जब सत्ताको घोडा
शक्तिको उन्मादमा
कुल्चिँदै दौडिन्छ गरिबको छाती
र त्यसको टापको त्रासले
एकाएक हराउँछ जब
सपना, श्वास र सन्तानको भविष्य।

रात एक भय बनेर
जब निमुखाका आँखाहरू
आफ्नै आँशुसँग डराएर
अचानक मौनतामा परिणत हुन्छन्
र हराउँछन् ती अक्षरहरू कापीका ती पानाबाट
जुन लेखिएका थिए
सर्वहाराका सन्तानका हातले ।
सहरका हिलाम्मे ती गल्लीहरूमा
सङ्घर्ष गर्दा गर्दै घिस्रिएका
एउटा मजदुरको झुपडीबाट
हराउछ उसको जुत्ता
र त्यससँगै हराउँछ
उसको हिँड्ने गाेरेटेाका गन्तव्य पनि।
जब शासकका सनकमा पुरिन्छन्
बिरामीका औषधि
र सुत्केरी आमाको चिसो छातीबाट
अचानक रसाउन छाड्छन् दूधका धारा।
दुधे बालकको ओठबाट
एक्कासि हराउँछ मुस्कान
किनकि उसको खेलौना
कुनै सनकमा डुबेको शासकले
यतिखेर पुरिदिएको छ माटोमुनि।
विद्यालय भर्ना अभियानका पोस्टरहरू गिज्याउँदै टाँसिएका छन्
भत्किएका ति भित्तामा
ती बालबालिकाका आँखाले
यतिखेर किताब होइन
धुलो र धुवाँ सँगै
भोगी रहेका छन्
एउटा शासकको सनक
यदि कसैले सोध्यो भने
कस्तो छ देशको अनुहार? भनेर
यति खेर उनीहरू सायद चुप लाग्नेछन्
किनकि सरकारले जवर जस्ती
उनिहरूका सपनामा बुट बजारेपछि
यतिखेर उनीहरू निःशब्द छन्।
हरेक इतिहासले भन्छ
यो दमन पहिलो पटक होइन
क्रूरता सधैँ दोहोरिन्छ
बदलिन्छ त केबल कुनै अर्को नाम र अर्को अनुहारमात्रै
तर इतिहास यस्को साक्षी छ
हरेक अन्यायको अन्त्य गर्ने
त्यो समय नै
शासकको निम्ति
सबैभन्दा कठोर न्यायाधीश हो।
त्यही बस्तीमा
जहाँ डरले श्वास रोकिन्छ
र एउटा जीवन डोरीमा झुन्डिन्छ
त्यसैबेला राज्य बुट बजार्दै
शान्ति र मानसिक सु- स्वास्थ्यका नारा घन्काउँदा
भन्दैछन् श्रमजीवीका ती आँखाहरूले शासकको त्यो अनुहार
यति कुरूप किन देखिन्छ?
गर्भ भित्रको शिशु
यतिखेर गर्भाशयबाट भनी रहेछ
मलाई जन्मिनु अघि नै
सरकारदेखि डर लागेको छ।
जब भविष्यका ती आँखामा
यदि त्रास र माैन विद्रेाहकाे
बिज छ भने
बुझ्नु
सरकार त्यस आँखामा
तिम्रा अन्यायविरुद्ध
उठ्न बाँकी रहेको
सुनामी अझै जीवित छन् भनेर।
ओ शासक
के तिमीले देख्यैा
उनिहरूका आँखामा
म यति खेर विद्रोहका निम्ति
तिमीले माटोमुनि पुरिदिएका
त्यहीँ विद्रोहका बीज देख्दै छु।





