जुम्ला । किर्डाक नेपालको २७औँ स्थापना दिवसको पूर्वसन्ध्यामा जुम्लामा आयोजित “जलवायु परिवर्तन र युवा” विषयक राउण्ड टेबल छलफलमा फोहोर व्यवस्थापन, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीबारे गम्भीर बहस भएको छ । कार्यक्रममा सहभागी सरोकारवालाहरूले चन्दननाथ नगरपालिकामा फोहोर व्यवस्थापनलाई दीर्घकालीन योजनासहित अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
छलफलमा प्रस्तुत तथ्याङ्क अनुसार चन्दननाथ नगरपालिका बाट दैनिक करिब ४० क्विन्टल फोहोर उत्पादन हुने गरेको छ। त्यसमध्ये ८९ प्रतिशत घरधुरीबाट, ९ प्रतिशत स्वास्थ्य संस्थाबाट, ७ प्रतिशत मठमन्दिरबाट र ५ प्रतिशत व्यापारिक क्षेत्रबाट फोहोर निस्कने गरेको जानकारी दिइएको छ ।
कार्यक्रममा बोल्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) का वरिष्ठ प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाही ले अस्पताल बाट दैनिक औसत ३० केजी स्वास्थ्यजन्य फोहोर उत्पादन हुने गरेको जानकारी दिनुभयो ।

प्रतिष्ठानले करिब ८ लाख ९८ हजार रुपैयाँमा फोहोर प्रशोधन मेसिन खरिद गरी सञ्चालनमा ल्याएको बताउँदै उहाँले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि करिब ७ करोड रुपैयाँ बराबरका दुईवटा वेस्ट प्रशोधन मेसिन रहेको उल्लेख गर्नुभयो ।
“हामीले प्रशोधन गर्ने फोहोरले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्दैन। प्लास्टिकजन्य फोहोर नेपालगञ्ज पठाउने गरेका छौँ र त्यसबाट केही आम्दानीसमेत भइरहेको छ,” उहाँले भन्नुभयो। यद्यपि दीर्घकालीन फोहोर व्यवस्थापन योजना भने अझै निर्माण हुन नसकेको स्वीकार गर्दै स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘फोहोर व्यवस्थापन अब सरकारकै प्राथमिकता हुनुपर्छ’
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पुरीचन्द्र देवकोटा ले फोहोर व्यवस्थापनलाई अब स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँका अनुसार विगतमा उद्योग वाणिज्य संघले सीमित स्रोतसाधनका बीच सरसफाइका केही अभियान सञ्चालन गरे पनि दिगो समाधानका लागि सरकारी नेतृत्व आवश्यक छ ।
“बाहिरका मानिसहरू यहाँको वातावरण र सरसफाइको चिन्ता गरिरहेका छन्, तर हामी आफैँ कतै चुकेका छौँ,” उहाँले भन्नुभयो । जथाभावी प्लास्टिक फाल्ने प्रवृत्ति नियन्त्रण गर्न जनचेतना आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक शौचालय समेत आर्थिक अभावका कारण प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको बताउनुभयो ।
चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले विगतका केही कमजोरी स्वीकार गर्दै फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।
उहाँका अनुसार काठमाडौं सँग भगिनी सम्बन्ध अन्तर्गत प्राप्त सहयोगमा दुई वर्षसम्म दुनादुनै क्षेत्रमा फोहोर व्यवस्थापन गरिएको थियो । तर स्वास्थ्य संस्थाबाट निस्किएका सालनाल, रगत तथा शरीरका अवशेषसमेत अनियन्त्रित रूपमा ल्याइएका कारण स्थानीयवासीको विरोधपछि उक्त स्थानमा फोहोर व्यवस्थापन रोकिएको थियो ।
“हाम्रा कर्मचारीबाट पनि केही कमजोरी भएका छन्, ती सुधार गर्दैछौँ । आवश्यक परे अन्य कार्यक्रम स्थगित गरेर पनि फोहोर व्यवस्थापनमा केन्द्रित हुन्छौँ,” उपप्रमुख खड्काले भन्नुभयो।
उहाँले एक देखि दुई दिनभित्र नयाँ ल्याण्डफिल्ड साइट व्यवस्थापन हुने, आगामी बजेट मार्फत दिशाजन्य लेदो व्यवस्थापन गर्ने ट्यांकर खरिद गरिने, बजार क्षेत्रको निगरानीका लागि असार वा साउनको पहिलो साताभित्र सिसी क्यामेरा जडान गरिने तथा ‘एक घर–एक बिरुवा’ नीति लागू गरिने जानकारी दिनुभयो ।
किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले फोहोर व्यवस्थापनलाई केवल नगरपालिकाको जिम्मेवारीका रूपमा नहेरी राज्य, निजी क्षेत्र र नागरिक समाज को साझा दायित्वका रूपमा लिनुपर्ने बताउनुभयो।
उहाँले घरघरमा पुगेर जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै हप्तामा एकपटक फोहोर उठाउने कार्य मात्र दीर्घकालीन समाधान हुन नसक्ने धारणा राख्नुभयो।
“घरमै फोहोर व्यवस्थापन गर्ने संस्कृतिको विकास गर्नुपर्छ। फोहोरलाई स्रोतका रूपमा प्रयोग गर्दै ‘फोहोरबाट मोहर’ नीति लागू गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारी, किर्डाक नेपालका गीत पाण्डे तथा डिभिजन वन कार्यालय जुम्लाकी विषमिता अर्याल ले जलवायु परिवर्तनले कृषि, वन तथा प्राकृतिक स्रोतमा पारेका प्रभावबारे प्रस्तुति दिनुभएको थियो।
छलफलमा सहभागी युवाहरूले जलवायु परिवर्तन न्यूनीकरण, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा दिगो फोहोर व्यवस्थापनमा युवाको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा “क्लिन जुम्ला र ग्रीन जुम्ला” अवधारणालाई व्यवहारमा उतार्न स्थानीय सरकार, निजी क्षेत्र, स्वास्थ्य संस्था र नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको छ।





