नेकपा (एमाले) भित्र पछिल्लो समय असमझदारी, आरोप प्रत्यारोप, चुनावी परिणामको समीक्षा, नेतृत्वको भूमिका र संगठनात्मक कमजोरीबारे व्यापक बहस भइरहेको छ । तर विडम्बना, यस्ता विषयहरू कार्यकर्ता तहमा भन्दा बढी नेतृत्व तहमा उठिरहेका छन् । वास्तवमा यही विषयलाई गम्भीर आत्मसमीक्षा र संगठनात्मक सुधारको आधार बनाउनुपर्ने बेला पार्टीले ‘मिसन जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानको उद्देश्य पार्टीलाई पुनः एकताबद्ध, सुदृढ र जनमुखी बनाउनु हो भने यसले विगतका कमजोरी र विचलनको निडर समीक्षा पनि गर्न सक्नुपर्छ ।
कम्युनिस्ट पार्टी सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको सिद्धान्तमा चल्ने संगठन हो । तर पछिल्ला वर्षहरूमा यही सिद्धान्त क्रमशः कमजोर हुँदै गएको अनुभूति पार्टी पंक्तिमा बढ्दो छ । निर्णय सामूहिक हुने तर उत्तरदायित्व कसैले नलिने, सफलताको श्रेय खोज्ने तर असफलताको जिम्मेवारीबाट पन्छिने प्रवृत्ति विकसित हुँदै जाँदा संगठनको जीवन्तता नै प्रभावित भएको छ ।
फागुन २१ गते सम्पन्न उपनिर्वाचनको परिणामले पनि पार्टीभित्र गम्भीर समीक्षा आवश्यक रहेको सन्देश दिएको छ । स्वाभाविक रूपमा सफलता वा असफलताको बढी जिम्मेवारी नेतृत्वले लिनुपर्छ । तर कम्युनिस्ट पार्टीमा नेतृत्व भनेको कुनै एक व्यक्ति मात्र होइन, सम्पूर्ण कमिटी प्रणाली हो । त्यसैले चुनावी हार वा संगठनात्मक कमजोरीको सम्पूर्ण दोष अध्यक्षको टाउकोमा थोपरेर आफू चोखिने प्रयास न त राजनीतिक रूपमा उचित हुन्छ, न त संगठनात्मक रूपमा इमानदार ।
वास्तविक प्रश्न यो हो कि पार्टी नेतृत्वलाई वास्तविक अवस्थाबाट कसले टाढा राख्यो? जनताको भावना, कार्यकर्ताको मनोविज्ञान र संगठनको वास्तविक चित्र नेतृत्वसम्म पुग्न किन सकेन ? पार्टीभित्र क्रमशः जनमुखी संस्कृति भन्दा नेतामुखी संस्कृतिले स्थान लिँदै गयो । संगठनमा योगदान, क्षमता र जनविश्वासभन्दा चाकडी, घेराबन्दी, नातावाद र व्यक्तिगत निष्ठाले प्राथमिकता पाउन थाले । कमरेडली सम्बन्ध कमजोर बन्दै गए भने आलोचना गर्नेहरू शंकाको दृष्टिले हेरिन थाले । परिणामस्वरूप पार्टी र जनताबीचको दूरी बढ्दै गयो, तर धेरैलाई यसको अनुभूति नै भएन ।
पार्टीले विगतमा मिसन ग्रासरुट लगायत विभिन्न अभियान सञ्चालन गर्यो । ती अभियानका उपलब्धि र कमजोरीहरूको वस्तुगत समीक्षा आजको आवश्यकता हो । अभियानमा खटिएर इमानदारीपूर्वक यथार्थ प्रतिवेदन बुझाउनेहरू भन्दा बनावटी उपलब्धि प्रस्तुत गर्नेहरू पुरस्कृत भएको गुनासो पार्टी भित्र नयाँ होइन । कतिपयले जिम्मेवारी क्षेत्रमै नपुगी कागजी प्रतिवेदनका आधारमा उत्कृष्टताको प्रमाणपत्र पाए भने वास्तविक समस्या उजागर गर्नेहरू नै निशानामा परे । यसले संगठनमा गलत सन्देश प्रवाह गर्यो काम भन्दा रिपोर्ट महत्त्वपूर्ण हुने संस्कृतिको विकास भयो ।
