धर्म, संस्कृति र परम्परा मानव समाजका अमूल्य सम्पदा हुन्। यिनले मानिसलाई नैतिकता, अनुशासन, सहिष्णुता, सद्भाव र सामाजिक उत्तरदायित्वको बाटो देखाउनुपर्छ। धर्मको सार मानिसलाई असल बनाउनु, संस्कृतिको उद्देश्य जीवनलाई सभ्य र सुन्दर बनाउनु तथा परम्पराको महत्त्व पुस्तान्तरण हुँदै आएका असल अभ्यासहरूको संरक्षण र विकास गर्नु हो। तर जब धर्म आचरणबाट अलग हुन्छ, संस्कृति प्रदर्शनको साधन बन्छ र परम्परा विवेकविहीन अनुकरणमा सीमित हुन्छ, तब तिनले समाजलाई सही दिशातर्फ डोर्याउन सक्दैनन्। अझ धर्म र संस्कृतिको नाममा पाखण्ड, विभेद र दोहोरो चरित्र प्रदर्शन हुन थाल्यो भने त्यसले समाजमा भ्रम र विकृति सिर्जना गर्छ।
हाम्रो समाजमा यस्ता केही प्रवृत्तिहरू देखिन्छन्, जसले बाहिर धार्मिकताको आवरण ओढेका हुन्छन् तर व्यवहारमा धर्मका आधारभूत मूल्यसमेत पालना गर्दैनन्। बाहिर देखिँदा असाध्यै धार्मिक देखिने, कसैले पकाएको त के, छोएको खाना खानसमेत अप्ठ्यारो मान्ने, शुद्धता र चोखोनितोको ठूलो कुरा गर्ने तर आफ्नै दैनिक आचरणमा सामान्य स्वच्छता र अनुशासनसमेत कायम नगर्ने मानिसहरू यसका उदाहरण हुन्। अरूलाई षड्कर्मको उपदेश दिँदै हिँड्ने तर आफूले गायत्री जप र सन्ध्योपासनाको कुरा त परै जाओस्, मुख र हातसमेत नधोई भोजन गर्ने प्रवृत्तिले धार्मिकताको वास्तविक अर्थमाथि नै प्रश्न उठाउँछ।
बाहिर पण्डितको छवि बनाउने, बेलाबेला वेदका ऋचा र कर्मकाण्डका मन्त्र फलाक्ने तर श्रीमद्भगवद्गीताको ‘विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि, शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः’ भन्ने समदर्शिताको सन्देशलाई व्यवहारमा उतार्न नसक्नेहरू पनि कम छैनन्। ज्ञानको उद्देश्य अहङ्कार बढाउनु होइन, दृष्टि फराकिलो बनाउनु हो। शास्त्रको वाचन गर्ने तर शास्त्रले सिकाएको समानता, विनय र करुणा नअपनाउने मानिसको धार्मिकता बाहिरी प्रदर्शनमा मात्र सीमित हुन्छ।
अर्कोतर्फ, आफ्ना सन्तानलाई आधुनिक शिक्षा दिलाउने, वैदेशिक रोजगारीमा पठाउने, उनीहरूको व्यवस्था मिलाउन आफूहरू पनि विदेश भ्रमण गर्ने तर अरूलाई विधर्मी बस्तीमा गएको, विदेशी संस्कृतिको सम्पर्कमा आएको भन्दै धर्म नाशेको आरोप लगाउने प्रवृत्ति पनि विरोधाभासपूर्ण छ। आधुनिक शिक्षा, प्रविधि, रोजगारी र अन्तर्राष्ट्रिय सम्पर्कलाई आफ्नो सुविधाअनुसार स्वीकार गर्ने तर अरूको जीवनशैलीलाई धर्मविरोधी ठान्ने सोचमा इमानदारी देखिँदैन। साधुको वेशभूषामा देखिएर धनको लोभमा लिप्त हुने र पूजा, यज्ञ तथा अनुष्ठानलाई धर्म, अध्यात्म, नैतिकता र संस्कृतिको विकास तथा संरक्षणको माध्यमभन्दा पनि पेसा–व्यवसायका रूपमा मात्र अपनाउने प्रवृत्तिले धार्मिक क्षेत्रको गरिमा घटाउँछ।
