अपराध र वैधता बारे राजनीतिक इतिहासले सिकाइ दिएको छ कि अपराध र वैधताका सिमाना प्रायः अस्पष्ट हुन्छन र कहिलेकाही शक्तिले ती सिमाना लाई पुनः परिभाषित गरेका छन । चेरिङ्गोवस्कीको कथा त्यही राजनीतिक केमियाको प्रतीक हो, जहाँ एक अपराधी बाट स्थानीय सत्ता सञ्चालक बन्ने यात्रा देखिन्छ । रूसको प्रारम्भिक २० औं शताब्दीको यो कथाले हामीलाई यो सन्देश दिन्छ कि परम्परागत नैतिकता च्यातेर अपराधलाई राज्यको आधार बनाउन सकिन्छ भन्ने कुरा यथार्थ हो ।
नेपालमा यो प्रवृत्ति केवल इतिहासका पानामा मात्र होइन, आजको राजनीतिक र सामाजिक यथार्थ सँग गहिरो रूपमा जोडिएको छ । हिंसात्मक कू देखि विद्रोह सम्म , भ्रष्ट समझदारी देखि संरचनागत अवसरवादसम्म, नेपालमा चेरिङ्गोवस्की प्रवृत्तिको गुञ्ज सुनिन्छ । यो लेखले त्यही धारणालाई गहिराइमा पुर्याउनेछ ।

अपराध र शक्ति कसरी आपसमा जोडिन्छन, अवसरवाद कसरी संस्थागत हुन्छ, र नैतिकता पच्छ्याएर व्यवहारिकता कसरी बढ्छ । साथै यो सोच्न बाध्य पार्दछ कि के यो प्रवृत्ति पतनको संकेत हो या विकासको नयाँ यथार्थ ? नेपालका ऐतिहासिक र वर्तमान घटनाहरू मार्फत यसले चेरिङ्गोवस्की प्रवृत्तिको निरन्तरता र विकासलाई उजागर गर्छ, जसले शक्ति, नैतिकता र राज्य संरचनाको पुनर्मूल्यांकनको आवश्यकता औंल्याउँछ ।
ऐतिहासिक पृष्टभूमि:
चेरिङ्गोवस्कीको कथा बाट सिकाइ सन १९०२ मा एलेन आयरलेण्डले आफ्नो पुस्तक “China and the Powers” मा चेरिङ्गोवस्कीको कथा लेखेका थिए ।
रूसको साईबेरियामा अपराधी निर्वासनमा रहेको ध्यानाकर्षक यो पात्र जेलबाट भागेर एउटा नयाँ बस्ती “अल्बाजिन” स्थापना गर्छ र आफ्नो सत्तालाई दृढ बनाउँछ । उनले राज्यको कमजोर पक्षलाई अवसर बनाएर आफ्नै अस्तित्वलाई वैधता प्रदान गरे ।
यो कथा देखाउँछ कि कसरी अपराध र राज्यबीच अभेद्य सीमाहरू धूमिल हुन्छन र कसरी नीतिगत कमजोरीको फाइदा उठाएर नयाँ सत्ता संरचना जन्माउन सकिन्छ ।
नेपाल जस्तो देशमा जहाँ राजनीतिक सत्ता संघर्ष, विद्रोह र तालमेल निरन्तर चलिरहेको छ, त्यहाँ चेरिङ्गोवस्कीको कथा सामाजिक र राजनीतिक वास्तविकता सँग कसरी मेल खान्छ भन्ने कुरा महत्त्वपूर्ण छ ।
दार्शनिक आधार:
शक्ति, अपराध र नैतिकताको द्वन्द्व चेरिङ्गोवस्कीको कथा बुझ्दा स्पष्ट हुन्छ कि अपराध राज्यको सत्ता संरचनामा कसरी प्रभावित हुन्छ । जुन कुरा राजनीतिक चिन्तक म्याकियाभेलीले पनि पुष्टि गरेका थिए ।
राज्यको स्थायित्वका लागि नैतिकता भन्दा पनि कार्यक्षमता र व्यवहारिक अनुकूलता आवश्यक हुन्छ । नेपालमा पनि शक्तिको इतिहासलाई हेर्दा यस्तो देखिन्छ कि राज्य सधैं नैतिक आधारमा नभई व्यवहारिक आवश्यकताका आधारमा अघि बढेको छ ।
हिंसा, छलकपट, गठबन्धन र अवसरवादले नै राज्यको संरचना तयार पारेका छन । नैतिकता र वैधता प्रायः एउटै दिशामा नहुँदो रहेछ । नेपालको ऐतिहासिक र राजनीतिक सन्दर्भमा चेरिङ्गोवस्की प्रवृत्ति नेपाली इतिहासमा अपराध, विद्रोह र सत्ता प्राप्तिका लागि प्रयोग गरिएका छलहरू प्रायः राज्यको वैधताको रूपमा परिणत भएका छन ।
यसको केहि महत्वपूर्ण उदाहरणहरू:
राणा युगको उदय: जङ्गबहादुर राणाले कोतपर्व जस्तो हिंसात्मक कू मार्फत सत्ता कब्जा गर्दा तत्कालीन दृष्टिले त्यो अपराध थियो, तर पछि उनलाई वैध सत्ता मानियो ।
