मुगु । मुगुमा सेनाको बोलेरो जिप दुर्घटनामा एक अमलदारको मृत्यु भएको छ । हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुले सम्म सैनिक पुर्याउन गएको जिप फर्किने क्रममा दुर्घटनामा परेको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मृत्यु हुनेमा हनुमान ध्वज गुल्मका अमलदार चालक हरिसिंह ऐडी रहेका छन । बैतडीको पाटन ४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो ।
ना १ झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका-७ मा रहेको पिना प्रहरी चौकी देखि अगाडि आलादुना खोलाको मोडमा दुर्घटनामा परेको थियो ।
आइतबार बेलुकी ७ बजेर ७ मिनेटमा दुर्घटनामा परेको खबर पाउने बित्तिकै नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो ।
बोलेरो सडक देखि २ सय मिटर तल खसेको थियो । घाइते चालकलाई राति १० बजे नै मुगु अस्पतालमा ल्याइ पुर्याइएको भए पनि बचाउन नसकिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।
दुर्घटनाको कारण पत्ता लागेको छैन । तर त्यो मोडमा धेरै दुर्घटना हुने गरेको स्थानीयले बताएका छन । मृतक ऐडीको शव पोस्टमार्टमको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए ।





