जुम्ला । कर्णालीको जनजीवन, संघर्ष, पीडा, आशा र सम्भावना लाई कलात्मक ढंगले प्रस्तुत गरिएको म्युजिक भिडियो ‘कर्णाली तिर’ शनिबार एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

कर्णालीको वास्तविक कथा र सामाजिक परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको उक्त म्युजिक भिडियोले यहाँका नागरिकले दशकौ देखि भोग्दै आएका कठिनाइ, अभाव र सपनाहरूलाई जीवन्त रूपमा उजागर गरेको छ ।
विमोचन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, साहित्यकार तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले ‘कर्णाली तिर’ केवल मनोरञ्जनका लागि निर्माण गरिएको सांगीतिक प्रस्तुति नभई कर्णालीको वास्तविकता बोल्ने सामाजिक दस्तावेजका रूपमा रहेको बताएका छन् ।
म्युजिक भिडियोमा अर्जुन सुनार र समाना घतानेको सुमधुर स्वर रहेको छ भने यसको कथा राजेश विश्वकर्माले लेखेका छन् । भिडियोको निर्देशन युवा निर्देशक आयूष शाहीले गरेका छन् ।
भिडियोमा अर्जुन सुनार र राज्यलक्ष्मी नेपालीको अभिनय रहेको छ । कलाकारहरूले कर्णालीको जनजीवन, पारिवारिक सम्बन्ध, संघर्ष र परिवर्तनको आकांक्षालाई प्रभावशाली ढंगले प्रस्तुत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले कर्णालीको यथार्थलाई गीत र दृश्य मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय सम्म पुर्याउने प्रयास प्रशंसनीय रहेको बताए ।
उनले कर्णालीलाई केवल अभाव र पिछडिएको क्षेत्रका रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्न यस्ता सिर्जनात्मक अभियानले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।
उनले भने, कर्णालीको कथा, संस्कृति, सभ्यता र यहाँका नागरिकको जीवन संघर्षलाई कलाको माध्यम बाट प्रस्तुत गर्नु निकै सकारात्मक पक्ष हो । यस्ता सिर्जनाले कर्णालीलाई चिनाउने मात्र होइन, यहाँका सम्भावना र मौलिकतालाई पनि उजागर गर्ने बताए ।
कथाकार राजेश विश्वकर्माले ‘कर्णाली तिर’ कुनै काल्पनिक कथा नभई आफूले नजिक बाट देखेका, भोगेका र महसुस गरेका वास्तविक घटनाहरूको भावनात्मक अभिव्यक्ति भएको बताए ।
उनका अनुसार कर्णालीका युवाको बाध्यता, वैदेशिक रोजगारीको पीडा, गाउँ छाड्नु पर्ने अवस्था, परिवारको संघर्ष र परिवर्तनको चाहनालाई कथामा समेटिएको बताए ।
कर्णालीका धेरै कथा अझै पनि ओझेलमा छन् । यहाँका नागरिकका सुख-दुःख, आँसु र सपनाहरूलाई संगीत मार्फत अभिव्यक्त गर्ने प्रयास गरेकाे विश्वकर्माले बताए ।
निर्देशक आयूष शाहीले भिडियो निर्माणका क्रममा कर्णालीको मौलिकता, प्राकृतिक सौन्दर्य र सामाजिक यथार्थलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले दर्शकले भिडियो हेर्दा कर्णालीको वास्तविक जीवन सँग नजिकको अनुभूति गर्ने विश्वास व्यक्त गरे ।
गीतका रचनाकार तथा गायक अर्जुन सुनारका अनुसार ‘कर्णाली तिर’ कुनै काल्पनिक कथा नभई कर्णालीका हजारौ परिवारले भोगिरहेको यथार्थको प्रतिबिम्ब रहेकाे बताए । उनले कर्णालीका नागरिकले शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको खोजीमा भोग्नुपरेका कठिनाइलाई गीत मार्फत उजागर गर्ने प्रयास गरिएको बताए ।
विमोचन कार्यक्रममा सहभागीहरूले ‘कर्णाली तिर’ ले कर्णालीको आवाजलाई सशक्त रूपमा उठाएको प्रतिक्रिया दिएका थिए । उनीहरूले स्थानीय कथा, भाषा, संस्कृति र जनजीवनमा आधारित सिर्जनाले नेपाली सांगीतिक क्षेत्रलाई थप समृद्ध बनाउने बताएका छन् ।
कर्णालीको माटो, संस्कृति, संघर्ष र सम्भावनालाई गीत र दृश्य मार्फत उजागर गर्ने उद्देश्य सहित निर्माण गरिएको ‘कर्णाली तिर’ ले कर्णालीको कथा देशभर पुर्याउने अपेक्षा गरिएको छ।