यस्तै, धर्म, धार्मिक कृत्य र मठमन्दिरलाई विभेद तथा अन्धविश्वासको केन्द्र भन्दै आलोचना गर्ने तर अवसरअनुसार निधारभरि टीका लगाउने र हातभरि दक्षिणा ग्रहण गर्ने प्रवृत्ति पनि आत्मविरोधी छ। कपाल खौरने, किरिया गर्ने, श्राद्ध, तर्पण र पिण्डदान गर्ने, सन्तानको व्रतबन्ध गराउने तथा छोरीको कन्यादान गर्नेजस्ता संस्कार आफैँले निर्वाह गर्ने तर आफूले गर्दै आएका यस्ता क्रियाकलाप र तिनका आधारलाई समग्रमा अन्धविश्वास भन्दै हिँड्नेहरूमा पनि वैचारिक स्पष्टताको अभाव देखिन्छ। कुनै परम्परामा सुधार आवश्यक छ भने त्यसको विवेकसम्मत समीक्षा गर्नुपर्छ, तर आफूले अपनाउने र अरूले अपनाउने अभ्यासका लागि फरक–फरक मापदण्ड बनाउनु उचित हुँदैन।
धर्मलाई अन्धविश्वासको पर्याय ठान्ने र सनातन परम्पराका मूल्यमान्यताको अपव्याख्या गर्ने तर अन्य धर्म र परम्पराबारे भने प्रश्न उठाउन नचाहने वा तिनलाई स्वतः वैज्ञानिक र प्रगतिशील ठान्ने प्रवृत्ति पनि निष्पक्ष चिन्तन होइन। कुनै पनि धर्म, दर्शन वा संस्कृतिको मूल्याङ्कन समानताको मापदण्डबाट हुनुपर्छ। आफ्ना परम्पराका कमजोरी सच्याउन सक्नुपर्छ र अरूका परम्पराका असल पक्षबाट सिक्न पनि तयार हुनुपर्छ। आलोचना र समर्थन दुवैमा तथ्य, तर्क र विवेक आवश्यक हुन्छ।
साहित्य, आख्यान, प्रबन्ध वा कुनै कालखण्डमा रचना गरिएका पात्रहरूलाई नै आफ्ना ऐतिहासिक पूर्वज ठान्ने अथवा आफूलाई तिनका वंशज मानेर सामाजिक विभेद गर्ने र विभेद सहन बाध्य ठान्ने प्रवृत्ति पनि सांस्कृतिक चेतनाको अभाव हो। साहित्यिक पात्र र ऐतिहासिक व्यक्तित्वबीचको भिन्नता बुझ्नुपर्छ। परम्पराको अध्ययन गर्नुपर्छ, तर त्यसका आधारमा मानिसको मानवीय गरिमा र समान अधिकारमाथि प्रश्न उठाउनु हुँदैन।
चाडपर्वका सन्दर्भमा पनि अनेकौँ विसङ्गति देखिन्छन्। जुन पर्व अगाडि आउँछ, त्यसैलाई सबैभन्दा ठूलो, सबैभन्दा महत्त्वपूर्ण, सबैको साझा र मौलिक भन्दै शुभकामना दिने तर अर्को पर्व आउँदा फेरि त्यसैलाई सर्वोपरि ठान्ने प्रवृत्ति छ। कतिपय अवस्थामा एउटै सन्देशमा अनेकौँ पर्वको नाम जोडेर शुभकामना दिइन्छ र फेरि तिनै पर्वमा पटक–पटक शुभकामना दोहोर्याइन्छ। पर्वहरूको शुभकामना दिनु आफैँमा राम्रो कुरा हो, तर तिनको महत्त्व, ऐतिहासिकता र मौलिकता नबुझी केवल औपचारिकता पूरा गर्नु सांस्कृतिक चेतना होइन। आफूले मानेको पर्व अरूले किन मान्दैनन्, त्यसको ऐतिहासिक तथा सामाजिक पृष्ठभूमि के हो र फरक मान्यता हुनुको कारण के हो भनेर खोजीनीति गर्नुको सट्टा विरोधमा उत्रनु पनि उचित होइन। पर्वलाई अरूलाई धम्क्याउने, ध्वाँस दिने वा आफ्नो असहमति प्रदर्शन गर्ने माध्यम बनाउनु सांस्कृतिक मर्यादाविपरीत हो।
