जुम्ला । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च तथा ट्रफी टुर आज ऐतिहासिक जिल्ला जुम्ला आइपुगेको छ। दैलेखको ऐतिहासिक तथा धार्मिक स्थल श्रीस्थान बाट सुरु भएको ओलम्पिक टर्च तथा ट्रफी टुर जुम्ला आइपुग्दा यहाँको वातावरण खेलकुदमय बनेको छ ।

ओलम्पिक टर्चको उज्यालो सँगै जुम्लाको माटोमा खेलकुद प्रतिको उत्साह, उमङ्ग र गौरवको नयाँ तरङ्ग फैलिएको छ। यस ऐतिहासिक क्षणलाई आत्मीय रूपमा स्वागत गर्दै सम्पूर्ण जुम्लीवासीले ओलम्पियन तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद जगत्का दिग्गज खेलाडीहरूको टोलीलाई भव्य सम्मान र स्वागत गरेका छन् ।
टर्च तथा ट्रफी टुरमा सहभागी गिनिज बुक अफ वर्ल्ड रेकर्डर, अन्तर्राष्ट्रिय धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा, दीपक श्रेष्ठ, दीपक विष्ट र मण्डेकाजी श्रेष्ठ लगायत खेलकुद क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिले जुम्लाको गौरव थप उचाइमा पुर्याएको छ ।
जीवनका अनगिन्ती संघर्ष, कठोर अभ्यास, पसिना र अथक मेहनतबाट खेलकुद क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका यी महान् खेलाडीहरूलाई आफ्नै आँगनमा स्वागत गर्न पाउनु जुम्लीवासीका लागि अविस्मरणीय अवसर बनेको छ ।
कुनै समय अभाव, कठिन भूगोल र सीमित पूर्वाधारबीच पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको जुम्लाका लागि यो टर्च टुर केवल औपचारिक कार्यक्रम होइन, सम्भावना र सपनाको नयाँ सन्देश समेत हो।
विशेषगरी अन्तर्राष्ट्रिय धावक हरिबहादुर रोकायाजस्ता खेलकुदका प्रेरणादायी व्यक्तित्वहरूको उपस्थितिले जुम्लाका नयाँ पुस्तालाई आफ्नो माटोबाटै विश्वस्तरको पहिचान बनाउन सकिन्छ भन्ने बलियो सन्देश दिएको छ ।
हिमालको काखमा बसेको जुम्ला प्राकृतिक सुन्दरताले मात्र होइन, साहसी खेलाडी उत्पादन गर्ने सम्भावना र क्षमताले पनि परिचित छ। यहाँका युवायुवतीमा प्रतिभा छ, मिहिनेत गर्ने इच्छाशक्ति छ र केही गरेर देखाउने हुटहुटी पनि छ । तर ती प्रतिभालाई सही अवसर, आवश्यक पूर्वाधार, प्रशिक्षण र राज्यको उचित लगानीसँग जोड्न अझै आवश्यक छ। ओलम्पिक टर्चको आगमनले यही आवश्यकतालाई पुनः स्मरण गराएको छ।
ओलम्पिक टर्च केवल एउटा प्रज्वलित ज्योति होइन, यो हजारौँ खेलाडीको सपना, संघर्ष र राष्ट्रको प्रतिष्ठाको प्रतीक हो। यसले खेलाडीलाई हारबाट निराश नहुन, कठिनाइ सँग नझुक्न र आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर अघि बढ्न प्रेरित गर्ने धावक हरि बहादुर रोकयाले बताए ।
उनका अनुसार, आज जुम्लामा आइपुगेको यही ज्योतिले यहाँका खेलप्रेमी, प्रशिक्षक, विद्यार्थी र नयाँ पुस्तामा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको बताए ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको कामना गर्दै जुम्लामा भएको यो ऐतिहासिक स्वागतले कर्णालीको खेलकुद पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ। खेलकुदको विकासका लागि भौगोलिक विकटता बाधक होइन, इच्छाशक्ति, अवसर र निरन्तर प्रयास नै सफलताको आधार हो भन्ने सन्देश पनि यसले दिएको ओलम्पियन देबु थापाको भनाइ छ ।
उनले भने, जुम्लाको माटोमा आज केवल टर्च र ट्रफी आइपुगेका छैनन्, हजारौ सपनाका ज्योति, संघर्षका कथा र भविष्यका सम्भावना पनि आइपुगेका छन्। खेलाडीको पसिनाले राष्ट्रको शिर उचो बनाउने महान् यात्रालाई सम्मान गर्दै जुम्लीवासीले दिएको यो आत्मीय स्वागत सधैँ स्मरणीय रहने उनको भनाइ छ ।