पार्टी सदस्यता विस्तारको उद्देश्य वैचारिक आधार र जन समर्थन विस्तार हुनु पर्नेमा कतिपय स्थानमा गुट विस्तार र शक्ति सन्तुलनको माध्यम बन्यो । संगठन विस्तारको गुणात्मक पक्ष कमजोर हुँदा संख्यात्मक वृद्धिले मात्रै अपेक्षित परिणाम दिन सकेन । यसले पार्टी भित्र अनुशासन, प्रतिबद्धता र वैचारिक स्पष्टतामा समेत असर पुर्यायो ।
यही कारणले आजको आवश्यकता केवल जागरण अभियान होइन, संगठन शुद्धीकरण र नेतृत्व पुनर्निर्माण पनि हो । पार्टीलाई बलियो बनाउन व्यक्ति परिवर्तनभन्दा बढी कार्यशैली परिवर्तन आवश्यक छ । आत्मालोचना अरूलाई होइन, आफैंबाट सुरु हुनुपर्छ । पार्टीका प्रत्येक तहका नेता, जनप्रतिनिधि र जिम्मेवार कार्यकर्ताले आफूले पाएको जिम्मेवारी प्रति कति इमानदार रहेँ, जनतासँगको सम्बन्ध कस्तो रह्यो, संगठन निर्माणमा के योगदान दिएँ भन्ने प्रश्नको उत्तर पहिले आफैंलाई दिन सक्नुपर्छ ।
मिसन जागरण अभियानलाई प्रभावकारी बनाउन संगठनको वस्तुगत समीक्षा, नेतृत्व विकास, पुस्तान्तरण, वैचारिक प्रशिक्षण, जनता सँग प्रत्यक्ष संवाद, आन्तरिक लोकतन्त्रको सुदृढीकरण, प्रविधिमैत्री संगठन निर्माण तथा समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्नुपर्छ । अझ महत्त्वपूर्ण कुरा, अभियानलाई परिणाममुखी बनाइनुपर्छ । केवल कार्यक्रम सम्पन्न भएको प्रतिवेदन होइन, संगठनमा आएको वास्तविक परिवर्तन नै सफलताको मापदण्ड हुनुपर्छ ।
एमाले नेपालको सबैभन्दा ठूलो राजनीतिक शक्ति मध्ये एक हो । त्यसैले यसको सबलता वा कमजोरी केवल पार्टीको आन्तरिक विषय मात्र होइन, राष्ट्रिय राजनीतिसँग पनि जोडिएको प्रश्न हो । जनताको विश्वास पुनः प्राप्त गर्ने हो भने पार्टीले विगतका कमजोरी स्वीकार गर्न, सुधारका लागि साहसिक निर्णय गर्न र संगठनलाई पुनः जनता माझ स्थापित गर्न सक्नुपर्छ ।
मिसन जागरण अभियानको वास्तविक सफलता सभा, भेला र प्रतिवेदनको संख्याले होइन, पार्टीभित्र सत्य बोल्ने वातावरण निर्माण भयो कि भएन, कार्यकर्ताको मनोबल बढ्यो कि बढेन, जनता सँगको दूरी घट्यो कि घटेन, र नेतृत्वप्रति विश्वास पुनर्स्थापित भयो कि भएन भन्ने कुराले निर्धारण गर्नेछ ।
आज एमाले लाई आवश्यक परेको कुरा केवल जागरण होइन, आत्मजागरण हो । जब पार्टीले आफ्ना कमजोरीहरूलाई ढाकछोप होइन, साहसपूर्वक स्वीकार गर्नेछ । जब नेतृत्वले केवल निर्देशन होइन, आत्मसमीक्षा पनि गर्नेछ र जब संगठनले केवल संख्या होइन, गुणस्तरलाई प्राथमिकता दिनेछ, तब मात्र एमाले पुनः बलियो, प्रभावकारी र जनविश्वास युक्त राजनीतिक शक्तिका रूपमा स्थापित हुन सक्नेछ।






