मुगु जिल्ला खत्याड गाउँपालिका – ११ को रातापानी लुई पुग्ने बित्तिकै मैले सुनेको पहिलो आवाज यही थियो । गीत गाइरहनुभएका थिए ७० वर्षीय भीमबहादुर कार्की । स्वर उमेरले केही थाकेको थियो, तर सम्झनाले होइन । गीत सकिए पछि उहाँ केहीबेर गाउँ माथिको पहाडतिर हेरेर मौन बस्नुभयो । अनुहारमा मुस्कान थिएन, गुनासो पनि थिएन । थियो त केवल धेरै वर्षदेखि मनभित्र थन्किएको एउटा इतिहास ।
त्यो गीत कुनै सांगीतिक प्रस्तुति थिएन । त्यो एउटा गाउँको आत्मकथा थियो ।
जिल्ला सदरमुकाम गमगढी देखि खत्याडतर्फ झर्दै गर्दा सडकले कर्णालीको बदलिँदो अनुहार देखाउँछ । केही वर्ष अघि सम्म दिनौ लाग्ने यात्रा अहिले केही घण्टामै पूरा हुन्छ । सडकसँगै बजार पुगेको छ, गाडी पुगेका छन्, बिजुली पुगेको छ, मोबाइलको सिग्नल पनि कहिले काहीँ समातिन्छ ।
तर सडकले सबै ठाउँमा समान परिवर्तन ल्याएको छैन ।
रातापानी–लुई पुग्दा मध्याह्नको घाम चर्किएको थियो । पहाडका काखमा स साना घरहरू एकअर्काको सहारामा उभिएका थिए । माथिबाट हेर्दा गाउँ निकै मिलेको देखिन्थ्यो । बस्ती भन्दा पहिले आँखा तानेको थियो विद्यालयले । सफा परिसर, रंगीन भित्तेचित्र, बालबालिकाका लागि बनाइएका खेल सामग्री, फूलबारी र वरिपरि हरियाली बाताबरण ।
क्षणभरमै लाग्यो कर्णालीको कुनै दुर्गम गाउँ होइन, शहर नजिकको कुनै नमूना विद्यालयमा आइपुगेको छु ।
मैले केही तस्वीर खिचे । सामाजिक सञ्जालमा राखे । बाहिरबाट हेर्दा यो गाउँ विकासको एउटा सानो सफल कथा जस्तै देखिन्थ्यो तर त्यो त केवल बाहिरी दृश्य थियो ।
विद्यालयबाट तल झर्ने ढुंगे सिँढी पार गरे झोलुङ्गे पुल तरे । खेतका आली हुँदै गाउँभित्र पसे । गाउँको बीचमा विशाल सिमलको रुख रहेको छ । त्यसको छहारीमा पाँच जना वृद्ध बुवाहरु गफ गरिरहेका थिए ।
म नजिक गएँ ।
नमस्कार, उहाँहरूले पनि मुस्कुराउँदै नमस्कार फर्काउनुभयो ।
कहाँ बाट आउनुभएको बाबु एकजना वृद्धले सोध्नुभयो ।
मैले आफ्नो परिचय दिएँ । खाद्य सुरक्षा तथा जीविकोपार्जन सम्बन्धी अध्ययनका लागि आएको बताए । उद्देश्य पनि सुनाए ।
उहाँहरूले ध्यान दिएर सुन्नुभयो । त्यसपछि मैले सामान्य प्रश्न सोधे ।
गाउँको अवस्था कस्तो छ ?
उत्तरमा फेरि त्यही गीत सुनियो ।
पिनी खाने घट्ट लैगो, भात खाने खेत गैगो……..
