नेपालको प्राचीन इतिहासको एक अद्भुत अध्याय लुकेको छ । देउसीको परम्परामा। आज हामी दीपावलीको बेला “देउसी रे!” गाएर रमाइलो गर्छौं, तर के तपाइलाई थाहा छ? यो रमाइलोको जरा एउटा रक्तरञ्जित इतिहाससँग गाँसिएको छ तैमुरलंगको आक्रमण र सिजा राज्यको वीरता ।

तैमुरलंगको उदय: एक लुटेराबाट साम्राज्य निर्माता सम्म इस्वी संवत् १३३६ तिर (बि.सं. १३९१ तिर) समरकन्दको गरिब परिवारमा एउटा बालक जन्मिन्छ तैमुरलंग नामको । गरिबी र सङ्घर्षमा हुर्केको उसले लुटपाटलाई जीवनको बाटो बनायो।
बिस्तारै उसकै लुटेरा समूहले समरकन्द राज्य कब्जा गर्छ, र तैमुर “राजा” बन्छ । उसको साम्राज्य पूर्वदेखि पश्चिम एसिया सम्म फैलियो । तर तैमुरलंग केवल विजेता होइन, रक्तपिपासु शासक पनि थियो ।
इतिहासकारहरूका अनुसार, उसले आफ्नो साम्राज्य विस्तारका क्रममा करिब तीन करोड मानिसको हत्या गर्यो । शत्रुका टाउका काटी “खोपडीको ढिस्को” बनाउनु उसको गर्व थियो।
धर्मको नाममा विनाश :
तैमुरका पुर्खा तुर्क धर्मावलम्बी थिए, तर उसका हजुरबुवाले इस्लाम धर्म अपनाएपछि तैमुर पनि इस्लामको झण्डा बोकेर युद्धमा निस्कियो । “अविश्वासीहरूलाई समाप्त गर्नुपर्छ” भन्ने बहानामा इस्वी १३९१ (बि.सं. १४४८) तिर तैमुरलंग सिन्धु हुँदै भारत प्रवेश गर्छ। दिल्लीमा लाखौँ मानिसको टाउका काटेर उसले आतंक मच्चायो ।
सिंजा राज्यको सावधानी र वीरता :
दिल्लीको नरसंहारको खबर फैलिँदै जाँदा, त्यसको असर तत्कालीन सिंजा (सिजा) राज्यमा पनि पुग्छ । जनता त्रसित भए । धन, सुन र गहना जमिनमा गाडेर राखे।
इतिहास बताउँछ, वि.सं. २०४३ भदौ २४ गते सिजाको पाण्डवगुफामा सुनका बाकसहरू फेला परेका थिए, जसले यो कथालाई बलियो बनाउँछ ।
त्यो समय सिजामा कल्याल वंशका राजा बलिराजको शासन थियो। तैमुरलंगको अत्याचार रोक्न उनले आफ्नो जेठा छोरा बत्सराजको नेतृत्वमा सेना पठाए। वाज (गिद्ध) प्रयोग गरेर जासुसी प्रणाली पनि चलाइयो । युद्ध हरिद्वार नजिकै भयो । र तैमुरलंग अन्ततः पराजित भयो।
विजयको उत्सव र देउसीको जन्म :
तैमुरलंगको मृत्युको खबरले सिजा, कुमाउँ, गढवाल र डोटी राज्यमा आनन्दको छाल ल्यायो। सिजाली वीरहरूलाई स्वागत गर्न जनताले गीत गाए, नाच गरे, र टिका लगाइदिए । त्यस उत्सवको स्वर यसरी गुन्जायमान भयो ।
“ए भन भन भाइ हो देउसी रे,
ए माग्ने होइनौं, डोड्ने होइनौं,
ए बलिराजाले पठाएका देउसी रे,
ए रातो माटो, चिल्लो बाटो, ए देउसी रे…”
यही गीत र उत्सव कालान्तरमा “देउसी” परम्परामा परिणत भयो। यो केवल रमाइलोको गीत होइन । यो सिजा राज्यको वीरता, एकता र स्वतन्त्रताको प्रतीक हो ।
भैली र देउसीबीचको भ्रम :
आज धेरैले “देउसी भैली” भनेर एउटै मान्छन्। तर वास्तवमा “भैली” अलग परम्परा हो । जसका “सानी भैली” र “ठूली भैली” गरी दुई रूप छन्, र ती प्रायः पुस–माघ महिनामा गाइन्छन । देउसी भने सिजाको इतिहाससँग गाँसिएको विजयगान हो ।
“देउसी रे” केवल दीपावलीको मनोरञ्जन होइन — यो वीर सिजालीहरूको गाथा हो, जसले विदेशी आतङ्ककारी तैमुरलंगलाई परास्त गरी सारा हिमालयलाई सुरक्षित राख्यो। प्रत्येक पटक जब हामी देउसी गाइरहेका हुन्छौं, त्यो गीतमा सिजाको शौर्य र स्वतन्त्रताको आत्मा गुन्जिरहेको हुन्।





