जुम्ला । तातोपानी गाउँपालिकामा बालबालिका लक्षित कार्यक्रम र अनुभव आदानप्रदानसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । किर्डाक नेपालद्वारा सञ्चालित ‘सहयात्रा तेस्रो परियोजना’ अन्तर्गत आयोजित कार्यक्रममा हालसम्म बालबालिकाको क्षेत्रमा गरिएका कार्यको समिक्षा गर्दै आगामी योजनाबारे समेत विस्तृत छलफल गर्दै सम्पन्न भएको हाे ।

कार्यक्रममा परियोजनाका संयोजक प्रकाश शाहीले शिक्षा देखि पुनःस्थापना सम्मका कार्यहरू, चुनौती र सिकाइबारे सहभागीलाई जानकारी गराएका थिए । परियोजनाले हासिल गरेका उपलब्धिहरूलाई पञ्चेश्वरको सभाहलको भित्तामा छापामय प्रदर्शनी मार्फत आकर्षक शैलीमा प्रस्तुत गरिएको थियो ।
तातोपानी गाउँपालिकाको समन्वयमा जिल्लाकै पहिलो नमुना अभ्यास स्वरूप तीन टाढाका गाउँ नियापानी, श्रीनगर र भेरीखोलाको बारागाउँमा घरमै शिक्षक राखी पढाउने व्यवस्था गरिएको उल्लेख गरे ।
एक विद्यार्थीका लागि एक शिक्षकको शिक्षण प्रविधि अभिनव पहलका रूपमा सराहना पाएकाे कार्यक्रम अधिकृत शाहीकाे भनाइ छ ।
यस्तै, जोखिममा परेका बालबालिकाको पुनःस्थापना, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा पुर्याउने पहल, क्षमता विकास तथा सशक्तिकरणजस्ता कार्यक्रमले बालमैत्री वातावरण सिर्जना गर्न योगदान पुगेको सहभागीहरूको भनाइ थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाईंले परियोजना प्रभावकारी बनेको भन्दै अझ सशक्त समन्वय आवश्यक रहेको बताए । उनले बालकेन्द्रित मात्र होइन, समग्र पालिकालाई जवाफदेही बनाउने आवश्यकता पनि औंल्याए ।
तातोपानी पालिका स्तरीय नागरिक समाज संजालका अध्यक्ष प्रेम अधिकारीले तातोपानीको सेवा प्रवाह, विकास र नीति निर्माण सबैमा बालमैत्री दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा २२ भन्दा बढी सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।





