काठमाडौं । प्रतिनिधिसभामा पाँच सय र हजार रुपैयाँका नोट बन्द गर्ने विषयले प्रवेश पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले मुलुकमा थुप्रिएको भनिएको कालो धन नियन्त्रणका लागि ठूला दरका नेपाली नोट खारेज गर्नुपर्ने माग गरेपछि सदनमा नोटबन्दीको बहस सुरु भएको हो ।
संसद्मा बोल्दै न्यौपानेले लामो समय सत्तामा रहेका व्यक्तिहरूले गैरकानुनी रूपमा सम्पत्ति जोडेको आरोप लगाए । त्यसरी जम्मा भएको कालो धनले अर्थतन्त्रमा असर पारेको उनको दाबी थियो । उनले पाँच सय र हजार रुपैयाँका नोट तत्काल चलनचल्तीबाट हटाउन सरकारसँग माग गरे ।

न्यौपानेको प्रस्तावमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले समर्थन जनाए । उनले नोटबन्दी गर्ने निर्णय सरकारले लिए आफ्नो पार्टीले समर्थन गर्ने बताए । तर, समर्थन सँगै दुलालले सरकारको इच्छाशक्ति माथि प्रश्न पनि उठाए ।
‘नोटबन्दी गर्ने कार्यमा हाम्रो पार्टीको समर्थन छ, तर यो कदम चाल्न सरकारलाई कसले रोकेको छ सहज बहुमतको सरकारसँग नोटबन्दी गर्न सक्ने पर्याप्त अधिकार र तागत छ, तैपनि सरकार किन पछाडि हटिरहेको छ दुलालले प्रश्न गरे ।
उनले कालो धन नियन्त्रणका लागि संसद्मा बहस मात्रै गरेर नहुने भन्दै सरकारले निर्णय लिनुपर्ने बताए । बहुमत प्राप्त सरकारले ठोस कदम चाल्न सके अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको भनाइ थियो ।
यससँगै प्रतिनिधिसभामा पाँच सय र हजार रुपैयाँका नोटको प्रयोग रोक्ने विषय तत्काल राजनीतिक बहसको विषय बनेको छ । यद्यपि, नोटबन्दी सम्बन्धी कुनै सरकारी निर्णय भएको भने छैन ।
न्यौपाने मोरङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित रास्वपाका सांसद हुन् । संसद्को अभिलेख अनुसार उनी राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यसमेत हुन् ।