यस पटक गीत सकिँदा मैले बुझिसकेको थिएँ । यो गीत मनोरञ्जनका लागि होइन, सम्झनाका लागि गाइन्छ ।
लुई गाउँ पहिलो नजरमै सम्पन्न देखिन्छ ।
घर वरिपरिका बारीमा आँप, अम्बा, कागती र भोगटेका रूखहरू लटरम्म फलेका छन् । चारवटा प्राकृतिक मुहानबाट बग्ने चिसो पानीले गर्मीलाई पनि सहज बनाइदिन्छ । पहाडको काखमा फैलिएको यो बस्ती प्रकृतिले कन्जुस्याइँ नगरेको ठाउँ हो । तर केहीबेर गाउँ घुमेपछि एउटा अनौठो कुरा महसुस हुन्छ ।
गाउँमा असाध्यै शान्ति छ ।
त्यो शान्ति प्राकृतिक होइन ।
मानिसको अभावले बनेको शान्ति हो ।
घरहरू छन, आँगन छन, गोठ छन तर धेरै घरका ढोकामा ताला झुन्डिएको छ । कतै वृद्ध आमाबुबा घाम तापिरहेका छन । कतै नातिनातिना खेलिरहेका छन । तर खेत जोत्ने उमेरका युवा भने भेटिँदैनन् ।
सिमलको रुखमुनि बसेका ८४ वर्षीय सुकधन रावतलाई मैले सोधेँ
गाउँमा युवाहरू किन देखिँदैनन् ?
उहाँले टाढाको बाटोतिर हेर्नुभयो । केहीबेर केही बोल्नुभएन अनि विस्तारै भन्नुभयो ।
पहिले हामी दुःख गर्थ्यौं । अहिले हाम्रा छोराहरू दुःख गरिरहेका छन । फरक यत्ति हो हामी गाउँमै दुःख गर्थ्यौं, उनीहरू परदेशमा दुःख गरिरहेका छन ।
त्यो वाक्यमा धेरै व्याख्या आवश्यक थिएन ।
गाउँमा २६२ घरधुरी छन तर स्थानीयका अनुसार ६० जनाभन्दा बढी युवा गाउँमै भेटिन मुस्किल छ । कोही भारतमा छन , कोही जापानमा , कोही खाडीमा, केही नेपालकै शहरहरूमा मजदुरी गरिरहेका छन ।
बाँकी छन बालबालिका र वृद्धहरू
७३ वर्षीय पर्वते वड हाँस्ने प्रयास गर्नहुन्छ तर त्यो हाँसो लामो टिक्दैन । बुढाबुढी बिरामी हुँदा अस्पताल पुर्याउने मान्छे नै पाइँदैन । अहिले गाउँ भनेको हामी बूढाबूढी र केटाकेटी मात्रै हो । उहाँको कुरा सुन्दै गर्दा गाउँमाथिको बाटोबाट एउटा मोटरसाइकल गुड्यो । धुलो उडाउँदै त्यो केही क्षणमै आँखाबाट हरायो ,सडक आएको छ । तर सडकले मानिस ल्याएको भन्दा धेरै मानिस लगेको रहेछ भन्ने अनुभूति त्यही क्षण भयो । पहिले नुन ल्याउने बाटो, अहिले मान्छे लैजाने सडक । सिमलको रुखमुनिको गफ विस्तारै गहिरिँदै गयो । म प्रश्न सोधिरहेको थिएँ तर केही बेरपछि लाग्न थाल्यो अब प्रश्न मैले होइन गाउँलेहरूले मलाई सोधिरहेका छन । उनीहरूका अनुहारमा एउटै जिज्ञासा थियो, हाम्रो कथा कतै पुग्ला त ?
