नेपाली समाज आज तीव्र रूपान्तरणको यात्रामा छ । प्रविधि, शहरीकरण, वैदेशिक रोजगारी, विश्वव्यापी सञ्चार र राजनीतिक उतारचढावले हाम्रो दैनिकी मात्र होइन, हाम्रो सांस्कृतिक चेतनालाई समेत गहिरो रूपमा प्रभावित गरिरहेका छन । प्रश्न केवल यति मात्र होइन कि समाज बदलिँदैछ प्रश्न यो हो ? यो परिवर्तनले हाम्रो संस्कृतिलाई कतातर्फ डोर्याइरहेको छ ?

नेपाल विविधताको देश हो । भाषा, जाति, धर्म, भेषभूषा र जीवनशैलीको असंख्य रङहरूले हाम्रो राष्ट्रिय पहिचान निर्माण गरेका छन् ।
सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान नेपाली संस्कृतिका आधार स्तम्भ हुन् । तर पछिल्ला वर्षहरूमा सामाजिक सम्बन्धहरू क्रमशः कमजोर हुँदै गएको अनुभूति बढ्दो छ । छिमेकी सँगको आत्मीयता घट्दो छ, सामूहिक श्रमको परम्परा हराउँदैछ, परिवार भित्रै भावनात्मक दूरी बढ्दैछ ।
संयुक्त परिवारको संरचना एकल परिवारमा रूपान्तरण हुँदै जाँदा आर्थिक रूपमा सुदृढीकरण भएको देखिए पनि संस्कारको हस्तान्तरणमा चुनौती देखापरेको छ । हजुरबा – हजुरआमा बाट सन्तानमा मौखिक रूपमा सर्ने कथा, परम्परा र मूल्यहरू अब प्रविधिको शोरभित्र हराउन थालेका छन । संस्कृतिको जरा कमजोर हुनु भनेको समाजको आत्मा कमजोर हुनु हो ।
भाषा हाम्रो पहिचानको मूल आधार हो । मातृभाषाको संरक्षण बिना सांस्कृतिक विविधता जोगिँदैन । तर आधुनिकताको नाममा स्थानीय भाषाहरू उपेक्षित भइरहेका छन् । शिक्षा र रोजगारीको अवसर सँग जोडिएका भाषाहरूको महत्त्व स्वीकार्य भए पनि मातृभाषा प्रति उदासीनता दीर्घकालीन रूपमा घातक हुन सक्छ ।
पर्वहरु हाम्रो सामाजिक एकताको प्रतीक हुन । तर पछिल्लो समय तिनको मूल भाव भन्दा बढी प्रदर्शन र उपभोगको प्रवृत्ति हावी हुँदै गएको छ ।
उत्सवको सार आत्मीयता र साझेदारीमा हुन्छ, खर्च र प्रतिस्पर्धामा होइन। संस्कृति बजारको वस्तु बन्न थाले पछि त्यसको मौलिकता संकटमा पर्न सक्छ ।
प्रविधि र सामाजिक सञ्जालले अभिव्यक्तिको दायरा फराकिलो बनाएको छ । यो अवसर पनि हो र चुनौती पनि। सकारात्मक प्रयासहरूलाई प्रवर्द्धन गर्न सकिने माध्यम यही हो तर नकारात्मकता, अफवाह र अतिरञ्जनाको प्रसारले समाजमा निराशा र अविश्वास फैलाउने खतरा पनि यहीँबाट बढेको छ ।
आलोचना लोकतन्त्रको आत्मा हो तर स्थायी नकारात्मकता सामाजिक सन्तुलनको शत्रु हो ।
युवा पुस्ता आज विश्व सँग जोडिएको छ । उसमा ऊर्जा, सिर्जनशीलता र परिवर्तनको चाहना छ । तर निराशा र अविश्वासको वातावरणले त्यो ऊर्जालाई दिशाहीन बनाउने खतरा पनि छ । “देशमा केही हुँदैन” भन्ने मानसिकता संस्कृतिको पराजय हो । आशा र सम्भावनाको संस्कार जगाउन नसक्नु हाम्रो सामूहिक कमजोरी हुनेछ ।
समाजका अगुवा, बौद्धिक वर्ग, शिक्षण संस्था र सञ्चार माध्यम सबैले आत्मपरीक्षण गर्नुपर्ने बेला आएको छ । केवल कमजोरी औंल्याएर मात्र जिम्मेवारी पूरा हुँदैन सकारात्मक प्रयासको पहिचान र प्रवर्द्धन पनि उत्तिकै आवश्यक छ । समाजलाई सन्तुलित मार्गमा डोर्याउने दायित्व साझा हो ।
संस्कृति जोगाउनु भनेको परिवर्तन रोक्नु होइन । समयसँगै रूपान्तरण अपरिहार्य छ । तर परिवर्तनको नाममा मूल मूल्य मान्यताहरू सहिष्णुता, परिश्रम, सत्यनिष्ठा, आत्मीयता र सहकार्य हराउन दिनु हुँदैन । आधुनिकता र परम्परा बीच सन्तुलन कायम गर्नु आजको प्रमुख आवश्यकता हो ।
नेपाली समाज दोबाटोमा उभिएको छ । एकातिर विखण्डन, निराशा र अराजकताको बाटो छ । अर्कोतिर सहकार्य, सकारात्मकता र जिम्मेवार नागरिकताको बाटो । भविष्य कुन दिशामा मोडिन्छ भन्ने निर्णय हाम्रो सामूहिक चेतनाले गर्नेछ ।
आज आवश्यक छ आलोचना गरौँ, तर आशा नमारौँ । परिवर्तन स्वीकारौँ, तर पहिचान नबिर्सौँ । संस्कृतिलाई बोझ होइन, शक्ति ठानी अघि बढौँ । यही सचेत कदमले मात्र नेपाली समाजको सांस्कृतिक आत्मालाई सुदृढ र जीवन्त राख्न सक्छ । निर्वाचन आउन्छन जान्छन सस्कृती सद्भाव सधै कायम राखौ ।