मन्दिर, देवीदेवताका मूर्ति तथा प्रतिमाको पूजा र धार्मिक आस्थाको विरोध गर्ने सङ्घसंस्थामा सहभागी हुने, मन्दिर प्रवेशमा रोक लगाउने प्रवृत्तिको विरोध नगर्ने वा त्यस्ता अभियानको पछि लाग्ने व्यवहारमा पनि स्पष्टता आवश्यक छ। धार्मिक आस्थाको अधिकार सबैलाई छ, तर कसैको आस्थालाई अपमानित गर्ने वा धार्मिक स्थलमा प्रवेश गर्नबाट रोक्ने अधिकार कसैलाई छैन। मन्दिरमा विभेद हुन्छ भने विभेदको विरोध गर्नुपर्छ, मन्दिर प्रवेशमा रोक लगाइन्छ भने त्यसको प्रतिवाद गर्नुपर्छ। सुधारको नाममा आस्थामाथि प्रहार गर्नु र आस्थाको नाममा विभेदलाई संरक्षण गर्नु दुवै गलत हुन्।
यी सबै प्रवृत्तिको साझा चरित्र भनेको कथनी र करनीबीचको अन्तर, सिद्धान्त र व्यवहारबीचको विरोधाभास तथा आफूलाई अनुकूल हुँदा एउटा र अरूलाई उपदेश दिँदा अर्को मापदण्ड अपनाउनु हो। यस्ता प्रवृत्तिलाई नै धार्मिक तथा सांस्कृतिक पाखण्ड भन्न सकिन्छ। धार्मिक पहिचान, पहिरन, कर्मकाण्ड वा भाषणले मात्र मानिसको वास्तविक चरित्र निर्धारण गर्दैन। उसको व्यवहार, नैतिकता, मानवीय संवेदना र अरूप्रतिको दृष्टिकोणले नै उसको वास्तविक परिचय दिन्छ।
यसको विपरीत, सबैलाई समान व्यवहार गर्ने, समानता, समता, सकारात्मकता र सम्मानका लागि अभिप्रेरित गर्ने तथा अरूको सम्मान गर्दै आफ्नो संस्कृति र पहिचानप्रति पनि सम्मानभाव राख्ने मानिसहरू नै संस्कृतिका वास्तविक संवाहक हुन्। आफ्नो र अरूको सीमा बुझ्ने, तथ्यका आधारमा सत्यको गहिराइसम्म पुग्न प्रयत्न गर्ने, अरूलाई क्षमा गर्न सक्ने र भिन्न विचार तथा आस्थाप्रति सहिष्णु रहने मानिसहरूले नै संस्कृतिको निरन्तर विकासमा सकारात्मक भूमिका निर्वाह गर्न सक्छन्।
संस्कृति कुनै जड वस्तु होइन। यो निरन्तर विकास, परिमार्जन र पुस्तान्तरण हुँदै जाने जीवनपद्धति हो। त्यसैले संस्कृतिको संरक्षण भन्नाले पुराना सबै अभ्यासलाई जस्ताको तस्तै जोगाउनु मात्र होइन, तिनमा रहेका असल पक्षलाई निरन्तरता दिनु, समयसापेक्ष सुधार गर्नु र मानवहितविपरीत पक्षलाई परित्याग गर्नु पनि हो। धर्मको संरक्षण कर्मकाण्डको विस्तारमा मात्र होइन, त्यसले सिकाउने नैतिकता, करुणा, सद्भाव र समदर्शिताको व्यवहारमा निर्भर हुन्छ।
अन्ततः बिर्सनै नहुने सत्य के हो भने कुनै पनि प्रकारको मानवीय विभेद कुनै पनि असल धर्म, दर्शन वा संस्कृतिको पक्ष हुन सक्दैन। जात, वर्ण, लिङ्ग, वर्ग, समुदाय, भाषा, भूगोल वा आस्थाका आधारमा गरिने विभेदले मानिसलाई मात्र होइन, समाजको सांस्कृतिक चेतनालाई समेत कमजोर बनाउँछ। धर्म र संस्कृतिको वास्तविक उचाइ अरूलाई होच्याएर होइन, सबैलाई सम्मानपूर्वक अँगाल्न सक्ने क्षमताबाट मापन हुन्छ। त्यसैले धार्मिकता आडम्बरमा होइन, आचरणमा; संस्कृति प्रदर्शनमा होइन, व्यवहारमा; र परम्पराको सार विभेदमा होइन, मानवीय एकतामा खोजिनुपर्छ। यही नै संस्कृतिको निरन्तर विकास र सभ्य समाज निर्माणको आधार हाे ।