७३ वर्षीय पर्वते वडले एकछिन चुप लागेर बाटोतिर हेर्नुभयो । त्यही बेला एउटा बोलेरो गाडी गाउँतिर उक्लियो गाडीको पछाडि चामल, तेल, ग्यास, र दैनिक उपभोगका सामान थिए ।
उहाँले मुस्कुराउँदै भन्नुभयो हामी जवान हुँदा यति सामान ल्याउन एक हप्ता लाग्थ्यो बाबु ।
उहाँको स्मृतिमा सडक थिएन । थियो त पैदल गोरेटो ।
डोटीको दिपायल, अछामको साफेबगर, सुर्खेत वा नेपालगञ्जबाट नुन, चामल र लत्ताकपडा बोकेर फर्किनुपर्थ्यो । एक जना मानिसले ३०–४० किलोको भारी बोकेर उकालो चढ्नु सामान्य कुरा थियो । यात्रामा हिँड्ने दिन निश्चित हुँदैनथ्यो । मौसमले साथ दिए एक हप्ता, नदिए दुई हप्ता ।
नुन सकियो भने सबैभन्दा ठूलो चिन्ता त्यही हुन्थ्यो भीमबहादुर कार्की सम्झनुहुन्छ अरू खानेकुरा गाउँमै हुन्थ्यो तर नुन किनेरै ल्याउनुपर्थ्यो ।
आज त्यो समय बदलिएको छ । नेपाल सरकारले कर्णालीका दुर्गम जिल्लामा अनुदानमा उपलब्ध गराउने नुन ट्रक चढेर गाउँ नजिकै आइपुग्छ । स्थानीय पसलेहरूले सहजै बिक्री गर्छन । सडकले बजारलाई गाउँ सम्म ल्याइदिएको छ तर विकासको यही कथामा अर्को पाटो पनि छ ।
भीमबहादुर कार्की फेरि हाँस्नुहुन्छ । पहिले नुन ल्याउँथ्यौ उहाँ भन्नुहुन्छ, अहिले नुन पठाउँछौ ।
सबैजना हाँस्छन् तर त्यो हाँसो धेरैबेर टिक्दैन ।
किनभने त्यो वाक्यको दोस्रो अर्थ अझ गहिरो छ । आज गाउँका छोराछोरी सुर्खेत, नेपालगञ्ज, धनगढी, काठमाडौं, जापान, मलेसिया, कतार र भारतमा छन । उनीहरूलाई गाउँबाट सिमी, गहत, फापर, आलु, सुकुटी र नुन पठाइन्छ ।
एक समय नुन गाउँ ल्याउने बाटो थियो । आज त्यही सडक गाउँका मान्छेलाई बाहिर लैजाने बाटो बनेको छ ।
हाम्रो घर कहाँ हो ?
५२ वर्षीय रामु कार्कीले आफैं प्रश्न गर्नुभयो नेपालमा कि भारतमा ?
उहाँ आफैं हाँस्नुभयो । कमाउने ठाउँ भारत, किनमेल भारत, बिरामी भए भारत, काम पाए भारत त्यसैले कहिलेकाहीँ लाग्छ हाम्रो अर्को घर नै भारत हो ।
कर्णालीका धेरै गाउँको अर्थतन्त्र दशकौ देखि भारत सँग जोडिएको छ । खेतीपातीले वर्ष भरि खान पुग्दैन नगद आम्दानीको स्रोत छैन, त्यसैले प्रत्येक वर्ष हजारौँ युवा भारतका विभिन्न सहरमा मौसमी रोजगारीका लागि जान्छन । लुई गाउँ पनि त्यसको अपवाद रहेन । यहाँ भारत जानुलाई विदेश जानु जस्तो मानिँदैन ।
घरबाट बजार गएजस्तै हो एक वृद्धले भन्नुभयो, कममा चार महिना देखि बर्ष दिनमा कमाएर फर्किन्छौँ । तर पछिल्ला केही वर्षमा भारतको ठाउँ मलेशिया , कुबेत साउदी जापान लगाएतले पनि लिन थालेका छन ।
जग्गा बेचेर, ऋण काढेर, सहकारीबाट पैसा लिएर युवाहरू ति देश पुगेका छन ।
गाउँका घरहरू अहिले दुई भागमा बाँडिएका छन् । एउटा घरमा वृद्ध आमाबुबा, अर्को घरमा विदेश गएका छोराको ताला ।
म गाउँ डुल्दै थिएँ ।
धेरै घर सफा थिए आँगन बुहारीले भर्खरै बढारे जस्तो देखिन्थ्यो तर मान्छेहरु थिएनन् ।
