जुम्ला । माध्यमिक शिक्षा परीक्षा (एसईई) जस्तो संवेदनशील र राष्ट्रिय स्तरको परीक्षामै जुम्लाको दुर्गा माध्यमिक बिद्यालय लाम्रा परीक्षा केन्द्रबाट चकित पार्ने र गम्भीर लापरवाहीको घटना बाहिरिएको छ।

परीक्षा सुरु भएकै पहिलो दिन अंग्रेजी विषयको उत्तरपुस्तिका गायब हुनु र त्यसपछि देखिएको गतिविधिले परीक्षा प्रणालीकै विश्वसनीयता माथि ठाडो प्रश्न उठाएको छ ।
चैत १९ गते सञ्चालन भएको परीक्षामा सिम्बल नम्बर ०६३००५१५ (m) भएकी एक छात्राले नियमित रूपमा परीक्षा दिएको बताइन् । परीक्षा कक्षमा गार्डका रूपमा खटिएकी शिक्षिका हरिदेवी रावलको उपस्थितिमै परीक्षा सम्पन्न भएको थियो ।
तर, जब उत्तरपुस्तिका संकलन र गणना गरियो एकाएक एउटा कापी हराएको देखियो । यहाँबाट सुरु भयो शंकास्पद घटनाक्रम ।
उत्तरपुस्तिका नदेखिए पछि ती छात्रालाई घरबाट पुनः बोलाइएको स्रोतले जनाएको छ। अझ चकित पार्ने कुरा केन्द्राध्यक्षकै उपस्थितिमा शिक्षक टेक बहादुर रोकायाको संलग्नतामा छात्रालाई बन्द कोठामा राखेर पुनः उत्तर लेख्न लगाइएको गम्भीर आरोप सार्वजनिक भएको छ ।
विद्यालयकै कार्यालय सहयोगी सुर हमालले समेत पहिले कापी नभेटिए पछि विद्यार्थीलाई बोलाएर लेख्न लगाइयो, पछि कापी भेटिएको भनियो भन्दै घटनालाई पुष्टि गर्ने खालको अभिव्यक्ति दिएका छन् ।
अर्को एक परीक्षार्थीले त झन् डरकै कारण नाम गोप्य राख्दै भने, ढोका बन्द गरेर फेरि लेख्न लगाइएको थियो, पछि पुरानै कापी भेटियो भनियो हामीले विरोध गर्न सक्ने अवस्था नरहेकाे बताए ।
तर, गार्ड शिक्षिका हरिदेवी रावल भने आरोप बाट पन्छिन खोज्दै भन्छिन्, कापी हराएको होइन, पछि अन्य कापी सँगै स्टिच गरिएको अवस्थामा भेटिएकाे दाबि गरेकि छन् । उनको दाबीले झन् प्रश्नहरू थपेको छ, यदि कापी स्टिच भएरै भेटिएको हो भने किन विद्यार्थीलाई पुनः बोलाइयो ?
केन्द्राध्यक्ष मुकुन्द शर्मा सँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कविहीन छन्, जसले घटनालाई अझ शंकास्पद बनाएको छ । घटनाले जिल्ला प्रशासन देखि शिक्षा निकाय सम्म तरंग पैदा गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश अन्जानले छानबिन गरेर दोषी माथि कारबाही गर्ने बताएका छन् । एता प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पनि घटनाबारे बुझ्ने प्रतिक्रिया दिएका छन् ।
प्रहरीकै उपस्थितिमा परीक्षा केन्द्र भित्रै यस्तो गतिविधि कसरी सम्भव भयो ? किन उत्तरपुस्तिका गायब भयो ? कसको दबाबमा पुनः लेख्न लगाइयो ? र पछि अचानक भेटिएको भनिएको कापीको वास्तविकता के हो ?
निष्पक्ष र मर्यादित हुनुपर्ने एसईई जस्तो परीक्षामा देखिएको यस्तो घटनाले अब केवल शंका मात्र होइन, प्रणालीमै विश्वासको संकट खडा गरेको छ। अब हेर्न बाँकी छ, सत्य बाहिर आउँछ कि फेरि एकपटक जिम्मेवार निकायहरूकै संरक्षणमा दबाइन्छ।





