काठमाण्डाै । नेपाली कांग्रेसको शेरबहादुर देउवा खेमाले महाधिवेशन आयोजना गर्न लागेको जानकारी गराउँदै पठाएको निवेदन निर्वाचन आयोगले अभिलेखमा राखेको छ । सो पक्षले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनको कार्यतालिका सहितको पत्र असोज १३ गते मंगलबार आयोगमा बुझाएको थियो । देउवाले सभापतिकै हैसियतमा हस्ताक्षर गरी दर्ताका लागि लगिएको उक्त निवेदनलाई आयोगले दर्ता गर्दै अभिलेखमा राख्न तोकादेश गरेको हो ।

आयोगले अभिलेखमा राख्ने निर्णय गरेको पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको ५ वर्षको कार्यकाल आगामी मङ्सिर मसान्तमा सकिने भएकाले विधानअनुसार सबै तहमा अधिवेशन गर्न लागेको जनाइएको छ । जसमा उल्लेख कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २०८३ साल मंसिर २१,२२ र २३ गतेसम्म काठमाडौंमा आयोजना गरिने छ ।
त्यसअघि असोज १५ अर्थात् आज वडा अधिवेशन, पालिकाहरूको २० गते, प्रदेश तथा क्षेत्रीय अधिवेशन अधिवेशन २३, जिल्ला अधिवेशन कात्तिक २३ र प्रदेशको मङ्सिर ४ गते गर्ने कार्यतालिका छ । देउवाको पत्रमा १५ औं महाधिवेशनबाट निर्वाचित भएर आउने प्रदेश र केन्द्रीय कार्य समिति तथा पदाधिकारीको नामावली संविधान र प्रचलित कानुन बमोजिम अधिवेशन सम्पन्न भए पश्चात अद्यावधिक गर्न अहिले नै अनुरोध गरिएको छ ।
गगन थापा समूहको विशेष महाधिवेशनलाई मान्यता दिँदै आधिकारिकतासमेत प्रदान गरेको आयोगले दलका गतिविधिसँग सम्बन्धित पत्रहरू आएको खण्डमा दर्ता गर्नैपर्ने कानुनी व्यवस्था रहेकाले देउवा समूहको निवेदन अभिलेखमा राखेको बताइएको छ ।






