जुम्ला । रसुवाकाे भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोमा परी बेपत्ता भएका ४९ जना नागरिकको खोजी प्रयास असफल भएपछि जुम्लाको पातारासी गाउँपालिकाका पीडित परिवारले हिन्दु परम्परा अनुसार ‘कुशको शव’ बनाएर अन्तिम संस्कार (दाहसंस्कार) सम्पन्न गरेका छन ।
लामो समयको अन्योल र पर्खाइ पछि पनि आफन्त नभेटिए पछि परिवारजनले धार्मिक विधि पूर्वक दाहसंस्कारका कार्यहरू सम्पन्न गरे सँगै समग्र पातारासी शोकमा डुबेको छ । बेपत्ता नागरिकहरूको संस्थागत रूपमा स्मरण र श्रद्धाञ्जली अर्पण गर्न पातारासी गाउँपालिकाले असोज ९ गते शुक्रबार पालिकाभर सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाको आकस्मिक बैठकले गरेको निर्णय अनुसार असोज ९ गते पालिका भित्रका गाउँपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू, विद्यालयहरू तथा अन्य सार्वजनिक निकायहरू पूर्ण रूपमा बन्द रहनेछन् ।
गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै भनेको छ, “आफ्ना ४९ जना नागरिक एकैपटक गुमाउनु पर्दा पातारासीवासी स्तब्ध र मर्माहत भएका छौँ । यो दुः खद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।”
शोक बिदाका कारण असोज ९ गते नियमित सार्वजनिक सेवा प्रवाह प्रभावित हुने भएकाले सेवाग्राहीमा पर्न जाने असुविधा प्रति गाउँपालिकाले क्षमायाचना समेत गरेको छ । वैदेशिक वा आन्तरिक रोजगारका क्रममा रसुवा पुगेका ठूलो संख्याका स्थानीय एकैपटक विपत्तिको शिकार बनेपछि पातारासीका धेरैजसो बस्तीहरू यतिबेला शोकमा छन् ।





