जुम्ला । प्रधानमन्त्री सुशीला कार्किले कर्णालीको ऐतिहासिक तथा धार्मिक धरोहर चन्दननाथ मन्दिरमा पूजा अर्चना गर्दै राष्ट्रिय शान्ति र समृद्धिको कामना गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले मन्दिरमा करिब १५ मिनेट विशेष पूजा गरेकी थिइन् ।

उनको आगमनलाई मध्यनजर गर्दै मन्दिर परिसरलाई कडा सुरक्षा घेरामा राखिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त सुरक्षामा मन्दिर क्षेत्र पूर्ण रूपमा सुरक्षित बनाइएको थियो ।
कर्णालीकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित चन्दननाथ मन्दिरमा प्रधानमन्त्रीको पूजा अर्चनाले पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश जाने विश्वास गुठी समितिले व्यक्त गरेको छ।
यस्तो उच्चस्तरीय भ्रमणले जुम्लाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने अपेक्षा गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार प्रधानमन्त्रीले मन्दिरमा राष्ट्रको समृद्धि, शान्ति र नेपाली जनताको सुख-समृद्धिको कामना गर्दै पूजा सम्पन्न गर्नुभयो ।
यो जुम्लाबासीका लागि गौरवको विषय हो । चन्दननाथ मन्दिरमा गरिएको पूजा नै उनको जुम्ला भ्रमणको अन्तिम औपचारिक कार्यक्रम बनेको थियो ।
निर्वाचनपछिको धन्यवाद भ्रमण अन्तर्गत कर्णाली आएकी कार्कीले रारातालको अवलोकन गर्नुका साथै जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको निरीक्षण समेत गरिन् । उनले मुगु र जुम्लाका सुरक्षा प्रमुखहरूसँग भेटघाट गर्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन खेलेको भूमिकाको उच्च प्रशंसा गरिन् ।
प्रधानमन्त्री कार्की नेपाली सेनाको हेलिकप्टर मार्फत् जुम्ला पुगेकी थिइन् र नेपाली सेना २४ नम्बर बाहिनीमा बसोबास गरेकी थिइन् ।
उनको यो भ्रमणले कर्णालीको धार्मिक पर्यटन, सुरक्षा संयन्त्र र स्थानीय विकासको सन्दर्भमा सकारात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।





