जुम्ला । जुम्लामा सवारी चालकहरूको लागुऔषध सेवन परीक्षणका क्रममा पाँच जना चालकमा पोजिटिभ नतिजा देखिए पछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार असार १८ गते दिउँसो करिब ४ बजे चन्दननाथ नगरपालिका ७ महतगाउँ नजिक कर्णाली राजमार्गमा जिल्ला प्रहरी कार्यालय जुम्ला र जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाको संयुक्त आयोजनामा विशेष चेकजाँच सञ्चालन गरिएको थियो ।
प्रहरी निरीक्षक निर्देश बरालको कमाण्डमा खटिएको १६ सदस्यीय प्रहरी टोलीले सवारी चालकहरूको लागुऔषध सेवन परीक्षण किट मार्फत जाँच गर्दा पाँच जना चालकमा पोजिटिभ नतिजा देखिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका चालकहरूमा चन्दननाथ नगरपालिका–१० का ३० वर्षीय विर्ख विक, २२ वर्षीय सम्पूर्ण नेपाली, २८ वर्षीय दीपक बुढा, २३ वर्षीय एकराज बुढा तथा तातोपानी गाउँपालिका–५ का १९ वर्षीय लालचन्द्र परियार रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखिएको छ। असार १९ गते जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गरी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।





