जुम्ला । शिक्षा क्षेत्रलाई सशक्त बनाउने उद्देश्य सहित जुम्लाको हिमा गाउँपालिकाले ऐतिहासिक निर्णय गरेको छ । गाउँपालिकाले हिउँदे बिदालाई लक्षित गर्दै कक्षा १० का सबै विद्यार्थीलाई नि:शुल्क ट्युशन कक्षा सञ्चालन गर्ने भएको छ ।

बर्षेनी ट्युशनका लागि सदरमुकाम वा बाहिरी जिल्लातिर धाउनुपर्ने, त्यसमा पनि महँगाे शुल्क तथा बसोबासकाे भार थेग्नुपरेको गुनासो बढ्दै गएपछि पालिकाले यसपटक घरमै सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीका अनुसार, यो पहल आर्थिक रूपमा कमजोर परिवारका लागि ठूलाे राहत हुने अपेक्षा गरिएको बताए । उनका अनुसार शिक्षामा लगानी गर्न हामी कहिल्यै कन्जुस्याइँ नगर्ने बताए ।
अध्यक्ष शाहीले भने,बजारमा महँगो ट्युशन र ऋण जोहो गर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै हाम्रै गाउँमै निःशुल्क कक्षा सञ्चालन गर्न लागेका हौ । यसले हिमाका बालबालिका र अभिभावकलाई प्रत्यक्ष राहत पुग्ने उनकाे भनाइ छ ।
हिमाकाे गाउँशिक्षा समितिको मंसिर १ गतेको निर्णय अनुसार,
कालिका मा.वि., हिमा–१, नेत्र ज्योति मा.वि., हिमा–२, राहदेव मा.वि., हिमा–३ मा ट्युशन पढाउने सेन्टर ताेकिएकाे छ ।
ओदी र मोफ्ला क्षेत्रका विद्यालयहरूमा पनि कक्षा सञ्चालन
सम्बन्धित विद्यालय बाटै उपलब्ध शिक्षकहरूमध्ये उत्कृष्ट विषय शिक्षक चयन गरिने गाउँपालिकाले जनाएको छ । सोही विद्यालयलाई शिक्षक छनोट तथा व्यवस्थापनको अधिकार दिइएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ





