जुम्ला । जुम्लामा सम्पन्न एक अन्तरक्रिया कार्यक्रम मार्फत स्थानीय राजनीतिक दलहरूले निर्वाचनका क्रममा बालबालिकालाई कुनै पनि प्रकारका राजनीतिक गतिविधिमा प्रयोग नगर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘बालबालिकाको सुरक्षा भविष्यको रक्षा ’ तथा ‘सम्मानजनक बालअधिकारको सुनिश्चितता हामि सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ बालअधिकारका लागि साझा अभियानको आयोजनामा राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरू बीच उक्त छलफल भएको हो ।
कार्यक्रममा अभियानका अध्यक्ष टिकाराम आचार्यले विगतका निर्वाचनको तुलनामा बालबालिकाको प्रयोग घटे पनि पूर्ण रूपमा रोक्न बाँकी रहेकाले दलहरू थप जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । यस्तै उपाध्यक्ष तुलाराम पाण्डेले बालअधिकार संरक्षणमा राजनीतिक दल र नागरिक समाजको भूमिका बारे प्रस्तुति दिनुभएको थियो ।
राजनीतिक दलका तर्फबाट नेपाली कम्युनिष्ट पार्टी जुम्लाका इन्चार्ज गोमा गौतम कुँवरले अभिभावक वा परिवारका सदस्यको संलग्नताका कारण कहिलेकाहीँ बालबालिका जानेर नजानेर सहभागी हुने गरेको स्पष्ट पार्नुभयो । उहाँले आगामी दिनमा कुनै पनि राजनीतिक गतिविधि, सभा वा प्रचारप्रसारमा बालबालिका प्रयोग नगर्ने दलहरूको तर्फबाट प्रतिबद्धता जनाउनुभयो ।
उक्त कार्यक्रममा रास्वपाा जिल्ला सभापति मक्कर भण्डारी नेकपा एमाले उपसचिब मेनका रेग्मि नेपालि काङग्रेस प्रबक्ता मेघराज गिरी नेमिकपा अध्यक्षा पुर्णलाल खत्रि लगाएतले धारणा प्रस्तुत गरेका थिए ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ र राजनीतिक दलहरूलाई दिइएको ६४ बुँदे निर्देशनको बुँदा नम्बर ४४ ले निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्षमुनि का बालबालिका प्रयोग गर्न स्पष्ट रूपमा निषेध गरेको छ । आचारसंहिता उल्लङ्घन गरिएमा प्रकृति र गम्भीरता अनुसार जरिवाना तथा उम्मेदवारी रद्दलगायतका कारबाही हुनसक्ने प्रावधान छ ।
कार्यक्रमको समापनमा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचनलाई बालमैत्री बनाउन र बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न प्रतिबद्धता पत्र हस्तान्तरण गरिएको थियो ।





