कुनै समाजलाई बुझ्न त्यसका इतिहास, संस्कृति र राजनीतिक परिवर्तन मात्र पर्याप्त हुँदैनन त्यस समाजका सीमान्तकृत समुदायले भोगेका अनुभवहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन । उनीहरूका पीडा, प्रतिरोध र सपनाहरू समेटिएका कृतिहरू नै समाजको वास्तविक अनुहार देखाउने ऐना बन्छन । सामाजिक न्यायका अभियन्ता प्रदीप परियारद्वारा लिखित ‘सियोधागो’ यस्तै एउटा सशक्त कृति हो । जसले नेपाली समाजमा शताब्दीयौँ देखि संस्थागत रूपमा विद्यमान जातीय विभेदको कठोर यथार्थलाई उजागर गर्दै समानता, गरिमा र न्यायको नयाँ सम्भावनातर्फ पाठकलाई डोर्याउँछ ।

नेपाली समाजमा सियो र धागो सिलाइ–कटाइका सामान्य औजार मात्र होइनन । ती एउटा समुदायको श्रम, सीप, जीविका र पहिचानका प्रतीक हुन । विडम्बना के छ भने जसले समाजलाई न्यानो कपडा सिएर सभ्य र सुन्दर बनायो त्यही समुदायलाई परम्परागत सामाजिक संरचनाले अछूतको रूपमा चिनायो । यही ऐतिहासिक विडम्बनालाई लेखकले पुस्तकको शीर्षकमै गहिरो प्रतीकका रूपमा प्रयोग गरेका छन । जसरी सियो र धागोले च्यातिएको कपडा जोड्छन त्यसरी नै यो पुस्तकले विभेदले च्यातिएको समाजलाई न्याय, सहअस्तित्व र मानवीय संवेदनाको धागोले सिउन खोज्छ ।
सियोधागो आत्मकथा भए पनि यो केवल एउटा व्यक्तिको जीवनकथा होइन । यो समग्र दलित समुदायले भोगेको अपमान, बहिष्कार, संघर्ष र आत्मसम्मानको सामूहिक इतिहास हो । लेखकले आफ्ना अनुभवलाई समाजका व्यापक यथार्थ सँग जोडेकाले पुस्तकले व्यक्तिगत कथा भन्दा धेरै माथिको सामाजिक अर्थ ग्रहण गरेको छ ।
पुस्तक पढ्दै जाँदा म केवल पाठक मात्र रहिन । कथाले मलाई मैले पहिल्यै देखेका र अध्ययन गरेका बस्तीहरूमा पुनः पुर्यायो । खुर्कोट, रामेछाप, काठमाडौं, अछाम, डोटीको शैलेश्वरी र रुकुम पश्चिम जस्ता स्थानहरूमा मैले विगतमा IDA र काठमाडौं विश्वविद्यालय (KU) को सहयोगमा सामाजिक, राजनीतिक, आर्थिक तथा संघीयता पछिको समग्र अवस्थाको अध्ययन गर्ने अवसर पाएको थिएँ । त्यसैले पुस्तकमा वर्णित घटनाहरूले ती भूगोल, ती अनुहार र ती पीडाहरू फेरि एकपटक मेरो स्मृतिमा जीवन्त बनाए । यही कारण यो पुस्तकसँग मेरो सम्बन्ध केवल बौद्धिक नभई भावनात्मक पनि बन्यो ।
पुस्तक चार खण्डमा विभाजित छ । लेखकले बाल्यकाल देखि अन्तर्राष्ट्रिय अनुभव सम्मको यात्रालाई क्रमबद्ध र स्वाभाविक ढंगले प्रस्तुत गरेका छन । भाषाशैली सरल भए पनि अभिव्यक्तिको गहिराइले पाठकलाई निरन्तर बाँधिराख्छ ।
शिक्षा, विकास र सहरीकरणले जातीय सोचलाई कमजोर बनाउँछ भन्ने आमविश्वास छ । तर लेखकका काठमाडौंका अनुभवहरूले यो विश्वासलाई गम्भीर रूपमा चुनौती दिन्छन । आर्थिक रूपमा सक्षम हुँदाहुँदै पनि जातका कारण कोठा नपाउनु, सम्झौता भइसके पछि निकालिनु, घर किन्न दिइएको बैना फिर्ता गरिनु वा जात थाहा पाएपछि सम्बन्ध नै अस्वीकार गरिनु यी घटनाले आधुनिकताको आवरणभित्र लुकेको गहिरो विभेदलाई उजागर गर्छन ।
ट्युसन पढ्न जाँदा वर्षाको पानीबाट जोगिन घरको आँगन सम्म पस्न नपाउनु, ढोकाबाहिर उभिएर पढ्न बाध्य हुनु, आर्थिक क्षमता हुँदाहुँदै पनि सम्पत्ति खरिदमा विभेद भोग्नु यी घटनाहरू केवल व्यक्तिगत अपमान होइनन । यी मानवीय गरिमा, आत्मसम्मान र समान नागरिकताको अधिकारमाथि गरिएका निर्मम प्रहार हुन । यसले जातीय विभेद गाउँमा मात्र सीमित नभई शिक्षित र आधुनिक भनिने सहरका घरभित्र पनि उत्तिकै गहिरो गरी जीवित रहेको देखाउँछ ।
