जुम्ला । सुशासनको नारा चर्को सुनाएर चर्चामा आएका गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले अहिले आफ्नै घोषणा बाट पछि हटेका छन् ।

एक वर्ष अघि म सरकारी गाडी चढ्दिन भन्दै सार्वजनिक रूपमा घोषणा गरेका अध्यक्ष बुढा अहिले पुनः पालिकाको गाडी चढेर हिँड्न थालेका छन् । उनकाे याे कदमले स्थानीयस्तरमा तीव्र आलोचना सुरु भएको छ।
गाउँपालिकालाई सुशासनयुक्त पालिका बनाउने भन्दै अध्यक्ष बुढाले पद सम्हालेकाे झन्डै साढे दुई वर्ष पछि नै आफूले कुनै सेवा–सुविधा नलिने, पालिकाको गाडी समेत प्रयोग नगर्ने घोषणा गरेका थिए ।
त्यतिबेला उनले आफू मात्र होइन, पालिकाका कर्मचारीलाई समेत सरकारी सवारीसाधन जथाभावी प्रयोग नगर्न निर्देशन दिएका थिए । सरकारी मोटरसाइकल घर लैजान नपाइने र अनावश्यक प्रयोग गर्न नहुने भन्दै कडा नीति घोषणा गरिएको थियो ।
तर, समय बित्दै जाँदा वास्तविकता भने ठीक उल्टो देखिन थालेको छ। घोषणा गरेको एक वर्ष नबित्दै अध्यक्ष बुढा आफै सरकारी गाडी प्रयोग गर्न थालेपछि सुशासनको भाषण मात्रै, व्यवहार शून्य भन्ने टिप्पणी हुन थालेको छ ।
पालिकामा कार्यरत केही कर्मचारीका अनुसार अध्यक्षले दिएको निर्देशनका कारण कतिपय कर्मचारीले सरकारी मोटरसाइकल प्रयोग नगर्ने निर्णय गरेका छन् । कतिपयले त निजी खर्चमा व्यक्तिगत मोटरसाइकल समेत खरिद गरेका छन् ।
हामीलाई सरकारी बाइक नचढ्न भनियो, घर लैजान पनि नपाइने भनियो । त्यसपछि धेरैले आफ्नै बाइक किन्यौ । अहिले त्याे बाइककाे सुशासन पनि हराएर सबैले आफ्नो बाइक लिइसकेका छन् ।
तर अहिले अध्यक्ष बुढाले आफै गाडी चढेर हिँड्दा हामी छक्क परेका छौं,एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए । स्थानीय बासिन्दा पनि अध्यक्षको व्यवहार प्रति असन्तुष्ट देखिन्छन् ।
सुरुमा उनले गरेको घोषणा धेरैले सकारात्मक रूपमा लिएका थिए । गाउँपालिकाको बजेट बचत हुने, सार्वजनिक सम्पत्तिको दुरुपयोग कम हुने अपेक्षा गरिएको थियो । तर अहिले त्यो आशा निराशामा परिणत भएको भन्दै स्थानीयले प्रश्न उठाउन थालेका छन् ।
अध्यक्ष बुढाले सुरुवातमा सरकारी गाडी नचढ्ने घोषणा गर्दा त्यसलाई उदाहरणीय निर्णय भन्दै चर्चा समेत भएको थियो । तर अहिले त्यही निर्णय उल्ट्याउँदै गाडी चढ्न थाले पछि उनको विश्वसनीयता माथि नै प्रश्न उठ्न थालेको छ ।
अझ रोचक कुरा के भने गाउँपालिकामा गाडी चलाउनका लागि नियमित ड्राइभर भए पनि अध्यक्ष बुढा आफै गाडी चलाएर हिँड्ने गरेका छन् ।पालिकाका केही कर्मचारीका अनुसार ड्राइभर हुँदाहुँदै अध्यक्ष आफै स्टेयरिङ समात्दा गाडीको प्रयोग र मर्मत खर्च अस्वाभाविक रूपमा बढेको छ।
ड्राइभर हुँदा पनि गाडी आफै चलाउनुहुन्छ। यसले गाडीको अवस्था बिग्रँदै गएको छ,एक कर्मचारीले बताए । अध्यक्ष आफैले गाडी चलाउन थाले पछि हालसम्म ४० देखि ४५ लाख रुपैयाँ सम्म गाडी मर्मतमा खर्च भइसकेको छ ।
सार्वजनिक सम्पत्तिको संरक्षण र पारदर्शिता सुनिश्चित गर्ने दाबी गरेका अध्यक्षकै कार्यशैलीका कारण यति ठूलो रकम मर्मतमा खर्च भएको छ । यदि सुरुमा नै गाडी प्रयोग नगर्ने घोषणा गरिएको थियो भने अहिले किन प्रयोग भइरहेको छ ? र यदि गाडी चलाउने नै हो भने ड्राइभरलाई किन जिम्मेवारी नदिइएको हो ?
कतिपयले भने यसलाई लोकप्रियताका लागि गरिएको घोषणा मात्र भएको आरोप लगाएका छन्। सुरुमा जनताको ध्यान तान्न घोषणा गर्ने तर पछि व्यवहारमा नउतार्ने प्रवृत्ति स्थानीय तहमा बढ्दै गएको भन्दै आलोचना हुने गरेकाे छ ।
गाउँपालिकामा सुशासनको नारा दिँदै आएका अध्यक्ष बुढाको यो कदमले प्रशासनिक व्यवस्थापन माथि पनि प्रश्न उठ्ने देखिन्छ । कर्मचारीहरू भन्छन् , नीति बनाउने र पालना गराउने जिम्मेवारी नेतृत्वकै हुन्छ । तर नेतृत्वले नै नियम उल्लंघन गर्न थाले पछि पालिका भित्र अनुशासन कायम गर्न गाह्रो हुन्छ ।
यस विषयमा अध्यक्ष बुढाको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन । तर गाउँपालिका भित्र बढ्दो आलोचना र प्रश्नबीच उनले अब के स्पष्टीकरण दिने हुन् भन्ने चासो बढेको छ ।
स्थानीय नागरिक र कर्मचारीहरूले भने स्पष्ट जवाफ माग्ने बेला आएकाे छ । घोषणा किन गरियो ? र अहिले किन तोडियो ?
गुठिचौर गाउँपालिकामा अहिले यिनै प्रश्नहरू घुमिरहेका छन् । सुशासनको नारा दिएर सुरु गरिएको अभियान व्यवहारमै टिक्न नसक्दा अध्यक्ष बुढा आलोचनाको केन्द्रमा पुग्ने निश्चित देखिएको छ । अब उनी आफ्नो निर्णयबारे स्पष्ट जवाफ दिन्छन् कि चुपचाप अघि बढ्छन्, त्यो हेर्न बाँकी छ।





