जुम्ला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी, जुम्लाले प्रधानमन्त्री बालेन्द्र शाहले हालै दिएको अभिव्यक्ति प्रति गम्भीर आपत्ति जनाएको छ ।

कमिटीले सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी समक्ष बुझाउदै जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले जेठ १७ गते प्रतिनिधिसभाको रोष्ट्रमबाट भनिएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता माथि आघात पुगेको उल्लेख गरेको छ ।
उक्त अभिव्यक्तिलाई कमिटीले भ्रामक, कपोलकल्पित र राष्ट्रिय हितविपरीत भन्दै तत्काल सच्याउन माग गरेको छ । विज्ञप्तिमा नेपालको स्वतन्त्रता र राष्ट्रिय अस्मिताको रक्षा नेपाली जनताको साझा दायित्व भएको उल्लेख गर्दै कुनै पनि व्यक्ति वा शक्तिले नेपालको भूमि र स्वाधीनता माथि प्रश्न उठाउन नसक्ने धारणा व्यक्त गरिएको छ।
साथै, प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग पनि गरिएको छ । अनेरास्ववियु जुम्लाले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।
आन्दोलनमा देशभित्र तथा विदेशमा रहेका विद्यार्थी, युवा, नागरिक समाज, पत्रकार तथा राष्ट्रप्रेमी नागरिकहरूलाई साथ र समर्थन गर्न अपिल गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा संगठनले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको जनाउँदै नेपालको सार्वभौमिकता र राष्ट्रिय हितविरुद्ध हुने कुनै पनि गतिविधिको सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।