कतै एकजना हजुरआमा एक्लै कोदो सुकाउँदै हुनुहुन्थ्यो ।
कतै एक वृद्ध गोरुका लागि घाँस काट्दै हुनुहुन्थ्यो ।
बालबालिका विद्यालय बाट फर्केर आफ्नै खेलमा रमाइरहेका थिए ।
युवाको आवाज भने कतै सुनिँदैनथ्यो , मलाई लाग्यो गाउँ खाली हुँदा आवाज पनि बदलिँदो रहेछ ।
यहाँ पहिले मेलापातका गीत गुञ्जन्थे होला , अहिले मोबाइलमा आउने फोनको रिङटोन धेरै सुनिन्छ ।
बाबु विकास त भएको छ । ८० वर्ष नाघेका अर्का एक वृद्धले कुरा जोड्नुभयो । पहिले बिजुली थिएन, अहिले छ । सडक थिएन , अहिले छ , फोन पनि चल्छ । त्यसपछि उहाँ केहीबेर मौन हुनुभयो ।
तर यि सबै हेर्ने मान्छे गाउँमा छैनन ।
कसैले प्रतिवाद गरेन त्यहाँ उपस्थित सबैले त्यो सत्य स्वीकार गरिसकेका थिए ।
त्यही बेला मैले गाउँको जनसांख्यिको हिसाब टिप्न थाले ।
२६२ घरधुरी तर गाउँमा स्थायी रूपमा बस्ने युवा निकै कम । अधिकांश घरको मुख्य आम्दानी वैदेशिक रोजगारी ।
कृषिबाट उत्पादन घट्दो, मौसमी बसाइँसराइ अझै कायम, वृद्धहरूको संख्या बढ्दो । यी तथ्याङ्क मैले कागजमा टिपिरहेको थिएँ तर त्यही तथ्याङ्क मेरो अगाडि मानिस बनेर बसेका थिए । विकासका सूचकहरू बढेका थिए तर गाउँको धड्कन भने घटिरहेको थियो । सायद यही कर्णालीको सबैभन्दा ठूलो विरोधाभास हो ।
यहाँ सडक आयो , बिजुली आयो , नुन आयो तर मान्छे गयो ।
गाउँलेहरूले विकास पाए तर गाउँले गाउँ गुमाउँदै गए ।
तपाईं खाद्य सुरक्षाको कुरा गर्न आउनुभएको हो ? सिमलको रुखमुनि बसेका भीमबहादुर कार्कीले सोध्नुभयो । मैले टाउको हल्लाएँ । उहाँले वरिपरि बसेका अरू वृद्धहरू तिर हेर्नुभयो । कसैले केही भनेन केही क्षण मौनता छायो । त्यस पछि ८४ वर्षीय सुकधन रावतले विस्तारै बोल्नुभयो , खाद्य सुरक्षाको कुरा गर्नुभएको छ भने पहिले हाम्रो खेत हेर्न जानुपर्छ ।
त्यो निमन्त्रणा थिएन ।
त्यो एउटा साक्षी बन्ने आग्रह थियो । गाउँबाट तल झर्दै हामी खत्याड खोला तर्फ लाग्यौ बाटोभरि कसैले धेरै कुरा गरेन हिँड्दै जाँदा बीच–बीचमा उनीहरू कुनै ठाउँ देखाउँदै भन्थे ।
यहाँ धान रोप्ने गरिन्थ्यो , केही पर पुगेर अर्कोले थप्थ्यो ।
त्यहाँ घट्ट थियो ।
तर मैले जहाँ उनीहरूले औँल्याए त्यहाँ खेत देखिनँ, घट्ट पनि देखिनँ । देखियो त केवल ढुङ्गा, गिट्टी र बालुवाले ढाकिएको एउटा विशाल फैलावट । एकछिन त मलाई विश्वास नै लागेन यही ठाउँ कुनै बेला खेतीयोग्य जमिन थियो ।
भीमबहादुर कार्कीले मेरो अनुहार पढिसक्नु भएको रहेछ ।
पत्याउन गाह्रो हुन्छ है उहाँले भन्नुभयो । हामीलाई पनि सुरुका दिनमा पत्याउन गाह्रो भएको थियो ।
२०७९ साल असोज २२ गते त्यो मिति गाउँका सबै मानिसलाई कण्ठस्थ छ ।
