जुम्ला । चन्दननाथ नगरपालिका वडा नं. ४ द्वारा आयोजित वडास्तरीय विद्यालय रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि चन्दननाथ नमूना माध्यमिक विद्यालयले चुमेको छ । उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेको चन्दननाथ नमूना माविले रनिङ शिल्ड ट्रफी, मेडलका साथै नगद रु. १५ हजार पुरस्कार हात पारेको छ ।
प्रतियोगितामा कडा प्रतिस्पर्धाका बिच कनिका निशा बोर्डिङ स्कुल द्वितीय हुँदै ट्रफी, मेडल र नगद रु. १० हजार प्राप्त गर्न सफल भयो । यस्तै, जिएमडी बोर्डिङ स्कुलले तृतीय स्थान हासिल गरी ट्रफी, मेडल र नगद रु. ५ हजार पुरस्कार पायो ।
तहगत प्रतिस्पर्धाको नतिजा यस प्रकार रहेकाे छ ।
आधारभूत तह (कक्षा १–५) : कनिका निशा मावि प्रथम, चन्दननाथ मावि दोस्रो र अशोक नमूना आधारभूत विद्यालय तेस्रो भएका छन ।

आधारभूत तह (कक्षा ६–८) : चन्दननाथ मावि प्रथम र जिएमडी बोर्डिङ स्कुल दोस्रो भएका छन ।
असोज १ देखि ६ गतेसम्म सञ्चालित प्रतियोगितामा वडा नम्बर ४ भित्रका ६ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
विद्यार्थीहरूमा खेलप्रतिको चासो बढाउने, प्रतिभा पहिचान गर्ने र अनुशासित बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताको समापन समारोहमा नगर प्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का, वडाध्यक्ष नवराज देवकोटा र कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले विजेताहरूलाई बधाई दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
चन्दननाथ नगरपालिका–४ को आयोजना, सिद्धि विनायक बाल क्लबको सह-आयोजना तथा कर्णाली स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको हो ।