पञ्चायतकाल: विरोध र विद्रोह दमन गरिए पनि राष्ट्रवादको नकाबमा ती विरोध हरूलाई समेटेर वैधता दिइयो ।
माओवादी जनयुद्ध: प्रारम्भमा विद्रोही थिए, तर युद्ध पछि नयाँ शासन व्यवस्थामा रूपान्तरण भई उनीहरू नयाँ सत्ता संरचनाका प्रमुख बने ।
जेन्जी आन्दोलन : प्रारम्भमा सामाजिक संजाल नियमनको बिरोध, भ्रष्टाचार र नेपोटिजमको बिरोधमा उर्लिएको भेल हिंसात्मक घटना हुँदै अहिले सत्ता सन्चालकका प्रमुख बनेका छन ।
यी घटनाले देखाउँछ भने कि नेपालमा अपराध र विद्रोह लाई पनि अन्ततः वैध राजनीतिक स्वरूपमा परिणत गर्ने परम्परा सहज रूपमा चलेको छ । आधुनिक नेपालमा अवसरवाद र भ्रष्टाचारको वैधता आजको नेपालमा चेरिङ्गोवस्की प्रवृत्ति संरचनागत जालोमा परिणत भएको छ, जुन समाजका सबै क्षेत्रहरूमा देखिन्छ ।
राजनीतिक गठबन्धनहरू लाभ र शक्ति गणितमा आधारित हुन्छन । जहाँ नैतिकता प्रायः दोस्रो स्थानमा रहन्छ । भ्रष्टाचारलाई दुष्ट काम नभई व्यवस्था र राजनीतिको अंगको रूपमा स्वीकार गरिन्छ । यसमा व्यक्तिगत र पार्टीगत स्वार्थलाई राष्ट्रहित माथि राखिन्छ ।
अपराधी र भ्रष्ट नेताहरूलाई पुनः राष्ट्रिय राजनेता र संरक्षकको रूपमा पुनर्स्थापित गरिन्छ । यसरी अपराध, अवसरवाद र शक्ति बीच एक अर्कालाई समर्थन गर्ने सम्बन्ध बनेको छ । जसले नैतिकता र सामाजिक चेतनामा ठूलो चोट पुर्याएको छ ।
मान्यता र अस्तित्वको द्वन्द्व:
दार्शनिक विश्लेषण मानव अस्तित्वको आधारमा रहेको दुई मुख्य आकांक्षा अस्तित्व जोगाउने र समाजबाट मान्यता पाउने हो । चेरिङ्गोवस्कीले सामाजिक मान्यता सहित आफ्नो अस्तित्वलाई वैधता दिएको जस्तै, नेपालमा पनि त्यस्तै प्रक्रिया चलिरहेको छ ।
हेगेलले भने जस्तै, “व्यक्तिको स्वतन्त्रता त्यतिबेला पूर्ण हुन्छ जब उसको कामलाई समाजले वैध ठान्छ।”नेपालमा नैतिकताको सट्टा सफलताले मान्यता पाएको प्रवृत्तिले चेरिङ्गोवस्की प्रवृत्तिलाई बल पुर्याएको छ ।
सामाजिक पतन या यथार्थवादी नयाँ युग ? चेरिङ्गोवस्की प्रवृत्ति नेपाललाई संक्रमणकालीन अवस्थामा राखेको छ जहाँ पुरानो प्रणाली गडबडीमा छ र नयाँ स्थिर छैन । यसले दीर्घकालीन सामाजिक चेतना र राज्य संरचनामा गम्भीर द्विविधा सिर्जना गरेको छ । यो प्रवृत्तिलाई दुई कोणबाट हेर्न सकिन्छ ।
नैतिक पतन, जहाँ सामाजिक मूल्यहरू नष्ट हुँदैछन् र नागरिक दायित्व हराउँदैछ । यथार्थवादी दृष्टिकोण, जहाँ सत्ता व्यवहारिक बुद्धि र रणनीतिक अनुकूलतामा आधारित हुन्छ ।
निष्कर्ष: राष्ट्रिय आयाममा चेरिङ्गोवस्कीको संभावित विस्तार नेपालमा चेरिङ्गोवस्की प्रवृत्ति न केवल सम्भावित छ, यो निरन्तर विस्तारशील पनि छ । यसले राज्यलाई नैतिक अस्थिरतामा राखेर स्थायित्व दिने छ, तर दीर्घकालीन रूपमा राष्ट्रको चरित्रमा नकारात्मक प्रभाव पार्ने छ ।
आज हामी सबै भित्र एउटा सानो चेरिङ्गोवस्की छ, जसले आफ्नो स्वार्थ र सुरक्षा खोजेर नैतिकता भुल्छ । नेपालको ऐतिहासिक र वर्तमान यथार्थले प्रमाणित गर्छ कि जहाँ हिंसा, विद्रोह र अवसरवाद सत्ता तर्फ उब्जिन्छ, त्यहाँ चेरिङ्गोवस्की प्रवृत्ति निरन्तर बलियो हुँदैछ । यसको अन्त्य वा समृद्धि हाम्रो नैतिक चेतना र सामाजिक संरचनाको परिवर्तनमा निर्भर छ ।