त्यस अघिका सात दिन सम्म लगातार पानी परेको थियो । सुरुमा कसैले खासै चिन्ता गरेन । कर्णालीमा वर्षा नयाँ कुरा थिएन तर चौथो दिनपछि खोला बदलिन थाल्यो , पाँचौँ दिन पानीको रंग फेरियो , छैटौँ दिन रातभरि गर्जन सुनियो , सातौँ दिन बिहान गाउँलेहरूले देखेको दृश्य उनीहरूले जीवनभर बिर्सन सकेका छैनन् ।
खत्याड खोला आफ्नो पुरानो धार छोडेर खेततिर पस्यो । मिनेटौंमै पानीले धानबाली उखेलेर बगाउन थाल्यो नदी किनारका पिसानी घट्टहरू भत्किए , खेतका आलीहरू मेटिए, कतै ठूलो चट्टान आएर थामियो , कतै बालुवाले पूरै खेत पुरियो ।
पानी रोकिएपछि खेत खोज्न गयौ सुकधन रावत सम्झनुहुन्छ तर खेत भेटिएन । उहाँको यो वाक्य सुन्दा साहित्यिक अतिशयोक्ति जस्तो लाग्न सक्छ ।
तर त्यो दिन खेत साँच्चै भेटिएको थिएन किनभने खेतको ठाउँमा नदीले आफ्नो नयाँ भूगोल बनाइसकेको थियो ।
गाउँका पुराना पिसानी घट्टहरू पनि त्यही बाढीले बगायो ।
लुईका मानिसहरूका लागि घट्ट केवल अन्न पिस्ने ठाउँ थिएन त्यो गाउँको दैनिक जीवनको एउटा केन्द्र थियो । बिहान महिलाहरू त्यहाँ भेटिन्थे । किसानहरू खेतीका कुरा गर्थे । बालबालिकाहरू खेल्थे ।
बाढीले त्यो ठाउँ पनि सँगै लग्यो । त्यसपछि गाउँलेहरूलाई पिठो पिस्न तीन – चार घण्टाको उकालो चढेर अर्को गाउँ नखर्जि जानुपर्यो ।
गहुँ थिएन भन्ने होइन, भीमबहादुर कार्की भन्नुहुन्छ तर पिस्ने ठाउँ थिएन ।
बाढीले खेत मात्रै लगेन, चरन पनि लग्यो । गाईगोरु चराउने मैदान दलदलमा परिणत भयो । हप्तौँ सम्म गाईवस्तु गोठमै थुनिए पछि गाउँलेहरूले जंगलबाट रूख काटेर दलदल माथि ओछ्याए त्यसपछि बल्ल गाईवस्तु जंगल लैजान सकियो । त्यस्तो दुःख हामीले पहिले देखेका थिएनौ, पर्वते वड सम्झनुहुन्छ ।
बाढी रोकियो , प्रहरी आयो , क्षतिको मुचुल्का बन्यो , जिल्लाबाट अनुगमन टोली पनि आयो । गाउँलेहरूले सोचे अब केही होला तर त्यसपछि समय बित्दै गयो ।
दिन महिना भए, महिना वर्ष भए । आज पाँच वर्ष नजिक पुग्दा पनि उनीहरूको सम्झनामा एउटा कुरा बारम्बार आउँछ ।
सबैले हेरे, कसैले छोएन ।
सरकारी कागजमा क्षति दर्ता भयो ।
तर खेतमा ढुङ्गा नै रह्यो ।
मैले एउटा ठाउँमा उभिएर निकै बेर वरिपरि हेरे । त्यहाँ कुनै खेतको आकार बाँकी थिएन ।
न आली ।
न सिँचाइको कुलो ।
न धान रोप्ने समथर जमिन ।
केवल नदीले छाडेर गएको गिट्टी, बालुवा र ठूलो ढुङ्गा ।
त्यही बेला भीमबहादुर कार्कीले खुट्टाले एउटा ठाउँ देखाउनुभयो । यहीँ हाम्रो परिवारको सबैभन्दा राम्रो खेत थियो । म केही बोल्न सकिनँ ।
अनुसन्धानकर्ताका रूपमा मैले धेरै विपद् प्रभावित बस्ती देखेको थिएँ । तर कागजमा ३० रोपनी क्षति भनेर लेख्न सकिने कुरा, आँखाले देख्दा कति ठूलो हुन्छ भन्ने त्यही दिन महसुस भयो ।
बाढी पछि अर्को समस्या सुरु भयो मौसम ।
कहिले लामो खडेरी ।
कहिले असिनापानी , कहिले हुरी ।
पहिले समयमै पानी पर्ने ठाउँमा अहिले रोपाइँको समय नै अनिश्चित हुन थालेको छ ।
