जुम्ला । बाल संरक्षण सम्बन्धी विषयमा बाल क्लब/सञ्जालका पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उदेश्यले सञ्चालन गरिएको दुई दिने तालिम आज सम्पन्न भएको छ । किडाक नेपाल, जुम्लाको आयोजनामा तथा वल्ड भिजन इन्टरनेशनल नेपाल जुम्ला शाखाको आर्थिक सहयोगमा सञ्चालन भएको थियो ।

तालिममा बाल अधिकार, बाल संरक्षण, बाल सहभागिता, बालमैत्री वातावरण निर्माण तथा बाल हिंसा न्यूनीकरणका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षक श्री भण्डारीले बालबालिकाको सुरक्षा र अधिकार सुनिश्चित गर्न बाल क्लब तथा सञ्जालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि शिवलाल बुढाले बाल संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै बालबालिका माथि हुने कुनै पनि प्रकारका हिंसा, दुर्व्यवहार तथा विभेद विरुद्ध सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि समुदाय, अभिभावक तथा सरोकारवाला निकाय बीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष श्रीकृष्ण सुनारका अनुसार तालिमले सहभागीहरूमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा बाल अधिकार सम्बन्धी ज्ञान बढाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले सिकेका कुरालाई व्यवहारमा लागू गरी बालमैत्री समाज निर्माणमा योगदान दिन सबै सहभागीलाई आग्रह गर्नुभयो ।
सहभागी पूजा परियारका अनुसार तालिमबाट बाल अधिकार, संरक्षण तथा नेतृत्व विकास सम्बन्धी धेरै महत्वपूर्ण ज्ञान प्राप्त भएको बताउँदै आगामी दिनमा सिकेका कुरालाई विद्यालय तथा समुदायमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्ता तालिमले बालबालिकाको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा बाल क्लब तथा सञ्जालका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले तालिम उपलब्धिमूलक र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए ।





