काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय, पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागसहित सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता गरेको छ । जेठ ३० गते पर्सा जिल्ला अदालतमा दर्ता गरिएको अभियोगपत्रमा लामिछानेसहित २९ जनामाथि कारबाहीको माग गरिएको छ ।

सहकारी ऐन, २०७४ को दफा १२४ अनुसार १० करोडभन्दा बढी र १ अर्बसम्मको बिगोमा ६ देखि ८ वर्ष कैद सजाय हुन सक्ने प्रावधान छ । साथै, सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ (क) र (ग) बमोजिम लामिछानेमाथि थप ५० प्रतिशत सजाय माग गरिएको छ ।
पर्सा प्रहरीले करिब एक महिनाअघि सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । उक्त प्रतिवेदनको आधारमा सरकारी वकिलले अभियोगपत्र तयार गरेको हो । प्रहरी अनुसन्धानले सानो पाइला सहकारीबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ हजार रुपैयाँ स्थानान्तरण भएको पुष्टि गरेको छ ।





