काठमाडौं | निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान सम्पन्न भए लगत्तै मतपेटिका सङ्कलन गरी तत्काल मतगणना कार्य सुरु गरिनेछ । ‘मतपेटिका सङ्कलन भएको २४ घण्टा भित्रै प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्ने हाम्रो योजना छ,’ उनले भने । समानुपातिक तर्फ भने एक दुई दिन लाग्न सक्ने जनाइएको छ ।
आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको र हाल कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जनाएको छ। मतदान फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने तालिका छ ।





