जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकामा फोहोर व्यवस्थापन गम्भीर संकटको रूपमा उभिएको छ। नियमित रूपमा फोहोर फालिँदै आएको स्थानमै स्थानीयको कडा अवरोधपछि नगर क्षेत्र नै फोहोरको चपेटामा पर्ने खतरा बढेको छ।

नगरपालिकाले विगतमा वडा नम्बर–२ को दुनादुनै क्षेत्रमा व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर भण्डारीवाडा गाउँका स्थानीय बासिन्दाले झण्डै एक वर्ष देखि निरन्तर अवरोध गर्दै आए पछि नगरपालिका लाई विकल्प खोज्न बाध्य बनाएको छ ।
यसले दीर्घकालीन व्यवस्थापन प्रणाली नै अस्तव्यस्त बनाएको छ। अहिले नगरपालिकाले आफ्नै कार्यालय पछाडि अस्थायी रूपमा फोहोर थुपार्दै आएको छ । तर यो व्यवस्था काम चलाउ मात्र बनेको छ ।
बजार क्षेत्रका बासिन्दा नियमित संकलन नहुँदा दुर्गन्ध, फोहोरको थुप्रो र स्वास्थ्य जोखिम बढेको भन्दै आक्रोशित छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढथापाका अनुसार फोहोर संकलन प्रक्रिया भने जारी राखिएको जानकारी दिए ।
उनका अनुसार, दुनादुनैमा स्थानीयको असहयोग भएपछि वैकल्पिक रूपमा अन्य स्थानमा व्यवस्थापन गर्नु परेको हाे उनले बताए । उनका अनुसार पुनः प्रयोग योग्य कार्टुन लगायतका सामग्री तराई पठाइँदै आएको छ भने बाँकी फोहोर अस्थायी केन्द्रमै थुपारिँदै आएको उनकाे भनाछ ।
यता उपप्रमुख रामदेवि खड्काले पनि स्थानीयको विरोधकै कारण समस्या झन् जटिल बनेको स्वीकार गरिन् । उनका अनुसार संकलित फोहोरको केही हिस्सा रंगशाला नजिकैको खाल्डोमा गाडिन्छ भने केही नगरप्रमुख राजुसिंह कठायतको क्रसर उद्योग क्षेत्रतर्फ व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।
नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने नीति ल्याए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ । दीर्घकालीन समाधानका लागि वडा नम्बर–८ मा आधुनिक फोहोर व्यवस्थापन केन्द्र बनाउने योजना अघि सारिएको छ। तर उपयुक्त जग्गा छनोटमै ढिलाइ हुँदा योजना कागजमै सीमित हुने खतरा बढेको छ ।
यसबीच दुनादुनै क्षेत्रमा सडक विस्तार र घेरबारको काम सम्पन्न भए पनि मूल समस्या भने स्थानीयकाे असहयोग र स्पष्ट दीर्घकालीन रणनीतिको अभाव रहेकाे छ ।
समग्रमा, स्पष्ट योजना, स्थानीय सहकार्य र स्थायी संरचनाको अभावका कारण चन्दननाथ नगरपालिकामा फोहोर व्यवस्थापन दिनप्रतिदिन जटिल बन्दै गएको छ। यदि तत्काल ठोस पहल नगर्ने हो भने, यो समस्या सार्वजनिक स्वास्थ्य संकटमा रूपान्तरण हुने संकेत देखिन थालेको छ।





