जुम्ला । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिका ढल तथा फोहोर व्यवस्थापनमा निरन्तर असफल हुँदा सदरमुकाम खलंगाको मुख्य व्यापारिक क्षेत्र फेरि समस्यामा परेको छ।

बुधबार परेको भीषण वर्षा पछि जिल्ला प्रशासन कार्यालय अगाडि रहेको चन्दननाथ मिनि मार्केट डुबानमा परे पछि नगरपालिकाको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको छ।
वर्षौ देखि व्यवस्थित ढल निकासको अभाव झेल्दै आएको उक्त क्षेत्र सामान्य वर्षामै जलमग्न हुने गरेको स्थानीयको गुनासो छ। आजको वर्षा पछि मिनि मार्केट परिसरमा पानी जम्दा व्यवसाय सञ्चालनमा समेत असर पुगेको संचालक ऋषिराम पाण्डेले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले ढल व्यवस्थापनमा ध्यान नदिदा आज मिनिमार्केट डुवानमा परेकाे गुनासो गरे । उनले भने, समयमै नाला व्यवस्थापन गरि पानी निकास गर्ने काम गरेकाे भए याे अवस्था आउने थिएन् ।
स्थानीय व्यापारी तथा सर्वसाधारणले करोडौ बजेट खर्च गर्ने नगरपालिकाले आधारभूत पूर्वाधार व्यवस्थापनमै बेवास्ता गरेको आरोप लगाएका छन्।
चन्दननाथ बहुउद्देश्यीय सहकारीद्वारा सञ्चालित मिनि मार्केट जुम्लामा अर्गानिक तथा स्थानीय उत्पादन बिक्री हुने प्रमुख केन्द्रका रूपमा परिचित छ।
जिल्लाकै गौरवका रूपमा रहेको यस बजार क्षेत्र डुबानमा पर्दा समेत सम्बन्धित निकाय मौन बस्नु दुःखद भएको नागरिकको भनाइ छ । जिल्ला प्रशासन कार्यालयको मूल प्रवेशद्वार अगाडि नै ढलको पानी सडक र बजारमा बगिरहेको दृश्यले स्थानीय सरकारको वास्तविक अवस्था उजागर गरेको स्थानीयको टिप्पणी छ ।
नागरिकका अनुसार फोहोर व्यवस्थापन, ढल निर्माण र सरसफाइका नाममा हरेक वर्ष लाखौ बजेट खर्च हुने गरे पनि त्यसको प्रत्यक्ष प्रभाव भने नदेखिएको गुनासाे रहेकाे छ ।
यता, प्रसिद्ध धार्मिक स्थल चन्दननाथ मन्दिर र भैरवनाथ मन्दिर दर्शनका लागि देश–विदेशबाट आउने पर्यटकले समेत सदरमुकामको अस्तव्यस्त अवस्था देखेर आश्चर्य व्यक्त गर्ने गरेका छन् । नगरपालिकाको मुख्य बजार क्षेत्रमै पानी जम्ने, ढल ओभरफ्लो हुने र फोहोर छरपस्ट हुने अवस्थाले जुम्लाको छवि नै धुमिल बनाएको बताएकाे छन् ।
व्यापारीले तत्काल दीर्घकालीन ढल निकास योजना कार्यान्वयन गर्न, फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन र बजार क्षेत्रलाई डुबानमुक्त बनाउन माग गरेका छन् ।





