केदारनाथ भनेको सत्यदेबिको बाँया हातको अङ्ग बाट बनेको हो । सत्यदेबि राजा दक्षप्रजापतिकी ३३ कोटि छोरी मध्ये सत्यदेबि जेठि छोरी हुन । दक्षप्रजापति राजाले गरेको महा यज्ञमा ३३ कोटि छोरी र ज्वाईलाई बोलाउदै गर्दा जेठि छोरी सत्यदेबि र उनका पति महादेब लाई समेत उक्त महा यज्ञमा नबोलाईएको हुँदा सत्यदेबिलाई आफ्नो बुबाले लगायको महा यज्ञ थाहा थिएन ।

राजा दक्षप्रजापतिले लगाएको महायज्ञ महादेबलाई थाहा थियो। तर सत्यदेबिलाई थाहा नदिनका लागि माहादेबले सत्यदेबिलाई बिभिन्न बहानामा भुलाई रहेका थिए। एकजना नारद भन्ने ब्यक्तिले सत्यदेबिलाई थाँहा दिएपछि सत्यदेबि हत्तपत्त बाबुले लगाएको महायज्ञमा पुग्नु भयो र बाबुलाई समेत सम्झाएर भन्नु भएछ।
तपाईले हाम्रो दुई परिवारलाई किन के कारणले उक्त महायज्ञमा बोलाउनु भएन भनि प्रति प्रश्न गर्नु भयो ? दक्षप्रजापति राजाले जवाफ दिनुभयोकी भाँङ धतुरो खाने मसान घाटमा बस्ने सर्पका गहना लगाउने हेर्दा डर लाग्ने कोडी जस्तो यस्तो अपवित्र मानिसलाई यो सभामा बोलाउन उपयुक्त नठानिएको भनि छोरीलाई जबाफदिएर बिभिन्न ब्यक्तिगत आरोप लगाएर महादेबलाई अपमान गरेपछि उक्त गरेको सहन नसके पछि दक्षप्रजापतिले लगाएको महायज्ञको होम मण्डलमा हाम फालेर प्राण त्याग गरिन । त्यो कुरो महादेबले थाहा पाएपछि त्यहाँ पुगेर सत्यदेविको मृत शरिरलाई बोकेर १२ बर्ष पृथ्वीमा डुलाउने र घुमाउने क्रममा सत्यदेविको अङ्ग कुईएर अङ्ग पतन हुँदै गर्दा सत्यदेविको बाँया हात यस बारे गाउँ बुदबुदि केदारनाथमा खसेको भन्ने किमदन्तिमा छ । सोही किम्बदन्तिका आधारमा बारे गाउँको बुदबुदिमा केदारनाथ मन्दिर बनेको छ ।
सत्यदेविको रुपमा केदाररुपी गाईहरुको उत्पति भएको र केदाररुपी गाईहरु बुदबुदि केदारनाथमा बस्ने चर्ने रमाउने गर्दै गर्दा चाँदे मेला र मालिका चरन क्षेत्रमा चर्ने र बुदबुदि केदारनाथमा पानी खाने साथै जुम्लिजिउला बास बस्ने गर्थे भन्ने कुरा आम जन बोलीमा छ। यसरी केदारनाथ मन्दिरमा कैलु गाई बस्छन भन्ने थाहा पाउने जतिका मानिसहरु आएर यहाँ दर्शन गर्थे । यहि क्रममा बाग्रेको लेख बाटै बाग्रेकै भुतले केदारु गाई लाई मार्नका लागि ढुङ्गाले हान्न खोज्दा केदारुले त्यो ढुङ्गालाई छेकेर त्यो ढुङ्गा भदाली दहचौर डिलमा खसेको किमदान्तिमा छ ।
त्यो ढुङगा खसेको ठाउँलाई थार्पी ढुङगा भनिन्छ तर बाग्रेको भुतले नसकेपछि रात्दाडे भन्ने भुतलाई गुहार मागेछ। रात्दाडे भुतले केदारु बस्ने ठाउँको माथि एउटा ठुलो पहाड खसाल्न लागे पछि त्यो पहाडलाई केदारुले थामिन केदारुले त्यो पहाड लाई थाम्न खोज्दा केदारुपि गाईको खुरको पाईलाको चिन्ह रहेको पनि त्यो पहाडमा देख्न सकिन्छ । दैलेखि राजाको सन्तान नभएको हुँदा दैलेखि राजा केदारनाथमा सन्तानको लागि बर माग्न आउँदा केदारुले सन्तान दिएको भन्ने किमदन्तिमा छ । एक जना भिम भन्ने पैकेलालाई कुष्ठरोग लागेछ । त्यो पैकेलाले केदारुपि गाईको दर्शन गरेर उक्त कुष्ठरोग पुर्ण रुपमा निर्मल हुने कुनै एउटा ऋषिमुनिको मुखबाट थाहा पाएपछि केदारुपि गाईको दर्शन गर्न