जुम्ला । समुदायमा आधारित रेड पाण्डा (हाब्रे) संरक्षण परियोजना अन्तरर्गत यस वर्षको वार्षिक समीक्षा तथा जिल्ला स्तरीय सल्लाहकार समिति बैठक सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति जुम्लाको सभाहलमा औपचारिक रूपमा उक्त बैठक सम्पन्न भएको हाे । हातेमालो नेपाल जुम्लाको आयोजना रेड पाण्डा नेटवर्कको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।
बैठकमा हातेमालो नेपाल जुम्लाका निर्देशक टेक रावतले परियोजनाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु वर्षमा सम्पन्न गतिविधिहरू रेड पाण्डा संरक्षण अभियान, अवैध चोरी शिकारी नियन्त्रणका प्रयास, स्थानीय समुदाय सँगको समन्वय, विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम, बासस्थान अध्ययन तथा खोज अनुसन्धान, संरक्षण सम्बन्धी तालिम र समुदायमा आधारित वन व्यवस्थापन कार्यहरू बारे विस्तृत जानकारी दिए ।
उनका अनुसार जुम्लाको उच्च पर्वतीय क्षेत्र रेड पाण्डाको महत्वपूर्ण बासस्थान रहेकाले त्यसको संरक्षणका लागि संगठित प्रयास आवश्यक छ ।
जनसमुदायको सामान्यतयाको संरक्षणमैत्री बानी विकास, वन क्षेत्रमा हुने अवैध गतिविधि रोकथाम, वैज्ञानिक डाटा संकलन तथा संरक्षणका समस्या समाधान पहिचानमा परियोजनाले उल्लेख्य प्रगति गरेको जानकारी दिए।
स्थानीय तहलाई नीतिगत निर्णयको वातावरण तयार गर्न आग्रह :
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यले रेड पाण्डा लगायत दुर्लभ वन्यजन्तु संरक्षणलाई स्थानीय सरकारको नीति तथा कार्ययोजना सँग जोडेर दीर्घकालीन सतत् कार्यक्रमका रूपमा लागू गर्न आवश्यक रहेको बताए ।
उनका अनुसार रेड पाण्डाको बासस्थानमा हाल देखिएको जलवायु परिवर्तनको प्रतिकूल प्रभाव, वन क्षेत्रको दवाव तथा बन डढेलो, स्थानीय विकासका गतिविधि बिच सन्तुलन कायम गर्न आगामी दिनमा स्थानीय तहहरूले नीतिगत रूपमा सहजीकरण गर्ने वातावरण बनाउनु अपरिहार्य रहेको उनकाे भनाइ छ ।
उनले भने, संरक्षणका सवालमा स्थानीय सरकार, समुदाय, गैरसरकारी संस्था तथा सरोकारवाला बीचको समन्वयलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनु पर्छ ।
कार्यक्रममा जिल्ला वन कार्यालयका प्रतिनिधिले रेड पाण्डा संरक्षण अभियान सफल बनाउन सूचना प्रसार, सामुदायिक साझेदारी र अन्तर संस्थागत समन्वयको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।
हातेमालो नेपालले उल्लेखनीय काम गरेको छ त्यसमा हाम्रो पनि सहभागिता रहेको छ आगामी दिनमा पनि हामी सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
यस्तै सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गोकर्ण चौलागाईंले चोरी शिकारी नियन्त्रण तथा वन दुरुपयोग रोकथामका लागि स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा वनकर्मी बीच नियमित संवाद, संयुक्त अनुगमन र प्रभावकारी वनगस्ती भैरहेको छ अझै पनि हुन आबश्यक रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबू रेग्मिले रेड पान्डा लगाएतका लोपोन्मुख जनावरहरु जस्को खास मूल्य यति हो भनेर एकिन छैन , तर तस्कर हरुले ठुलो अपराध छिपाउन , गर्न लाई यस्ता प्रकारका अपराध गर्न लगाउने अनावश्यक मूल्य यतिउती भनेर हल्ला फैलाउने जस्ता काम गरेर सर्बसाधारण लाई सिकार गर्न उदृत गर्ने भएकोले यसबारे पनि सुचना प्रबाह गर्न जरुरी औल्याउँदै प्रहरीको तर्फ बाट सदैब हामी तत्पर रहने प्रतिबद्धता ब्यक्त गरे ।
बैठकमा सहभागी सरोकारवालाहरूले संरक्षणलाई प्रभावकारी बनाउन बहुमूल्य सुझावहरू प्रस्तुत गरे, जसमा रेड पाण्डा संरक्षणमा स्थानीय समुदायको प्रत्यक्ष सहभागिता विस्तार तथा क्षमता अभिवृद्धि, चोरीशिकारी नियन्त्रणका लागि वन गस्ती मजबुत बनाउने जस्ता सुझाव राखेका छन् ।





