जुम्ला । चन्दननाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ४६ लाख ७१ हजार ४२७ रुपैयाँ ४० पैसाको बजेट सार्वजनिक गरेको छ।

बुधबार सम्पन्न १६ औँ नगरसभामा उपप्रमुख रामदेवी खड्काले बजेट प्रस्तुत गर्दै नगरको विकास, सेवा प्रवाह र सुशासनलाई केन्द्रमा राखिएको बताइन् ।
नगरपालिकाले यस वर्ष फोहोरमैला व्यवस्थापन, कृषि, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको छ। नगर क्षेत्रमा बढ्दो चोरी,डकैती तथा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै विभिन्न स्थानमा सिसिक्यामरा जडान गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, नगरको सरसफाइ तथा फोहोर व्यवस्थापनका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने योजनासहित सरसफाइ अभियानलाई निरन्तरता दिने जनाएको छ।
बजेटको व्ययतर्फ चालु खर्चका लागि १७ करोड ६३ लाख ६४ हजार ८ सय २८ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ९ करोड ७५ लाख ८ हजार ५ सय १९ रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी संघीय सरकार बाट प्राप्त सशर्त अनुदान अन्तर्गत २८ करोड २७ लाख रुपैयाँ र प्रदेश सरकारको सशर्त अनुदानतर्फ ३ करोड २१ लाख ९८ हजार रुपैयाँ बजेट समावेश गरिएको छ ।
नगर प्रमुख राजु सिंह कठायतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण, फोहोरमैला व्यवस्थापन, महिला तथा बालबालिका सशक्तीकरण, स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि विकास, संस्कृति तथा पर्यटन प्रवर्द्धन तथा सूचना, सञ्चार प्रविधिको विस्तारलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
नगरपालिकाले आगामी वर्षका लागि विकास निर्माणसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउने र नगरवासीको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट तथा कार्यक्रम अघि सारेको जनाएको छ।





