जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा १५९ विकास योजना सम्पन्न गरेको छ। सोमबार आयोजित वार्षिक सार्वजनिक सुनुवाइमा गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले असारे विकासको प्रवृत्ति रोक्दै समयमै काम सम्पन्न गर्ने नीति सफल भएको बताए।

गाउँपालिकाको प्रतिवेदन अनुसार गत वर्ष विनियोजित १६२ योजनामध्ये १५९ पूरा भएका छन्। वित्तीय समानीकरणका १२३ मध्ये १२१, प्रदेश सशर्तका १४ मध्ये सबै, संघीय सशर्तका ४ मध्ये ३ र संघीय विशेष अनुदानअन्तर्गतको १ योजना सम्पन्न भएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमका १२ र मुख्यमन्त्री रोजगार कार्यक्रमका ८ योजनासहित सबै योजनाको कार्यान्वयन सकिएको योजना शाखा प्रमुख ओम बहादुर चन्दले जानकारी दिए।
बजेट खर्चतर्फ पुँजीगतमा १७ करोड ४३ लाख १५ हजार रुपैयाँमध्ये १३ करोड २० लाख ५४ हजार रुपैयाँ र चालुतर्फ ३५ करोड ५७ लाख ६४ हजार रुपैयाँमध्ये ३० करोडभन्दा बढी खर्च भएको गाउँपालिकाले जनाएको छ। राजस्व संकलनमा ३२ लाखको लक्ष्य राखिए पनि ३१ लाख ७३ हजार रुपैयाँ मात्र संकलन भएको हो।
श्रमदान अभियानमार्फत दर्जनौं योजना सम्पन्न भएको अध्यक्ष चौलागाईंले बताए। उनले पाँच वर्षभित्र तातोपानीलाई शिक्षामा नमुना पालिका बनाउने प्रतिबद्धता व्यक्त गरे। उपाध्यक्ष रेवती रावलले महिला सशक्तिकरण र सामाजिक रुपान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताइन्।
प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतका अनुसार सम्पन्न योजनाहरू वडा र उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ। गाउँपालिकामा ३३ सय घरधुरीमध्ये २१ सय घरधुरीको घर बीमा गरिएको छ। नदीजन्य वस्तुको उत्खननबाट हुने राजस्व चुहावट रोक्न कार्यविधि तयार पारिएको र छिट्टै कार्यान्वयन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।





