, सेवा केन्द्रित राजनीतिका लागि,औपचारिकता होइन, जीवनस्तर उकास्ने वास्तविक परिवर्तनका लागि ।