फलफूलमा बाँदर र दुम्सीको आक्रमण बढेको छ । पानीका मुहान सुक्दै गएका छन ।
उत्पादन घट्दै गएको छ ।
पहिले खेतले हामीलाई धोका दिँदैनथ्यो, एक वृद्ध किसानले भन्नुभयो, अहिले मौसमले पनि धोका दिन्छ ।
त्यो वाक्यमा जलवायु परिवर्तनको सबैभन्दा सरल परिभाषा लुकेको थियो । म खाद्य सुरक्षाको सूचकहरू टिपिरहेको थिएँ । घरधुरी संख्या , अन्न उत्पादन, आयका स्रोत, खाद्यान्न पुग्ने महिना तर त्यो दिन एउटा कुरा स्पष्ट भयो ।

खाद्य असुरक्षा केवल अन्नको अभाव होइन ।
जब खेत नदी बन्छ, जब पानीको मुहान सुक्छ,
जब युवा गाउँ छोड्छ र जब वृद्धहरूले आफ्नै खेत देखाएर भन्नुहुन्छ यहाँ खेत थियो । त्यसपछि खाद्य सुरक्षाको प्रश्न केवल कृषि वा उत्पादनको प्रश्न रहँदैन ।
त्यो न्याय, पुनःस्थापना, जलवायु र राज्यको उपस्थितिको प्रश्न बन्छ ।
खेतबाट फर्किंदा साँझ पर्न थालेको थियो ।
पहाडको घाम छिट्टै ओझेल पर्छ । सिमलको रुखको छायाँ गाउँ भरि फैलिन थालेको थियो । बिहान भेटिएका ती वृद्धहरू फेरि त्यहीँ थिए । कसैको हातमा लठ्ठी थियो कसैले सुर्ती मोलिरहेका थिए । उनीहरू दिनभरि धेरै हिँड्न सक्दैनन । चौतारी नै उनीहरूको संसार बनेको छ ।
म सँग अब प्रश्नावलीका अधिकांश पाना भरिइसकेका थिए । खाद्य उत्पादन, आम्दानीका स्रोत, विपद्को असर, बसाइँसराइ, पोषण, पशुपालन सबै शीर्षक अन्तर्गत आवश्यक विवरण टिपिएको थियो ।
तर कागजमा नअट्ने केही कुरा अझै बाँकी थिए ।
त्यो थियो आशा ।
अब केही हुन्छ त बाबु ७० वर्ष नाघेका एक वृद्धले सहज रूपमा सोध्नुभयो ।
त्यो प्रश्न मलाई होइन, सायद राज्यलाई गरिएको थियो तर त्यो क्षण राज्यको प्रतिनिधि उनीहरूको नजरमा म नै थिएँ ।
मैले केहीबेर मौन बसेर उत्तर दिएँ ।
म यहाँको अवस्था बुझ्न आएको अनुसन्धानकर्ता हुँ । मैले देखेको, सुनेको र सिकेको कुरा प्रतिवेदनमा लेख्नेछु तर सहयोग गर्ने निर्णय गर्ने निकाय म होइन ।
मलाई थाहा थियो त्यो उत्तर उनीहरूले सुन्न चाहेको उत्तर थिएन तर झुटो आश्वासन दिनुभन्दा सत्य बोल्नु नै उचित लाग्यो ।
एक वृद्धले मुस्कुराउँदै भन्नुभयो, हामीले धेरै मान्छे देख्यौ बाबु कोही लेखेर गए, कोही फोटो खिचेर गए अहिले तपाईं पनि जानुहुन्छ ।
उहाँको स्वरमा आक्रोश थिएन बरु लामो प्रतीक्षाले जन्माएको थकान थियो ।
लुई गाउँको अर्को विशेषता बुझ्न मैले केही घर पनि अवलोकन गरे । एउटै परिवारका तीन तीनवटा घर, कतै चार , कतै पाँच
पहिलो पटक सुन्दा यो विलासिता जस्तो लाग्न सक्छ ।
तर यो हिमाली जीवनको आवश्यकता रहेछ ।
असार – साउनमा लुई ।
भदौ – असोजमा गोठीलेक ।
वर्षका बाँकी महिना रातापानी ।
मौसम सँगै बसाइँ सर्ने परम्परा पुस्तौँ देखि चल्दै आएको रहेछ ।
२०३७ सालमा रातापानीमा विद्यालय स्थापना भएपछि बालबालिकाको पढाइ सहज बनाउन धेरै परिवार तल सरे तर माथिको घर छोडेनन् । गोठ, बारी, चरन र खेतीसँग जोडिएको जीवन एउटै ठाउँमा अट्ने खालको थिएन ।