बारे गाउँ बुदबुदि केदारनाथमा आएछन् । ती भिम भन्ने ब्यक्तिले कालु र कैलु गाई संगै चरन क्षेत्रमा बस्ने हुदा कालु र कैलु गाईको पहिचान छुट्याउन नसकेकाले दर्शन गर्न पाएनन । यसै क्रममा कालु र कैलु गाई कसरी छुट्याउन सकीन्छ । भनेर गाउँका मनिसहरुलाई सोध्दै गर्दा गाउँका मानिसले भनिदिएछन् । कि नुन लिएर जानुहोस नुन छरेर गाईलाई लो लो भनि बोलाउनु होस र घरपालुवा कालु गाई नुन खान आउँछन र केदाररुपि कैलु गाई नुन खान आउदैनन ।
जब नुन नखाने गाई केदाररुपि कैलु गाई हुन भनि सिकाएका रहेछन यसरि केदाररुपी कैलु गाई र घरपालुवा कालु गाई छुट्याईएको थियो। कुष्टरोगि भिम भन्ने ब्यक्तिले गाउँलेले भने अनुसार कालु र कैलु गाई छुट्याएछन । त्यस पछि कैलु गाईको दर्सन गर्न जाने क्रममा केदाररूपि कैलु गाई ले तँ पापी कुष्ठरोगि लाई दर्शन गर्न दिदैन भनि दगुरि छन । दगुर्दै जाने क्रममा ती भिमले पनि पछिपछि पछ्याउदै गएछन त्यस क्रममा सिंजा बोता हुँदै घोडेमौला भन्ने ठाउँमा पुगेपछि त्यस ठाउँमा राक्षेस रुपी भुतले साँगुरो बाटोमा जाँड चेट्याएर केदाररुपी कैलु गाईलाई आफ्नो जाङमुनि छिराउन खोजेपछी घोडेमौलाको पहाड लाई चिरफाड गर्दै ठाडै उकालो लागिन र केदारुपि गाई रारा दहमा पुगिछन । रारा दह हुँदै पश्चिम नेपाल बाटै गड्डुवाल हुदै भारत को बद्रिनाथ रुद्रपरेक भन्ने ठाउँमा पुगिछन । तिनि भिम भन्ने व्यक्ति पनि पछि पछि भारत मै पुगे छन र केदाररुपी गाईलाई सोहि ठाउँमा भेटाई सकेपछि ति केदाररुपी गाईले भनि छन कि अब पापी नेपाल बाट भारत आई पुगिस अब मुख बाट दर्शन गर्न पाउँदैनश अब पुछ बाट दर्शन गर भनि छन । भिम भन्ने ब्यक्तिले पुछ बाट दर्शन गरे पछि भिमको कुष्टरोग हरण भएछ तर दर्शन गर्ने समयमा भिमको खुट्टाको बुडी औला बालुवामा डुबेको रहे छ । तेस कारण भिमको बुडी औलाको कुष्ठरोग हरण भएन अहिले सम्म संसारमा भिमको शरिरको बुडि औला बराबरको कुष्ठरोग संसारमा बाँकी रहेको जन विश्वास छ । यस कारण जुम्ला जिल्लाको सिंजा बारे गाउँमा रहेको केदारनाथ मन्दिरको धारामा आउने पानी गाईको मुखबाट आउँछ । भने भारतमा रहेको केदारनाथ मन्दिरको धारामा आउँने पानी पुछरबाट आउँछ । यो कुरा संसार लाई थाहाँ छ । त्यसैले परम्पराकाल देखि यो कुरा नियालदै जाँदा बारे बुदबुदि केखारनाथ मन्दिरमा एकादशी देखि पुर्णिमा सम्म पुरै ठाउँका देवताहरुका भारा केदारनाथमै ल्याएर भारा धुने प्रचलन छ केदारनाथमै गएर धन्नुगर्ने बर्त बस्ने गाईको गौजो काट्ने पनि चलन छ । कुनै पनि प्रकारको बर माग्ने पनि गरिन्छ छोराहरुको बर्तबन्ध पनि गरिन्छ त्यसैले गर्दा केदारनाथ तिर्थ स्थललाई धार्मिक पर्यटकिय स्थलको रूपमा लिन सकिन्छ । धन्नु गरेपछि आकास बाट पानी आउने परम्परा पनि छ । यस पवित्र केदारनाथ मन्दिरमा मृतकको मुक्तिका लागि काजक्रीया तथा पिण्ड प्रदान गर्ने गरिन्छ । यहाँ कुनै पनि बलि चडाउनु हुँदैन किनकी पवित्र केदार रुपि गाईको उत्पति भएको हुनाले र गाईको दुध पवित्र हुने भएकाले त्यहाँ बलि चडाउनु हुँदैन। भन्ने प्रचलन किमदन्तिमा रहेको छ ।