पुस्तकका दुई पात्र विशेष रूपमा स्मरणीय छन लेखकका बुबा र आमा ।
सरकारी सेवामा रहँदा लेखकका बुबाले अनेक विभेद सहनुपरे पनि आफ्ना सन्तानलाई दिएको एउटा वाक्यले पुस्तकको मूल दर्शनलाई उजागर गर्छ ।
“कलमा होइन, किताबमा बल गर ।”
यो केवल बाबुको उपदेश होइन उत्पीडन विरुद्ध ज्ञान, शिक्षा र चेतनालाई सबैभन्दा प्रभावकारी प्रतिरोधको माध्यम बनाउने दर्शन हो ।
त्यसैगरी लेखककी आमा पुस्तकको सबैभन्दा प्रेरणादायी पात्र हुन । चौध वर्षको उमेरमा विवाह, औपचारिक शिक्षाबाट वञ्चित जीवन, आर्थिक अभाव र सामाजिक अपमानका बीच पनि आफ्ना सन्तानलाई शिक्षित बनाउन गरेको संघर्ष साँच्चिकै असाधारण छ । श्रीमानको निधन पछि प्रौढ शिक्षाबाट अक्षर चिन्नु र त्यसपछि नेपाल देखि अमेरिका सम्म आत्मविश्वासका साथ यात्रा गर्न सक्ने व्यक्तित्वमा रूपान्तरण हुनु हजारौँ नेपाली आमाहरूको मौन संघर्षको प्रतिनिधि कथा हो ।
लेखकले आफ्ना व्यक्तिगत अनुभवमा मात्र सीमित नरही नेपालका विभिन्न स्थानमा भएका जातीय हिंसाका घटनाहरूलाई पनि प्रमाण सहित प्रस्तुत गरेका छन । पशुपतिनाथ र शैलेश्वरी मन्दिर प्रवेश आन्दोलन, अछाममा चिया पिउँदा भोग्नुपरेको अपमान, अन्तरजातीय प्रेम वा विवाहकै कारण हत्या गरिएका नवराज विक, सुन्दर हरिजन, रोशन विक, विजय राम र अमित मिजार जस्ता युवाहरूका घटनाले पुस्तकलाई सामाजिक इतिहासको दस्ताबेज बनाएका छन ।
यसै सन्दर्भमा लेखकले अमेरिकामा जर्ज फ्लोयडको हत्या र त्यसपछिको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन सँग नेपाली दलित आन्दोलनको समानान्तर सम्बन्ध स्थापित गरेका छन । यसले विभेदको स्वरूप फरक भए पनि अन्यायको चरित्र विश्वव्यापी हुने र त्यस विरुद्धको संघर्ष पनि साझा हुने सन्देश दिन्छ ।
यस पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष यसको भाषा हो । यति गहिरो पीडा र विभेदका कथा हुँदा हुँदै पनि लेखक कतै प्रतिशोध वा घृणाको भाषामा उत्रँदैनन । उनी तथ्य, अनुभव र नैतिक बलका आधारमा आफ्नो कुरा राख्छन । यही संयमले पुस्तकलाई थप विश्वसनीय र प्रभावशाली बनाएको छ ।
सन् १९६३ मा अमेरिकी नागरिक अधिकार आन्दोलनका नेता मार्टिन लुथर किङ जुनियरले I Have a Dream भन्दै छालाको रङले होइन, चरित्रले मानिसको मूल्य निर्धारण हुने समाजको कल्पना गरेका थिए । प्रदीप परियारले पनि ‘सियोधागो’ मार्फत त्यही सपनालाई नेपाली सन्दर्भमा पुनः व्याख्या गरेका छन । एउटा यस्तो नेपाल, जहाँ जन्म होइन, कर्मले मानिसको परिचय बनाओस जहाँ विभेदका पर्खाल भत्किएर समानताका पुल निर्माण होऊन।
सियोधागो नेपाली साहित्यमा मात्र होइन, सामाजिक न्यायको बहसमा पनि एउटा महत्त्वपूर्ण हस्तक्षेप हो । यसले पाठकलाई केवल दुःखी बनाउँदैन प्रश्न गर्न, आत्मसमीक्षा गर्न र परिवर्तनको पक्षमा उभिन प्रेरित गर्छ ।
अन्तत सियोधागो दलित समुदायको मात्र कथा होइन यो सम्पूर्ण नेपाली समाजले आफ्नै अनुहार हेर्ने ऐना हो । न्यायपूर्ण, समावेशी र मानवीय समाज निर्माणको आकांक्षा राख्ने प्रत्येक नागरिक, विद्यार्थी, शिक्षक, नीति निर्माता र सामाजिक अभियन्ताले कम्तीमा एकपटक अवश्य पढ्नुपर्ने कृति हो । समाज बदल्ने कुनै पनि अभियान संवेदनशील चेतनाबाट सुरु हुन्छ र सियोधागो त्यही चेतनाको सशक्त बीउ हो ।
पुस्तक: सियोधागो
लेखक : प्रदिप परियार





