मुगु । विश्व वातावरण दिवस २०२६ को अवसरमा WHH नेपालको प्राविधिक सहयोग तथा कर्णाली सामुदायिक विकास केन्द्र (KCDC), मुगुको सहजीकरणमा सञ्चालित “नेतृत्वका लागि सिकाइ (Learn to Lead: Nurturing Young Minds in Mugu)” परियोजना अन्तर्गत छायानाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाका ६ वटा विद्यालयहरूमा सदनस्तरीय हाजिरीजवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको छ।

बालबालिकाको नेतृत्व क्षमता, आत्मविश्वास तथा सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम बाल क्लबका अध्यक्षहरूको अध्यक्षतामा सञ्चालन गरिएको थियो। कार्यक्रमको सञ्चालन, उद्घोषणा तथा व्यवस्थापनमा बाल क्लब सदस्यहरूले अग्रणी भूमिका निर्वाह गरेका थिए। यसले बालबालिकालाई नेतृत्व विकास, कार्यक्रम व्यवस्थापन तथा सार्वजनिक प्रस्तुतीकरणका व्यवहारिक अवसरहरू प्रदान गरेको छ।
प्रतियोगितामा सहभागी विभिन्न सदनहरूबीच उत्साहपूर्ण प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने सदनहरूलाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ।
यस कार्यक्रमको विशेष पक्ष भनेको सामान्यतया यस्ता प्रतियोगिताहरूमा अवसर पाउने उत्कृष्ट विद्यार्थीहरूमा मात्र सीमित नरही, यसपटक कम अवसर प्राप्त गरेका तथा थप प्रोत्साहन आवश्यक रहेका विद्यार्थीहरूलाई समेत प्राथमिकताका साथ सहभागी गराइनु हो। यस पहलमार्फत उनीहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व सीप सुदृढीकरणमा महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यालयमा समावेशी सहभागिता, सिकाइप्रति रुचि तथा बाल नेतृत्व विकासको वातावरण सिर्जना गर्न सहयोग पुर्याएको छ। साथै, सबै बालबालिकालाई समान अवसर उपलब्ध गराउँदै दिगो र जिम्मेवार नेतृत्व विकासको आधार तयार गर्न कार्यक्रम प्रभावकारी बनेको छ।





