काठमाडौं , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र अब कुनै गुट वा उपगुट नरहेको दाबी गरेका छन्। गत असारमा सम्पन्न महाधिवेशनपछि पार्टीभित्रका सबै गुट–उपगुट अन्त्य भएको र अब पार्टी एउटै संरचना तथा एउटै विधिअनुसार अघि बढ्ने उनको भनाइ छ।

सोमबार रास्वपा कार्यालयमा आयोजित पत्रकार भेटघाटमा लामिछानेले भने, ‘महाधिवेशनसँगै सबै गुट–उपगुट सक्किए। अब एउटा रास्वपा र एउटै विधि छ। महाधिवेशनबाट सबै समायोजन भइसकेको छ।’
उनले पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै गाउँपालिकामा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको जानकारी दिए।
लामिछानेका अनुसार गाउँपालिकाको अध्यक्ष तथा अन्य स्थानीय तहका पदमा उम्मेदवार बन्न चाहने आकांक्षीले रास्वपाको ‘क्यान्डिडेट क्लब’ मार्फत सहभागी हुन सक्नेछन्। पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन यस्तो व्यवस्था अघि सारेको उनले बताए।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन विस्तार र सम्भावित उम्मेदवार पहिचानको कामलाई समेत तीव्रता दिने रास्वपाको तयारी छ।
महाधिवेशनपछि पार्टीभित्र देखिएका असन्तुष्टि र समूहगत गतिविधिबारे उठ्दै आएका प्रश्नको जवाफ दिँदै लामिछानेले नेतृत्व तहमा कुनै गुटगत संरचना नरहेको स्पष्ट पार्दै अब पार्टीको ध्यान संगठन निर्माण र आगामी निर्वाचनमा केन्द्रित हुने संकेत गरेका छन्।





