काठमाडौं । वर्षौंदेखि सुस्ताएको ऐतिहासिक सिंहदरबार वैद्यखाना विकास समितिको औषधी उत्पादन क्षमता बढाउन र जडीबुटीको दिगो उपयोग गर्न सरकारले ठूलो कदम चालेको छ । वैद्यखानाको पुनरुत्थानका लागि आवश्यक ठोस कार्ययोजना मास्टरप्लान तयार पार्न समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीको संयोजकत्वमा विज्ञहरूसहितको विशेष कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित ‘जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपयोग’ सम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा यो निर्णय लिइएको हो ।
छलफलका क्रममा डा अग्रवालले अब ढिलासुस्ती सह्य नहुने भन्दै ३ महिनाभित्रै कार्यान्वयनयोग्य खाका तयार पारेर काम अघि बढाउन निर्देशन दिएका छन् ।
देशभित्र उपलब्ध जडीबुटीको अधिकतम प्रयोग गरी वैद्यखानाबाट बन्ने औषधिको दायरा बढाउनुपर्छ । अबको लक्ष्य स्वदेशी बजार मात्र होइन, नेपाली आयुर्वेद औषधि विदेशमा निर्यात गर्नेसम्मको हुनुपर्छ, डा अग्रवालले भने ।
बैठकमा विभिन्न मन्त्रालयका सचिव तथा अधिकारीहरूले जडीबुटी सङ्कलन र प्रशोधनमा रहेका कानुनी झन्झट फुकाउनुपर्नेमा जोड दिएका छन् ।
सार्वजनिक खरिद ऐन र कानुनमा सुधार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, भूमि व्यवस्था सचिव मदन भुजेल र वनस्पति विभागका महानिर्देशक डा सञ्जिवकुमार राईले कच्चा पदार्थ सङ्कलनमा रहेका कानुनी बाधा हटाउन र जडीबुटी खेतीदेखि उपभोगसम्म स्पष्ट ऐन नियम बनाउन ढिलाइ गर्न नहुने बताए ।
सामुदायिक वनको झन्झट सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले हालको कानुनले सालको पात टिपेर दुनाटपरी बनाउन समेत रोक लगाउने जस्तो व्यवहारिक कठिनाइ सिर्जना गरेको भन्दै कानुन तत्काल सच्याउन माग गरे ।
किसानसँग सहकार्य र ट्रक फार्मिङु कृषि तथा वन मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले जडीबुटीको उत्पादन ह्वात्तै बढाउन किसानहरूसँग प्रत्यक्ष सहकार्य गर्दै ट्रक फार्मिङु मोडलमा जानुपर्ने र जडीबुटी कम्पनीहरूसँग सहकार्य बढाउनुपर्ने धारणा राखे ।
समर्थन मूल्य निर्धारण जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीकी निमित्त महाप्रबन्धक उषा रिजाल जोशीले कच्चा पदार्थको मूल्यमा समर्थन मूल्यु तोक्न सके सङ्कलन प्रक्रिया निकै सहज हुने सुझाव दिइन् ।
गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले आयुर्वेद औषधिका लागि आवश्यक कच्चापदार्थको सहज आपूर्तिको लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीले वैद्यखानाका विद्यमान चुनौती र तिनको समाधानका सम्भावित उपायहरूबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए । सरकारको यो पछिल्लो सक्रियतासँगै नेपालको मौलिक आयुर्वेद औषधि उत्पादन क्षेत्रमा नयाँ आशा पलाएको छ ।