यो बसाइँसराइ आधुनिक रोजाइ होइन, प्रकृतिसँग मिलेर बाँच्ने जीवनशैली थियो । तर अहिले त्यो चक्र पनि फेरिँदै गएको छ ।
माथिका घरमा ताला लागेको छ ।
तलका घरमा वृद्ध आमाबुबा मात्रै छन र युवाहरू हजारौं किलोमिटर टाढा छन ।
अर्को बिहान गाउँ छोड्ने बेला भयो ।
गाडी आउने समय निश्चित हुँदैन यात्रु भरिएपछि मात्रै गाडी छुट्छ ।
स्थानीयहरूका लागि यो सामान्य कुरा हो ।
मेरो झोला तयार थियो । नोटबुक भरिएको थियो । माेबाइलमा सयौँ तस्बिर थिए तर मन भने खाली थियो ।
गाडी चढ्नु अघि भीमबहादुर कार्की फेरि भेटिनुभयो । फेरि आउनुहोला, उहाँले भन्नुभयो ।
मैले मुस्कुराउँदै हुन्छ भन्दै हात मिलाएँ ।
गाडी अघि बढ्न लाग्दा उहाँ फेरि त्यही गीत गुनगुनाउन थाल्नुभयो
पिनी खाने घट्ट लैगो, भात खाने खेत गैगो
यसपटक त्यो गीत पूरा सुन्न पाइएन ।
गाडी मोड काट्दै अगाडि बढ्यो ।
तर गीत धेरैबेर सम्म कानमा गुञ्जिरह्यो ।
फर्किने बाटोमा मैले बारम्बार एउटै कुरा सोचिरहेँ । लुई गाउँमा सडक पुगेको छ । बिजुली पुगेको छ । मोबाइल नेटवर्क पुगेको छ । विद्यालय पुगेको छ । नुन सहजै पुग्छ । यी सबै विकासका सूचक हुन् ।
तर त्यही गाउँमा खेत नदीले बगाएको छ । युवा रोजगारी खोज्दै गाउँ छोडेका छन ।
वृद्धहरू अस्पताल पुर्याउने मान्छे खोजिरहेका छन ।
जलवायु परिवर्तनले खेतीको भरोसा खोस्दै लगेको छ ।
विकासको एउटा अनुहार चम्किलो छ । अर्को अनुहार भने धुलाम्मे छ ।
लुई केवल एउटा गाउँ होइन यो कर्णालीका सयौँ गाउँको प्रतिनिधि कथा हो ।
जहाँ सडक पुगेको छ, तर अवसर पुगेको छैन ।
जहाँ विद्यालय बनेको छ, तर शिक्षित पुस्ता गाउँमा अडिएको छैन ।
जहाँ विपद्पछि क्षतिको मुचुल्का त बन्छ, तर पुनःस्थापना वर्षौँसम्म पर्खाइमै रहन्छ ।
जहाँ विकासका सूचकाङ्क सुधारिएका छन्, तर जीवनको गुणस्तर अझै अनिश्चित छ ।
खाद्य सुरक्षा केवल अन्नको उपलब्धताको विषय होइन ।
यो जमिनको सुरक्षा पनि हो । पानीको सुरक्षा पनि हो । रोजगारीको सुरक्षा पनि हो । जलवायुको सुरक्षा पनि हो ।
र सबैभन्दा महत्वपूर्ण मानिस आफ्नै गाउँमा सम्मानपूर्वक बाँच्न सक्ने वातावरणको सुरक्षा पनि हो ।
खत्याडको लुईबाट फर्किएपछि पनि भीमबहादुर कार्कीको गीत बारम्बार सम्झना आउँछ ।
पहिले नुन ल्याउँथ्यौ, अहिले नुन पठाउँछौ ।
यो एउटा वाक्यमा दुई पुस्ताको इतिहास अटाएको छ ।
एउटा पुस्ताले अभाव सँग लड्दै बाटो बनायो । अर्को पुस्ताले त्यही बाटो समातेर गाउँ छोड्यो ।
सायद अब कर्णालीले अर्को गीत लेख्नुपर्ने बेला आएको छ ।
त्यो गीत न बगेका खेतको होस, न रित्तिएका गाउँको ।
त्यो गीत आफ्नै गाउँमा भविष्य देख्न सक्ने पुस्ताको होस् ।
त्यस दिन भीमबहादुर कार्कीले गाउने भाका पनि सायद फेरिनेछ ।





