जुम्ला । विश्व वातावरण दिवसको अवसर पारेर जुम्लामा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ। “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

डिभिजन वन कार्यालय जुम्ला, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, हातेमालो नेपाल तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको संयुक्त आयोजनामा भएको प्रतियोगिताले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती तथा प्रकृतिमैत्री विकास बारे विद्यार्थीहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो ।
प्रतियोगितामा माध्यमिक विद्यालयकाे तहतर्फ चन्दननाथ माध्यमिक विद्यालयकी निभाश्री श्रेष्ठ प्रथम भएकी छन् । त्यसैगरी जनता माध्यमिक विद्यालयकी रोशनी न्यौपाने द्वितीय तथा कर्णाली माध्यमिक विद्यालय अनामनगरका सुनिल कामी तृतीय भएका छन् । यस्तै जनता माध्यमिक विद्यालयका प्रशान्त भण्डारीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
यस्तै आधारभूत विद्यालय तहतर्फ मालिका आधारभूत विद्यालयका राजन सार्की प्रथम भएका छन्। भगवती आधारभूत विद्यालय जातिभिडका गोल्डेन रोकाया द्वितीय तथा मालिका आधारभूत विद्यालयकी सरला सार्की तृतीय भएकी छन् । भने भगवती आधारभूत विद्यालयकी कृष्मा थापाले सान्त्वना स्थान हासिल गरेकी छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाका कोषाध्यक्ष दल बहादुर महताराले वातावरण संरक्षणको अभियानलाई विद्यालय तहबाटै सुदृढ बनाउन आवश्यक रहेको बताए ।
उनले विद्यार्थीहरूलाई प्रकृति संरक्षणका विषयमा सिर्जनात्मक गतिविधिमार्फत जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे ।
चन्दननाथ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले वातावरणीय शिक्षा अहिलेको आवश्यकता भएको उल्लेख गर्दै विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । उनका अनुसार जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न भावी पुस्तालाई जिम्मेवार र सचेत बनाउनु अपरिहार्य छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाका सुपर परियोजना अधिकृत ईश्वरा सुवेदीले विद्यार्थीहरूमा वातावरणप्रतिको सकारात्मक सोच र जिम्मेवारी विकास गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताइन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।





